भोजपुरका किसानका लागि रुद्राक्षखेती आम्दानीको राम्रो स्रोत बन्दै

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्षखेती आम्दानीको राम्रो स्रोत बन्दै गएको छ । जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रम सुरु भएको छ ।

रुद्राक्षको विक्रीवितरण समेत सुरु भएको छ । रुद्राक्ष व्यवसायी सघंका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार गत वर्ष भोजपुरबाट करिब १ अर्ब रुपियाँ बराबरको रुद्राक्षको कारोबार भएको थियो । जिल्लामा वार्षिक करिब ११ लाख किलोग्राम रुद्राक्ष उत्पादन हुने उनले जानकारी दिए । एउटै दानाबाट किसानले लाखौँ आम्दानी लिने गरेको उनको भनाइ छ ।

भोजपुरको षडानन्द नगरपालिकमा पर्ने दिङ्ला क्षेत्रका अधिकांश स्थानीयले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम बनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । व्यवसायी सघंका अनुसार जिल्लाका ३० देखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुद्राक्षखेतीमा आबद्ध छन् । कम मिहिनेतमा तुलनात्मक रूपमा राम्रो आम्दानी लिन सकिने भएकाले रुद्राक्ष किसानको रोजाइको बाली बन्दै गएको अध्यक्ष चापागाईँको भनाइ छ ।

रुद्राक्षबाट वार्षिक रूपमा राम्रो आम्दानी हुन थालेपछि युवापुस्ता यसको खेती तथा व्यवसायमा आकर्षित हुने क्रम बढेको उनले बताए । “राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्ष उत्पादन भए किसानले एउटै दानाबाट धेरै राम्रो आम्दानी लिन सक्छन्‌”, उले भने, “त्यसैले पछिल्लो समय रुद्राक्षखेतीप्रति किसानको आकर्षण बढेको छ ।”
षडानन्द नगरपालिका–१२ का किसान छत्र दमाईले रुद्राक्षबाट राम्रो आम्दानी लिन सकिने बताए । गुणस्तरीय र दुर्लभ दाना उत्पादन भए एकैपटक ठूलो रकम प्राप्त हुने उनको भनाइ छ । रुद्राक्षका दानामा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ । षडानन्दका किसान पुष्पबहादुर तामाङले एउटै बोटमा उत्पादन भएका सबै रुद्राक्षका दानाको मूल्य समान नहुने बताए । उनका अनुसार दानाको मुख, आकार, तौल, गुणस्तर, बनोट र दुर्लभताका आधारमा मूल्य निर्धारण हुने गरेको छ । “बगानमा उत्पादन हुने सबै दानाको मूल्य एउटै हुँदैन”, उनले भने, “स्पष्ट मुख देखिने, राम्रो आकार भएका र आकर्षक बनोटका दानाले बजारमा बढी मूल्य पाउने गरेका छन् ।”

धार्मिक तथा आध्यात्मिक महत्वका कारण रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा उच्च रहेको व्यवसायी बताउँछन् । दिङ्ला क्षेत्रका एक किसानले रुद्राक्षबाट वार्षिक न्यूनतम १ लाखदेखि अधिकतम ६० लाखसम्म आम्दानी गर्ने गरेका छन् । पछिल्लो समय रुद्राक्षबाट राम्रो आम्दानी हुन थालेपछि किसानले नयाँ बिरुवा लगाउने तथा पुराना बगान संरक्षण गर्ने क्रम बढाएका छन् ।

व्यावसायिक रूपमा यसको खेती विस्तार हुँदा गाउँमै रोजगारी तथा आम्दानीको अवसर सृजना भएको स्थानीय किसानको भनाइ छ । दिङ्ला क्षेत्रमा उत्पादन हुने रुद्राक्ष खरिद गर्न चीनका व्यापारी घरघरमै पुग्ने गरेका छन् । भोजपुरमा उत्पादन हुने रुद्राक्षको प्रमुख प्रारम्भिक बजार भने सङखुवासभाको खाँदबारी र तुम्लिङटार रहेको व्यवसायी बताउँछन् ।