कम्बोडियन लिगमा प्रीति राईको नयाँ उडान

काठमाडौं । काठमाडौंबाट अन्तर्राष्ट्रिय फुटबलमा निरन्तर उकालो चढिरहेकी नेपाली प्रतिभा प्रीति राई का लागि फेरि एकपटक गर्व गर्नलायक समाचार आएको छ।

नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी होनहार मिडफिल्डर प्रीतिले कम्बोडियाको शीर्ष क्लब प्रेह खान रिच स्वाय रिएङ एफसी सँग आगामी सिजनका लागि औपचारिक सम्झौता गरेकी छन्। अब उनले कम्बोडियाको प्रतिष्ठित कम्बोडियन वुमन्स लिग मा आफ्नो प्रतिभा देखाउँदै नयाँ चुनौती सामना गर्नेछिन्।

यो प्रीतिको तेस्रो विदेशी लिग अनुभव हो, जसले उनको करियरलाई अझ परिपक्व बनाउने विश्वास गरिएको छ। यसअघि उनले जोर्डनको जोर्डन महिला प्रो लिग मा इतिहाद क्लब बाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

त्यहाँ उनले लिग र कप दुवै उपाधि जित्न सफल भइन् र आफ्नो प्रभावशाली खेलले सबैको ध्यान खिचिन्। त्यसअघि भारतको इन्डियन वुमेन्स लिग मा किकस्टार्ट एफसी बाट खेल्दै अन्तर्राष्ट्रिय अनुभव बटुलेकी थिइन्।

सन् २०२१ मा मात्र १६ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यू गर्दै गोलसमेत गर्ने प्रीति आज नेपाली महिला फुटबलकी आशालाग्दी खेलाडीका रूपमा स्थापित भइसकेकी छन्। उत्कृष्ट कौशल, खेलप्रति समर्पण र प्राविधिक क्षमताका कारण उनी टोलीकी महत्वपूर्ण मिडफिल्डर मानिन्छिन्। घरेलु फुटबलमा भने उनी एपिएफ क्लब बाट निरन्तर खेल्दै आएकी छन्।

कम्बोडियामा हुने आगामी सिजनको लिगमा आठ टोलीबीच प्रतिस्पर्धा हुने भएकाले प्रीतिका लागि यो अवसर आफूलाई अझ ठूलो स्तरमा प्रमाणित गर्ने महत्वपूर्ण प्लेटफर्म हुनेछ। उनी हाल कम्बोडिया पुगिसकेकी छन् र नयाँ टोलीसँग अभ्यास सुरु गर्ने तयारीमा छिन्।

प्रीति राईको यो उपलब्धिले नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय पहिचानलाई अझ मजबुत बनाउने मात्र होइन, नयाँ पुस्ताका खेलाडीलाई पनि विदेशमा आफ्नो क्षमता देखाउने प्रेरणा दिने अपेक्षा गरिएको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।