काठमाडौं । आजदेखि नेपाली नयाँ वर्ष २०८३ सुरु भएको छ। बितेको २०८२ साल नेपाली समाज, राजनीति, अर्थतन्त्र र जनजीवनका दृष्टिले सामान्य वर्ष रहेन। यो वर्षले अनेकौँ उतारचढाव, पीडा, उपलब्धि र पुनर्निर्माणका कथाहरू बोकेर विदा भएको छ। २०८२ साल समग्र रूपमा परिवर्तन, चुनौती र आशाको मिश्रण बनेको वर्षका रूपमा सम्झन सकिन्छ।
वर्षभरि राजनीतिक अस्थिरता, सामाजिक आन्दोलन, प्राकृतिक विपत्ति, आर्थिक सङ्कट तथा खेल र मनोरञ्जन क्षेत्रका गतिविधिहरूले देशको ध्यान ताने। राजनीतिक हिसाबले वर्ष निकै अस्थिर रह्यो। सत्ता समीकरण फेरबदल, दलहरूबीचको खिचातानी र नेतृत्व विवादले वातावरण तातेको थियो। यहीबीच ‘जेन–जी आन्दोलन’ को उदय भयो, जसले राजनीतिमा नयाँ बहस र ऊर्जा थप्यो। युवापुस्ताले पारदर्शिता, उत्तरदायित्व र नयाँ नेतृत्वको माग गर्दै सडकमा उत्रिए। आन्दोलनले केही राजनीतिक परिवर्तनको संकेत दिए पनि यसको असर अर्थतन्त्रमा नकारात्मक रूपमा देखियो।
आन्दोलनका क्रममा विभिन्न उद्योग–व्यवसाय र व्यापारिक प्रतिष्ठानहरूमा क्षति पुगे। विशेषगरी भाटभटेनी सुपरमार्केट लगायतका ठूला व्यवसायहरू प्रभावित भए। भदौ २४ को घटनाले यसको धेरै शाखामा ठूलो क्षति पुर्यायो। तर, क्षतिबाट उठ्ने क्षमताको उदाहरण पनि यही वर्ष देखियो। भाटभटेनीले छोटो समयमै आफ्ना धेरै आउटलेट पुनः सञ्चालनमा ल्याउँदै निजी क्षेत्रको दृढता देखायो। आर्थिक रूपमा वर्ष सन्तोषजनक रहेन। यसअघि नै शिथिल अवस्थामा रहेको निजी क्षेत्र आन्दोलन र अस्थिरताले थप कमजोर बन्यो। बजारमा माग घट्नु, लगानी सुस्त हुनु र व्यापार घट्नुजस्ता समस्या वर्षभरि देखिए। यहीबीच नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरमा विश्व पौडेल नियुक्त भए।
उनको नियुक्तिले आर्थिक सुधार र नीतिगत स्थिरताको अपेक्षा बढाएको छ। प्राकृतिक विपत्तिले पनि २०८२ साललाई चुनौतीपूर्ण बनायो। मधेश क्षेत्रमा देखिएको खडेरीले कृषिमा ठूलो असर पार्यो। धानखेतीका लागि उपयुक्त समयमै पानी नपर्दा खेतहरू सुक्खा बने र किसानहरू मारमा परे। उता रसुवा जिल्लामा आएको बाढीले ठूलो क्षति पुर्यायो। चीनसँग जोडिएको व्यापारिक नाका लामो समयसम्म अवरुद्ध हुँदा व्यापारमा ठूलो असर पर्यो। सयौँ सवारीसाधन बग्नु र मालसामान नष्ट हुनुका साथै आर्थिक गतिविधि प्रभावित बने।
सडक दुर्घटनाले पनि वर्षभरि पीडा थपिरह्यो। विशेषगरी धादिङको चरौंदीमा भएको बस दुर्घटना वर्षकै सबैभन्दा दुःखद घटनामध्ये एक रह्यो। उक्त दुर्घटनामा ३ विदेशीसहित १९ जनाले ज्यान गुमाए। यसले सडक सुरक्षा र यातायात व्यवस्थापनमा सुधारको आवश्यकता पुनः उजागर गर्यो। नकारात्मक घटनाहरूबीच खेल क्षेत्रमा भने उत्साहजनक उपलब्धि देखिए। काठमाडौंस्थित त्रिभूवन विश्वविद्यालयमा फ्लडलाइट जडान भएपछि पहिलो पटक रात्रिकालीन क्रिकेट आयोजना गरियो।
यसले क्रिकेटप्रेमीहरूलाई नयाँ अनुभव दिलायो। अन्तर्राष्ट्रिय खेलाडीहरूको आगमनले खेलमा थप आकर्षण ल्यायो। ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्ट कार्लोस्को नेपाल भ्रमणले विशेष चर्चा पायो। उनी नेपाल सुपर लिगको प्रवद्र्धनका लागि नेपाल आएका थिए। यसले नेपाललाई अन्तर्राष्ट्रिय खेल क्षेत्रमा थप चिनाउन सहयोग गर्यो। मनोरञ्जन क्षेत्र पनि वर्षभरि सक्रिय रह्यो। भारतीय कलाकारहरू नोरा पातेही सोनु निगमको काठमाडौं आगमनले सांगीतिक माहोल ततायो र दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्यो।
अन्तर्राष्ट्रिय घटनाले पनि नेपालीलाई छोयो । इजरायल–हमाल का क्रममा नेपाली युवा बिपीन जोशीले ज्यान गुमाए। उनको शव नेपाल ल्याएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो, जसले देशभरि भावनात्मक माहोल सिर्जना गर्यो। समग्रमा २०८२ सालले नेपाली समाजलाई धेरै पाठ सिकाएर गएको छ। राजनीतिक स्थिरताको आवश्यकता, आर्थिक सुदृढीकरणको महत्व, विपत्तिसँग जुध्ने तयारी र पूर्वाधार विकासको अपरिहार्यता यस वर्षले स्पष्ट बनाएको छ।
एकातिर क्षति र पीडा भए पनि अर्कोतिर पुनर्निर्माण, उपलब्धि र आशाका किरणहरू पनि देखिए। नयाँ वर्ष २०८३ सुरु भएसँगै नागरिकहरूले स्थिरता, समृद्धि र सुशासनको अपेक्षा गरेका छन्। विगतका अनुभवलाई आत्मसात गर्दै आगामी दिनमा अझ सुदृढ र समृद्ध राष्ट्र निर्माण गर्ने चुनौती र अवसर दुवै अघि छन्। २०८२ साल यस अर्थमा केवल बितेको समय मात्र नभई सिकाइ, संघर्ष र सम्भावनाको एउटा महत्वपूर्ण अध्याय बनेर इतिहासमा अंकित भएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































