नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स आबद्ध

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ।

यस सम्बन्धी समझदारीपत्र सोमबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालबीच हस्तान्तरण गरिएको हो।

६४ जिल्लामा कार्यक्षेत्र रहेको उक्त लघुवित्त संस्थामा करिब पाँच सय कर्मचारी कार्यरत छन्। कोषको उपदान तथा पेन्सन योजनामा संगठित संस्था तथा तिनका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ। यसअन्तर्गत योगदानमा आधारित वा गैर–योगदानमा आधारित दुवै प्रकारको उपदान कोष व्यवस्थापन गर्न सकिने व्यवस्था छ।

सोही प्रावधानअनुसार मेरो माइक्रोफाइनान्स लघुवित्त उक्त योजनामा औपचारिक रूपमा आबद्ध भएको हो। यसअघि पनि नागरिक लगानी कोषसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरू आबद्ध भइसकेका छन्।

नागरिक लगानी कोषले २०५५ सालदेखि उपदान तथा पेन्सन योजना सञ्चालन गर्दै आएको छ। यस योजनाअन्तर्गत विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारहरूको उपदान तथा पेन्सनबापतको रकम संकलन गरी लगानी गर्ने र सेवा निवृत्त भएपछि सम्बन्धित कर्मचारीलाई भुक्तानी गर्ने व्यवस्था रहेको छ। कोषका अनुसार यस योजनामा योगदानमा आधारित तथा गैर–योगदानमा आधारित दुवै प्रकारका रकम जम्मा गरी सहभागी हुन सकिन्छ। यसले संस्थागत कर्मचारीहरूको सामाजिक सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।