प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनी विजयी, गण्डकीको दबदबा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले महत्वपूर्ण जित हात पार्दै आ–आफ्नो शीर्ष स्थानको सम्भावना जीवित राखेका छन् ।

वीरगञ्जको नारायणी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको शानदार अन्त्य गरेको छ ।

कर्णालीले प्रस्तुत गरेको मात्र ७३ रनको लक्ष्य गण्डकीले १३.१ ओभरमा मात्र १ विकेट गुमाएर सहजै पूरा गर्यो । ओपनर अर्जुन कुमाल ६ रनमा आउट भए पनि सिव्रिन श्रेष्ठ र दीपक डुम्रेले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

सिव्रिन श्रेष्ठले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अविजित ४० रन बनाए । दीपक डुम्रे २२ रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली २५.२ ओभरमा मात्र ७२ रनमा अलआउट भयो । टोलीका लागि प्रकाश जैसीले अविजित १५, दिवान पुनले १४ र अर्जुन घर्तीले १३ रन बनाए भने अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् ।

गण्डकीका लागि कप्तान विपिन खत्रीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा १८ रन खर्चेर ५ विकेट लिए । अपराजित पौडेलले ३ विकेट लिए । यो जितसँगै गण्डकीले ९ खेलमा ९ अंक जोड्दै छैटौँ स्थानमा रहेर प्रतियोगिता सकाएको छ र जय ट्रफी छनोटको सम्भावना कायम राखेको छ । कर्णाली भने ९ खेलमा ३ अंकसहित नवौँ स्थानमा प्रतियोगिता समाप्त गरेको छ ।

त्यसैगरी, अर्को खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ३४ रनले पराजित गर्दै शीर्ष ६ मा पुग्ने सम्भावना कायम राखेको छ । लुम्बिनीले पहिले ब्याटिङ गर्दै ४५.२ ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । आकाश त्रिपाठीले सर्वाधिक ७२ रनको इनिङ खेले भने प्रज्वल थापाले ४६, कप्तान देव खनालले ३७ र सन्तोष यादवले २५ रन जोडे ।

जवाफी ब्याटिङमा बागमती ४४ ओभरमा सबै विकेट गुमाउँदै १९९ रनमै सीमित भयो । विवेक मगरले ४५ रन, कप्तान सन्दीप लामिछानेले ३२ रन तथा अन्य ब्याटरले सामान्य योगदान दिए । लुम्बिनीका लागि निर्मल गुरुङले घातक बलिङ गर्दै १० ओभरमा २७ रन खर्चेर ५ विकेट लिए । बिप्रासन केसी र दिनेश बोहोराले २–२ विकेट लिए ।

यो जितसँगै लुम्बिनीले ८ खेलमा ९ अंक जोड्दै पाँचौँ स्थानमा उक्लिएको छ । बागमती भने ९ खेलमा ८ अंकसहित आठौँ स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ र जय ट्रफी छनोटको दौडबाट बाहिरिएको छ ।
गण्डकी र लुम्बिनी दुवै टोलीले अन्तिम चरणका खेलमा महत्वपूर्ण जित निकाल्दै शीर्ष ६ मा स्थान बनाउने सम्भावना कायमै राखेका छन्।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।