भक्तपुर । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना सम्पर्कमा आएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार भक्तपुर ठेगाना भएका १९ जना बाढीपछि सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ । सम्पर्कविहीनमध्ये छ जना सम्पर्कमा आएका छन् भने भक्तपुरका इञ्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु भएको पुष्टि भइसकेको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा बाहिरी जिल्ला ठेगाना भएका ५६ जना व्यक्तिसमेत सम्पर्कविहीन भएका विवरण प्राप्त भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । तीमध्ये दुई जना सम्पर्कमा आएका र एक जना काठमाडौं स्थित वीर अस्पतालमा उपचाररत रहेको उनले बताए ।
यसैबीच, वातावरण संरक्षण समितिका अध्यक्ष सत्यसुन्दर प्रजापतिका मामा न्हुछेबहादुर प्रजापतिले भन्जाको शव यही भदौ १२ गते फेला परेको जानकारी दिए । “बाढी गएको आज सात दिन भइसकेको छ, सरोकार भएका निकायले खोज तथा उद्धारलाई तीव्रता दिई नागरिकको सकुशल उद्धारमा जुट्न आग्रह गर्दछु”, उनले भने । भदौ १० गतेदेखि आजसम्म सेना, हवाई माध्यम, ड्रोनको सहायताले निरन्तर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।



































