काठमाडौँ । बीपी स्मृति दिवसका अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक विशेष विचार गोष्ठीमा नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक कलह, वैचारिक असमझदारी र नेतृत्वप्रतिको असन्तोष प्रस्ट रूपमा सतहमा आएको छ ।
पार्टीको संस्थापनइतर पक्षद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित अधिकांश शीर्ष तथा प्रभावशाली नेताहरूले पार्टी सभापति गगनकुमार थापाको कार्यशैली र भूमिकालाई लिएर तीव्र असन्तोष व्यक्त गर्दै चर्को आलोचना गरेका छन् । उनीहरूले सभापति थापाले पार्टीलाई विधि, विधान र समावेशी पद्धतिका आधारमा सञ्चालन गर्नुको सट्टा एकाधिकारवादी, स्वेच्छाचारी र अहम्–केन्द्रित ढंगले चलाउन खोजेको गम्भीर आरोप लगाएका छन् ।
वर्तमान परिस्थितिमा नेपाली कांग्रेस भयानक वैचारिक तथा सांगठनिक संकटको संघारमा उभिएको उल्लेख गर्दै नेताहरूले पार्टीलाई जोगाउन र एकीकृत बनाएर अघि बढाउन सभापतिलाई गम्भीरतापूर्वक सुझाव दिएका छन् । यसका साथै, यदि नेतृत्वले बहुमतको घमण्ड देखाउँदै आफ्नै ढंगले अघि बढ्ने र इतर पक्षको अस्तित्व तथा आत्मसम्मानलाई उपेक्षा गरिरहने हो भने आफूहरू नयाँ बाटो तय गर्न बाध्य हुने कडा चेतावनी समेत दिएका छन् । कार्यक्रममा बोल्ने नेताहरूले पार्टी एकता अहिलेको अनिवार्य आवश्यकता भए तापनि त्यो एकता कसैको पाउमा परेर वा शीर झुकाएर नभई आत्मसम्मान र सम्मानजनक सहभागिताका आधारमा मात्र सम्भव हुने प्रस्ट पारेका छन् ।
कार्यक्रममा आफ्नो धारणा राख्दै कांग्रेस नेत्री सिर्जना मल्लले पार्टीभित्र उत्पन्न आन्तरिक विवाद, असन्तोष र अविश्वासलाई सम्बोधन गरी सबै पक्षलाई मिलाउने मुख्य दायित्व र संवैधानिक जिम्मा पार्टी सभापति गगनकुमार थापाकै काँधमा रहेको बताइन् । उनले पार्टी दिनप्रतिदिन दुई धारमा स्पष्ट रूपमा बाँडिँदै जाँदा र नेतृत्व तहमा राजनीतिक परिपक्वताको अभाव देखिँदा त्यसको प्रत्यक्ष असर र मार युवा पुस्ताका कार्यकर्ताहरूले बेहोर्नुपरेको भन्दै गम्भीर दुःख व्यक्त गरिन् । सभापति थापाको राजनीतिक महत्त्वाकांक्षा र कार्यशैलीमाथि व्यङ्ग्य गर्दै उनले भनिन्, “म अत्यन्तै दुःखका साथ भन्न चाहन्छु कि सभापति महोदयले चुनाव जितेर, पार्टीलाई एक बनाएर मुलुकको प्रधानमन्त्री बन्छु भन्ने सुन्दर सपना देख्नुभएको थियो । तर अहिलेको उहाँको व्यवहार हेर्दा उहाँ पार्टी मिलाउनेभन्दा पनि विभाजनतिर उद्धत हुनुहुन्छ । अब तपाईं लिगलिग कोटतिर दौडिएर नै प्रधानमन्त्री बन्नुहोस्, शुभकामना छ ।“ मल्लले पार्टीका आम कार्यकर्ताको भावना मर्न नदिन र कांग्रेसलाई जोगाउनका लागि भए पनि सभापतिले अहम् त्यागेर पार्टी एकताको पहल गर्नैपर्नेमा विशेष जोड दिइन् ।
यसैगरी, राष्ट्रियसभाका सांसद समेत रहेका कांग्रेस नेता जीतजंग बस्नेतले पार्टी एकताको पक्षमा आफूहरू सधैँ उभिएको भए तापनि त्यो एकता आत्मसम्मानविहीन हुन नसक्ने प्रस्ट पारे । बस्नेतले एकता प्रक्रिया अगाडि बढाउँदा कसैले कसैको अगाडि शीर झुकाउनु नपर्ने र सबै तहका नेता–कार्यकर्ताको मर्यादा र योगदानको कदर हुनुपर्ने बताए । पार्टीभित्र उत्पन्न संकट र नेतृत्वको स्वेच्छाचारिताबाट आजित भएका देशभरीका कार्यकर्ताहरूले आफूहरूलाई लगातार फोन गरेर कठोर निर्णय लिन दबाब दिइरहेको खुलासा गर्दै बस्नेतले भने, “हामीलाई गाउँ–गाउँ र जिल्ला–जिल्लाबाट साथीहरूको फोन आउँछ, उहाँहरू भन्नुहुन्छ– तपाईंहरू अब पछि नहट्नुस्, अगाडि बढ्नुस् । त्यसैले अब हामीसँग पार्टीको बृहत्तर हितका लागि दृढतापूर्वक अगाडि बढ्नुबाहेक अन्य कुनै विकल्प बाँकी छैन ।“
अर्का नेता उमाकान्त चौधरीले नेपाली कांग्रेसको ऐतिहासिक आदर्श, स्थापित सिद्धान्त, लोकतान्त्रिक मूल्य–मान्यता र विचार अहिले गम्भीर संकटको मोडमा पुगेको टिप्पणी गरे । उनले नेपाली कांग्रेसको आफ्नै मौलिक परम्परा, संस्कृति र इतिहास रहेकामा आज त्यो सम्पूर्ण विरासत खतरामा परेको बताए । कांग्रेसकै नेतृत्वमा स्थापना भएको प्रजातन्त्र, लोकतन्त्र र स्वयं वर्तमान संविधान समेत संकटमा परेको अवस्थामा यी सम्पूर्ण राष्ट्रिय संकटहरूको मोचन गर्न, देश र जनताको रक्षा गर्नका लागि सबैभन्दा पहिले नेपाली कांग्रेस आफैँभित्र एकढिक्का हुनुपर्ने आवश्यकता औँल्याए । चौधरीले भने, “पार्टीलाई एकढिक्का र मजबुद बनाउने मुख्य जिम्मेवारीमा रहेका सभापति कुन घमण्ड र दम्भमा हुनुहुन्छ, बुझ्न सकिएको छैन । यही दम्भका कारण अहिलेसम्म पार्टी एकता सम्भव हुन सकेको छैन । निर्वाचन आयोग र अदालतको प्राविधिक निर्णयका कारण सभापति बने पनि उहाँले सबै पक्षलाई समेटेर लैजान सक्नुभएको छैन ।“ उनले गगन थापालाई गुट वा समूहको मात्र नभई समग्र नेपाली कांग्रेसको सर्वमान्य सभापति बनेर देखाउन खुला आग्रह गरे ।
पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेसका वरिष्ठ नेता एनपी साउदले पार्टीका पुराना र अनुभवी नेताहरूसँग लामो बलिदानी, योगदान र संघर्षको ठूलो अनुभव रहेको बताउँदै उनीहरूलाई पन्छाएर वा उपेक्षा गरेर नेपाली कांग्रेस कहिल्यै पनि बलियो हुन नसक्ने प्रस्ट पारे । विगतमा विशेष महाधिवेशनमा गएको पक्ष र नगएको पक्ष भनेर पार्टीमा स्पष्ट ध्रुवीकरण भएको प्रसङ्ग उल्लेख गर्दै साउदले जबसम्म नेतृत्वले खुला हृदयका साथ दुवै पक्षबीच सम्मानजनक एकता गराउन सक्दैन, तबसम्म कांग्रेस इतिहासमा मात्र सीमित हुने खतरा रहेको चेतावनी दिए । उनले भने, “अहिलेको नेपाली कांग्रेस न त वैचारिक रूपमा स्पष्ट छ, न त सांगठनिक रूपमा बलियो नै छ । पार्टी स्पष्ट रूपमा विभाजनको दिशामा मोडिएको छ । यस्तो गम्भीर र नाजुक अवस्थामा नेतृत्व तहमा रहेकाहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, विचार पुर्याएर पार्टीलाई एकताको बाटोमा लैजान विशेष पहलकदमी लिनुपर्छ ।“
पूर्वपरराष्ट्रमन्त्री तथा पार्टीका अर्का नेता प्रकाशशरण महतले पनि नेपाली कांग्रेस अहिले अभूतपूर्व सांगठनिक र वैचारिक संकटबाट गुज्रिरहेको बताए । संस्थापक नेता बीपी कोइरालाको योगदानको स्मरण गर्दै महतले बीपीले नेपालमा समाजवादको अवधारणा प्रवेश गराएको र राष्ट्रियतालाई मजबुद बनाउन सधैँ नेतृत्वदायी भूमिका निर्वाह गरे पनि कहिल्यै ’म नै सर्वोसर्वा हुँ’ वा ’म नै सबैथोक हुँ’ भन्ने घमण्ड नदेखाएको उल्लेख गरे । बीपीले सबैका विचार, दृष्टिकोण र भावनालाई सुनेर मात्र निर्णय लिने लोकतान्त्रिक संस्कार बसालेको तर वर्तमान समयमा नेतृत्वमा रहेकाहरूलाई एक्लै हिँड्ने र पार्टीलाई एक्लै चलाउने ’रोग’ लागेको भन्दै कडा कटाक्ष गरे । महतले भने, “अहिले देशको प्रधानमन्त्री पनि एक्लै चलाउन खोज्नुहुन्छ, सत्ताधारी पार्टीका नेता पनि एक्लै हुनुहुन्छ र प्राविधिक रूपमा विशेष महाधिवेशनबाट नेतृत्वमा आउनुभएका गगनजीलाई पनि पार्टी एक्लै चलाउनुपर्छ भन्ने रोग लागेको छ ।“
महतले नेपाली कांग्रेसको मौलिक संस्कार विविध विचारहरूमाथि व्यापक मन्थन, छलफल र सहमति निर्माण गरेर अघि बढ्ने रहेको प्रस्ट पारे । उनले पार्टीको बृहत्तर एकताका लागि आसन्न १५औँ महाधिवेशन पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र धाँधलीरहित हुन जरुरी रहेको बताए । महाधिवेशनमा सबै पक्षको सम्मानजनक, स्पष्ट र पारदर्शी सहभागिता सुनिश्चित गर्नका लागि अधिकारसम्पन्न निष्पक्ष संयन्त्र बनाउनुपर्नेमा उनले जोड दिए । १५औँ महाधिवेशनको प्रसङ्ग जोड्दै महतले भावुक बन्दै भने, “१५औँ महाधिवेशनमा नेपाली कांग्रेसको केवल भौतिक शरीर मात्र रहला, तर पार्टीको वास्तविक आत्मा भने यहाँ छ । आगामी केही दिनभित्रै एउटा सम्मानजनक र न्यायोचित एकता भएर यो विवाद टुंगोमा पुगोस् भन्ने हाम्रो चाहना हो । यदि त्यसो हुन सकेन र नेतृत्वले उपेक्षा गरिरह्यो भने, नेपाली कांग्रेसको आत्मा बचाउनकै लागि भए पनि हामीले आत्मासहितको छुट्टै बाटो लिनसक्ने परिस्थिति निर्माण हुन सक्छ ।“
पार्टीका अर्का नेता शशांक कोइरालाले नेपाली कांग्रेसभित्र मौलाउँदै गएको समूहगत अस्वस्थ प्रतिस्पर्धा, असमझदारी, अविश्वास र अनावश्यक गुटगत विचारले पार्टीको जग नै हल्लाइदिएको बताए । यस्ता आन्तरिक खिचातानीले पार्टीलाई तल्लो तहसम्म कमजोर बनाउने मात्र नभई आम नागरिक र शुभचिन्तकहरूमा समेत अत्यन्तै नकारात्मक सन्देश प्रवाहित गरिरहेकाले यसलाई सामान्य रूपमा लिन नहुने उनको भनाइ थियो । कोइरालाले सिङ्गो पार्टीलाई एकबद्ध बनाएर अघि बढाउने मुख्य दायित्व सभापतिकै भएको दोहोर्याउँदै पार्टीभित्र एकता, भाइचारा र सहकार्यको वातावरण मजबुद बनाउनका लागि तत्काल गम्भीर पहल गर्न अपिल गरे ।
त्यस्तै, पूर्वउपप्रधानमन्त्री एवं वरिष्ठ कांग्रेस नेता विजयकुमार गच्छदारले विगतका ऐतिहासिक प्रसङ्गहरूको स्मरण गराउँदै सम्पूर्ण कांग्रेसलाई एकढिक्का बनाउन आग्रह गरे । उनले भने, “पूर्वसभापति कृष्णप्रसाद भट्टराईले यही प्रज्ञा–प्रतिष्ठानको हलमा उभिएर अतीतका सबै विस्मृति, मनमुटाव र तीता मीठा अनुभवहरूलाई बिर्सेर पार्टीलाई एक बनाउनुभएको उदारता मैले प्रत्यक्ष देखेको छु । उहाँले पार्टी एकताका लागि विषपान गर्न पनि तयार छु भन्नुभएको मैले आफ्नै कानले सुनेको छु ।“ गच्छदारले त्याग, तपस्या, निष्ठा र समर्पणका धनी तिनै अग्रज नेताहरूबाट वर्तमान नेतृत्वले केही सिक्ने कि नसिक्ने भन्दै गम्भीर प्रश्न तेर्स्याए ।
पार्टीका वरिष्ठ नेता विमलेन्द्र निधिले आफूहरूले पार्टी एकताका लागि पठाएको लिखित तथा मौखिक प्रस्तावलाई स्वीकार गर्न नेतृत्वलाई किन अफ्ठेरो परेको हो भन्दै प्रश्न गरे । निधिले भने, “हामीले गगन थापालाई सभापति मानेकै छौँ । विशेष महाधिवेशनबाट निर्वाचित भएर आएका सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई पनि स्वीकार गरेकै छौँ । यति हुँदाहुँदै पनि उहाँहरूको चित्त बुझेको छैन वा उहाँहरू सबैलाई मिलाएर लैजान चाहनुहुन्न भने यो नेपाली कांग्रेसका लागि अत्यन्तै दुर्भाग्यपूर्ण कुरा हो ।“ नेता निधिले सभापति थापाले वास्तवमै नेपाली कांग्रेसलाई एक भएको देख्न र बनाउन नचाहेको आरोप लगाए ।
कार्यक्रमका प्रमुख वक्ता डा. शेखर कोइरालाले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र लोकतान्त्रिक प्रणाली नै अत्यन्तै कमजोर र संवेदनशील अवस्थाबाट गुजरिरहेको बताए । यस्तो गम्भीर परिस्थितिमा देशलाई जोगाउनका लागि सबैभन्दा पहिले नेपाली कांग्रेसभित्रै आन्तरिक एकता, मेलमिलाप र विश्वासको वातावरण कायम हुनुपर्नेमा उनले जोड दिए । कांग्रेसभित्र आन्तरिक एकता कायम भएपछि मात्रै राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि अन्य राजनीतिक शक्तिहरूसँग मिलेर काम गर्न सकिने उनको भनाइ थियो । मुलुकमा निरंकुशता र हुकुमी शासनको प्रभाव बढ्दै गएको टिप्पणी गर्दै डा. कोइरालाले भने, “अहिले सामाजिक सञ्जालको माध्यमबाट मात्रै देशको वस्तुस्थितिका बारेमा थाहा पाउनुपर्ने विचित्रको अवस्था सिर्जना भएको छ । अझ चिन्ताको विषय त के छ भने, स्वयं नेपाली कांग्रेसभित्र पनि हुकुमी शासन र स्वेच्छाचारिता चलिरहेको मैले प्रत्यक्ष महसुस गरेको छु । बिना कुनै सोधपुछ, बिना कुनै स्पष्टीकरण, केवल क्रियाशील सदस्यता अद्यावधिक नगरेको वा नगराएको सामान्य बहानामा वडा सभापतिहरूलाई पार्टीबाट निष्कासन गरिएको छ । यस्तो गैरकानुनी र निरंकुश कदम हामी कसैका लागि पनि सैह्य हुन सक्दैन ।“
डा. कोइरालाले पार्टीभित्रै एक प्रकारको नयाँ निरंकुशता र अधिनायकवादले जन्म लिएको दाबी गर्दै त्यसको अन्त्य गर्नु अहिलेको प्राथमिक आवश्यकता भएको बताए । पार्टी एकताका लागि धेरै समय बितिसकेको र अब थप विलम्ब गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दै उनले भने, “यदि सभापतिजीले छिट्टै एकताका लागि सार्थक र परिणाममुखी पहल गर्न सक्नुभएन भने, त्यसबाट उत्पन्न हुने सम्पूर्ण राजनीतिक क्षति र परिणामको जिम्मेवारी स्वयं सभापतिले नै लिनुपर्नेछ ।“ सम्बोधनको अन्त्यमा डा. कोइरालाले सभापति थापालाई लक्षित गर्दै कडा चेतावनीका साथ आग्रह गरे, “सभापतिजी, बीपी कोइरालाको महान् विचार, आदर्श र मेलमिलापको नीतिलाई सम्झिनुहोस् । आफ्नो व्यक्तिवादी चरित्र, अहम् र स्वार्थीपनालाई पूर्ण रूपमा त्याग्नुहोस् र कसैको इशारा वा उक्साहटमा हिँड्न छाडेर सिङ्गो कांग्रेसको नेता बन्नुहोस् ।“
बीपी स्मृति दिवसको यो विचार गोष्ठीले नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व, असन्तोष र ध्रुवीकरण कुन हदसम्म चुलिएको छ भन्ने स्पष्ट चित्र प्रस्तुत गरेको छ । विशेष महाधिवेशनपछि बनेको नयाँ नेतृत्व र संस्थापनइतर पक्षबीचको दूरी झन्–झन् फराकिलो बन्दै गएको यस कार्यक्रमबाट प्रस्ट हुन्छ । इतर पक्षले सभापति गगन थापालाई पार्टीलाई सर्वसमावेशी र एकीकृत बनाएर लैजान अन्तिम मौकाका रूपमा सचेत गराएको छ । यदि नेतृत्वले आफ्ना मागहरूलाई बेवास्ता गर्ने, एकाधिकार जमाउने र पेलेर जाने नीति कायम राख्ने हो भने छुट्टै राजनीतिक बाटो रोज्ने संकेत इतर पक्षले दिइसकेको छ । यही असन्तोष र आन्तरिक रणनीतिलाई अझ सशक्त र संगठित रूपमा अगाडि बढाउने उद्देश्यका साथ कांग्रेसको संस्थापनइतर पक्षले आगामी साउन २९ गते काठमाडौंमा विशाल राष्ट्रिय भेलासमेत घोषणा गरिसकेको छ । यसले आगामी दिनमा नेपाली कांग्रेसको राजनीति, सांगठनिक संरचना र १५औँ महाधिवेशनको समीकरणमा ठूलो फेरबदल र तरङ्ग ल्याउने निश्चित देखिन्छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































