काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि जोखिममा परेको नेपाल–चीन सीमा क्षेत्रको निगरानी बढाउन दुई स्थानमा सिसी क्यामेरा जडान गर्न थालिएको छ ।
बाढीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमको पूर्वसूचना लिन क्यामेरा जडान गर्न लागिएको हो । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गर्ने काम आजदेखि सुरु गरिएको हो । क्यामेरामार्फत नदीको बहाव, तालको अवस्था तथा आसपासमा देखिन सक्ने सम्भावित जोखिमको दृश्य निगरानी गरिनेछ ।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नदीको अवस्था र सम्भावित जोखिमबारे निरन्तर निगरानी गर्नुपर्ने आवश्यकता देखिएको थियो । विशेषगरी बाढीका कारण बनेको तालमा पानीको मात्रा बढ्दै गएमा वा ताल फुट्ने अवस्था आएमा त्यसको सूचना समयमै प्राप्त गर्न क्यामेरा उपयोगी हुने अपेक्षा गरिएको छ ।
बाढीविद् सौहार्द जोशीले सिसी क्यामेरा जडान भएपछि नदीको बहाव तथा सम्भावित जोखिमको अवस्थालाई प्रत्यक्ष दृश्यबाट निगरानी गर्न सहज हुने बताए । उनका अनुसार क्यामेराबाट प्राप्त दृश्यका आधारमा नदी तथा तालको अवस्थाबारे समयमै जानकारी लिन सकिनेछ । यसबाट जोखिमको अवस्था पहिचान गरी सम्बन्धित निकायमार्फत प्रभावित क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिन थप सहज हुने विश्वास गरिएको छ ।
भोटेकोशी बाढीले पुर्याएको क्षतिपछि सम्भावित अर्को जोखिम रोक्न तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सीमा क्षेत्रमा निगरानी प्रणालीलाई प्राथमिकता दिइएको हो। क्यामेरा सञ्चालनमा आएपछि जोखिमको निरन्तर अनुगमन गरी आवश्यक पर्दा समयमै सतर्कता अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


































