नेपाली समाजको मेरुदण्ड मानिएको युवा शक्ति अहिले लागूऔषध दुर्व्यसनीको पञ्जामा फस्दै गएको छ । देशका कुनाकाप्चासम्म फैलिएको लागूऔषध समस्या अहिले कुनै जिल्ला वा क्षेत्रमा मात्र रहेन, बरु यसले राष्ट्रिय संकटको रूप लिइसकेको छ ।
रौतहट प्रहरीले हालै सुरु गरेको लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियानले हाम्रो समाजभित्र लुकेर रहेको भयावह अवस्थालाई न्युनीकरण गर्न प्रयास गर्दैछ । तर प्रहरीको नियमित प्रयासले मात्रै लागूऔषध दुर्व्यसनीको भयावह अवस्थालाई चिर्न सक्ने देखिँदैन ।
लागूऔषध दुर्व्यसनीको तथ्यांक निकै चिन्ताजनक छ । रौतहटमा मात्रै चालु आर्थिक वर्षको छोटो अवधिमा २६ जनाविरुद्ध मुद्दा चलाइनु र ६३ जना पक्राउ पर्नुले लागूऔषध कारोबारको जालो कति गहिरोसँग फैलिएको छ भन्ने देखाउँछ । विशेषगरी खुला सीमानाको फाइदा उठाउँदै हुने अवैध ओसारपसारले सीमावर्ती जिल्लाहरूलाई लागूऔषधको ‘ट्रान्जिट पोइन्ट’ बनाएको छ । तर समस्या केवल ओसारपसारमा मात्र सीमित छैन, यसको प्रयोगकर्ताको संख्यामा भएको बढोत्तरीले भविष्यको उत्पादनशील जनशक्तिलाई खोक्रो बनाउँदैछ ।
लागूऔषध विकृतिका पछाडि बहुआयामिक कारणहरू छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालले औँल्याएजस्तै बेरोजगारी, कमजोर पारिवारिक निगरानी र साथीभाइको गलत संगत यसका प्रमुख कारक हुन् । युवाहरूमा बढ्दो निराशा र भविष्यप्रतिको अन्योलताले क्षणिक आनन्दको खोजीमा लागूऔषधतर्फ धकेल्ने गरेको छ । अभिभावकहरू सन्तानको गतिविधि र संगतप्रति उदासिन हुनुले पनि समस्यालाई मलजल गरेको छ । सीमापारिको सहज आवतजावत र सस्तो दरमा उपलब्ध हुने घातक औषधिहरूले आगोमा घिउ थप्ने काम गरिरहेका छन् ।
लागूऔषध दुर्व्यसनीको प्रभाव केवल व्यक्तिमा मात्र सीमित रहँदैन, यसले गम्भीर सामाजिक र स्वास्थ्य संकट निम्त्याइरहेको छ । रौतहटको सन्दर्भमा देखिएको एचआईभी एड्स संक्रमितको ५४० जनाको संख्या र त्यसमध्ये सूइँमार्फत लागूऔषध प्रयोग गर्नेहरूको बढ्दो संख्याले समस्यालाई जटिल बनाएको छ । दुर्व्यसनीका कारण परिवारहरू विखण्डित भएका छन्, चोरीडकैती जस्ता आपराधिक क्रियाकलाप बढेका छन् र समाजमा असुरक्षाको भावना फैलिएको छ ।
यस्तो अवस्थामा अब प्रश्न उठ्छ, लागूऔषध दुर्व्यसनीको विकृति कसले रोक्ने ? के प्रहरीले पक्राउ गरेर मात्र समस्या समाधान होला ? प्रहरी उपरीक्षक रिजालको भनाइ मननयोग्य छ– लागूऔषध नियन्त्रण केवल पक्राउ र कारबाहीमा सीमित राखेर सम्भव छैन । लागूऔषध प्रयोगकर्तालाई अपराधीको दृष्टिले मात्र नभई सुधारका रूपमा हेरिनुपर्छ । पक्राउ गरेर जेल पठाउनुभन्दा सुधार गृह, परामर्श र पुनःस्थापनाको माध्यमबाट समाजमा फर्काउनु नै दीर्घकालीन समाधान हो ।
समाधानका लागि राज्यका तीनै तहका सरकार, स्थानीय प्रशासन र नागरिक समाजको एकीकृत प्रयास आवश्यक छ । स्थानीय तहहरूले वडाहरूमा सेवनकर्ताको पहिचान गर्ने, तथ्यांक संकलन गर्ने र परामर्श केन्द्रहरू स्थापना गर्न ढिलाइ गर्नु हुँदैन । शिक्षक र अभिभावकहरूले विद्यालय र घरमा सचेतनाको वातावरण निर्माण गर्नुपर्छ । बेरोजगारी समस्या समाधानका लागि सीपमूलक तालिम र स्वरोजगारका अवसरहरू सिर्जना नगरेसम्म युवाहरूलाई दलदलबाट बाहिर निकाल्न कठिन हुनेछ ।
रौतहट प्रहरीले सुरु गरेको जस्तो खोज, उपचार र सुधारको साझा अभियान देशैभर सञ्चालन गर्नु आवश्यक छ । स्वास्थ्य कार्यालयहरूले संक्रमितहरूको उपचारमा सक्रियता देखाउनुपर्छ भने सुरक्षा निकायले सीमा नाकामा कडाइ र कारोबारीहरूमाथि निर्मम प्रहार गर्नुपर्छ । जबसम्म समाजले लागूऔषध दुर्व्यसनीलाई घृणा होइन, सहानुभूति र सुधारको दृष्टिले हेर्दैन र परिवारले सन्तानको मानसिक अवस्था बुझ्दैनन्, तबसम्म कानुनले मात्र विकृति रोक्न सक्दैन ।
लागूऔषध समस्या समाजको साझा लडाइँ हो । युवाहरूलाई लागूऔषधको जालबाट जोगाउनु भनेको राष्ट्रको भविष्य सुरक्षित गर्नु हो । रौतहटमा सुरु भएको सुधारको प्रयासले देशैभरि सन्देश दिन सकोस्, हामीलाई लागूऔषध मुक्त समाज चाहिएको छ ।
मिति २०८३ वैसाख २९ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।






























