अपहरण परेका बालककै चलाखीले फन्दामा परे अपहरणकारी

काठमाडौँ । पाँच जना भारतीय नागरिकले चितवनबाट अपहरण गरेका बालकको काठमाडौँको गंगबुस्थित एक होटलबाट सकुशल उद्धार भएको छ । असार १ गते साँझ साढे ६ बजे चितवनको नारायणगढबाट ५/६ जनाको समूहले १५ वर्षीय बालक अपहरण गरेको थियो । भरतपुर महानगरपालिका २ बस्ने बालकलाई भारतीय नम्बरको गाडीमा राखेर काठमाडौँ ल्याएका थिए।

गंगबूको एक होटलमा राखेर पीडित परिवारसँग फिरौती रकम माग गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । असार २ गते अपराध अनुसन्धान कार्यालयको टोलीले बालकको उद्धार गर्दै अपहरणमा संलग्न रहेको आरोपमा ५ जना भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार बेतियाका १८ वर्षीय सुजित कुमार, १८ वर्षकै गोलुकुमार सोनी, १८ वर्षकै गोलु कुमार, १८ वर्षकै बिक्कि कुमार र १८ वर्षकै मोहम्मद साहिद रहेका छन् ।

२०८३ जेठ २९ गते भारतको बेतियामा अपहरणको योजना बनाएको खुलेको प्रहरीको दाबी छ । सुजितकुमार सहित ५ जनाले अपहरणको योजना बनाएर भोलिपल्ट जेठ ३० गते वीरगनज भन्सारबाट गाडीको पास बनाएर नेपाल प्रवेश गरेका थिए । गोलु कुमारको आधारगार्डबाट नेपाली सिमकार्ड निकालेर वाट्सएप प्रयोग गरेको पाइएको छ । जेठ ३० गते राति १० बजे चितवन पुगेका थिए । चितवनमा काम गर्ने सुजितकुमारका साथीले गुल्मैली होटलमा दुई दिन बस्नको लागि व्यवस्थापन गरिदिएका थिए ।

असार १ गते ती बालकलाई सुजितकुमारले इन्स्टाग्राममा सम्पर्क गरी सिद्धार्थ स्कुलको पछाडी बोलाई ४ जनाले गाडीमा चढाएका थिए । त्यसपछि आफू बसिरहेको होटलमा लगेका थिए। त्यहाँ २ घण्टा राखेर फकाएका थिए । त्यसपछि बालकलाई गाडीमा चढाएर धारिलो हतियार देखाउँदै कुटपिट गर्दै हल्ला गरेमा ज्यान मार्ने धम्की दिएर काठमाडौँ ल्याएका थिए । असार १ गते राति ११ बजे कलंकी आएका थिए। त्यसपछि उनीहरू राति १ बजे बिक्की पटेलले व्यवस्था गरेको नयाँ बसपार्कको होटल फ्यामिलीको कोठा नं २०३ मा बसेका थिए ।

असार २ गते बिहान बालकका बुबालाई वाट्सएपमा कल गरेर २४ घण्टाभित्र २२ लाख रुपैयाँ उपलब्ध गराउन अन्यथा छोराको ज्यान लिन्छौँ भन्दै फिरौती माग गरेको एसपी कार्कीले बताए । अपहरणकारीले फोन गरेपछि मात्रै बाबुले आफ्नो छोरा अपहरणमा परेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। उनले प्रहरीलाई फोन गर्नु पहिले एक व्यक्तिले ती अपहरणमा परेका बालकका बाबुलाई सोधेका थिए । अपहरणमा परेका बालकले कागजको टुक्रमा आफू अपहरणमा परेको भन्दै आफ्नो र बाबुको नाम, सम्पर्क नम्बर र प्रहरीलाई खबर गरिदिन भनेर लेखेका थिए।

त्यो टुक्रा उनले होटल बाहिर फालिदिएका थिए । त्यो कागजात फेला पारेका व्यक्तिले उनका बाबुलाई फोन गरेका थिए। त्यसपछि प्रहरी पुगेर त्यसआसपास खोजि गर्दा बालक उक्त होटलमा बन्धक बनाइएको अवस्थामा फेला परेका थिए । प्रहरीले असार २ गते दिउँसो ४ बजेतिर बालकको सकुशल उद्धार गरेको थियो। सोही होटलबाट अपहरणमा संलग्न ५ भारतीय पनि पक्राउ परेका हुन् । पक्राउ परेका पाँच जनालाई अनुसन्धान गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको पनि एसपी कार्कीले बताए ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।