ओलीको प्यारो बन्न बादलले ल्याए छुट्टै प्रतिवेदन

काठमाडौँ । नेकपा (एमाले) को पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले नै महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई काउन्टर दिने भएका छन् । उनले भोलि बिहान ११ बजेका लागि बोलाइएको कार्यदलको बैठकमा पेस गर्न छुट्टै प्रतिवेदन बनाएका छन् ।

यसअघि महासचिव पोखरेलले तयार पारेको प्रतिवेदन सञ्चारमाध्यमार्फत सार्वजनिक भइसकेको छ । जहाँ अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छोड्नपर्ने सुझाव दिइएको छ । त्यसका लागि राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक राख्नुपर्ने उल्लेख छ । संयोजक बादलले नैतिकताका आधारमा अध्यक्ष ओलीले राजीनामा दिनुनपर्ने जिकिर गरेका छन् । उनले ओली हटाउनुपर्ने प्रचारलाई खारेज गर्न भनेका छन् । “कतिपय सार्वजनिक तर्क र व्याख्या त झनै अस्वीकारयोग्य छन् । सम्पूर्ण कुठमा आधारित यस्ता आरोप र कुप्रचारहरूलाई पार्टीले सोझै अस्वीकार र खारेज गर्नु पर्दछ,” बादलले लेखेका छन् । नेतृत्व परिवर्तनको कुरा महाधिवेशन भएको ९ महिनामै उछालिएको टिप्पणी उनले गरेका छन् ।

“पार्टीको विधान महाधिवेशन भएको १ वर्ष र एघारौँ राष्ट्रिय महाधिवेशन भएको ९ महिना मात्र भइरहेको छ । तर, नेतृत्व विस्थापन गर्ने यो प्रश्न एघारौँ महाधिवेशन सकिएको तीन महिना पनि नपुग्दै उठाइयो, उछालियो ! विधानतः आधा कार्यकाल गुज्रिसकेपछि राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक र ५ वर्षमा विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने स्पष्ट व्यवस्था छ । यतिबेला विभिन्न प्रकारका भेला, बैठक वा महाधिवेशन गर्ने कुराको कुनै आवश्यकता छैन,” बादलको प्रतिवेदनमा भनिएको छ । पार्टीलाई अविश्वसनीय बनाउने, राष्ट्रिय जिम्मेवारी र पार्टी निर्माणको निम्ति अहोरात्र खटेर बलियो राष्ट्रिय शक्ति निर्माणमा जुट्नुपर्ने बेलामा कृत्रिम तर्क र मनोगत विश्लेषणका आधारमा पार्टीमा फाटो पैदा गर्ने प्रवृत्ति, माग र प्रयासलाई सिधै अस्वीकार गरेर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

“निष्कर्षमा भन्नु पर्दा पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनबाट करिब ७५ प्रतिशत मतसहित निर्वाचित अध्यक्षलाई बिस्थापन गर्ने कोसिस व्यर्थ छ,” बादलको निष्कर्ष छ । उनले चुनावी परिणामपछि नैतिकताका आधारमा तत्कालीन पार्टीका महासचिव माधवकुमार नेपालले राजीनामा दिएको विषय र जेजनी विद्रोहपछिको चुनाव एउटै नभएको बताएका छन् । “यसपटक नियमित निर्वाचन भएको होइन, भदौ २३ र २४ को विध्वंसपछि २ वर्ष पदावधि बाँकी हुँदाहुँदै राष्ट्रपतिलाई धम्की दिएर असंवैधानिक रूपमा संसद् विघटन र निर्दलीय सरकार गठन गरी मुलुकलाई बलपूर्वक चुनावतर्फ धकेलिएको थियो,” बादलले भनेका छन्, “नेकपा (एमाले) माथिको आक्रमण तीव्र रहेको प्रतिकूलतामा भएको निर्वाचनलाई अन्य नियमित वा सामान्य परिस्थितिका निर्वाचनसँग तुलना गर्नु सान्दर्भिक हुँदैन ।”

सिंगो आन्दोलन अप्ठेरोबाट गुज्रिरहेका बेला जिम्मेवारी छाडेर भाग्ने प्रयोजनका लागि नैतिकता नभएको समेत उनले उल्लेख गरेका छन् । “नेतृत्वबाट बिदाई वा नैतिकता प्रदर्शनको विषय पार्टी र सिंगो आन्दोलन अप्ठेरोबाट गुज्रिरहेका बखत जिम्मेवारी छाडेर भाग्ने प्रयोजनका लागि किमार्थ होइन,” बादलले भनेका छन् । बादलले महाधिवेशनको म्यान्डेटलाई एउटा निर्वाचन विशेषको परिणामले खण्डित गर्न नसक्ने जिकिर गरेका छन् । उनले ओलीकै प्यानलबाट निवार्चित भएकाले पदाधिकारीलाई पुनर्गठनको ‘च्याम्पियन’ नबन्न चेतावनी पनि दिएका छन् ।

“पार्टीको मुख्य नेताको पदाधिकारी बन्ने गरी प्यानलमा रहेर निर्वाचित पदाधिकारीहरूले नै दोष जति मुख्य नेतृत्वलाई लगाएर आफू पुनर्गठनको ‘च्याम्पियन’ बन्न खोज्नु त झन् मिल्दै मिल्दैन,“ बादलले लेखेका छन्, “अध्यक्ष जति नै पदाधिकारीको हिस्सा विजय/पराजय वा आरोह/अवरोहका लागि जिम्मेवार बन्ने नैतिकता र साहस हरेकले प्रदर्शन गर्न सक्नुपर्दछ ।” उनले पार्टी अध्यक्षलाई अकारण हटाउनु पर्छ भन्नु सिंगो आन्दोलन र पार्टी हितविरोधी कार्य भएको ठोकुवा समेत गरेका छन् ।

“पुनर्गठनसँग सम्बन्धित विषयवस्तु जसरी उछालिएको छ, ती असामान्य र पार्टीको संस्थागत कार्यप्रणालीविपरीत रहेका छन् । पार्टीपंक्तिको सुझाव वा विरोधीले सिर्जना गरेको भाष्यजस्ता पदावलीको आडमा यसो गर्नु हुँदैन,” बादलको निष्कर्ष छ । उनले पार्टीले परिस्थितिको विहंगम समीक्षा सिंहावलोकन र आत्ममूल्यांकन अवश्य गर्ने उल्लेख गरेका छन् । “यसको निचोड संस्थागत रूपमा शुद्धीकरण, सुदृढीकरण, व्यापक सुधार र पुनर्जागरण गर्नु रहेको छ । हामी ढलेका छौँ, घाइते भएका छौँ, चौतर्फी घेराबन्दीमा छौँ र निर्वाचनमा हारेका पनि छौँ, तर, हामी मरेका छैनौँ, जीवित छौँ । घाउ निको पारेर धुलो टक्टकाउँदै उठेर तन्दुरुस्त बन्न र पराजयलाई विजयमा बदल्दै अघि बढ्न सक्षम छौँ,” बादलले भनेका छन् ।

त्याग र तपस्याबाट इतिहासले सुम्मेपेको जिम्मेवारी बहन गुर्नपर्ने धारणा उनको छ । “यस निम्ति दक्षिणपन्थी अवसरवाद, अराजकतावाद र अनुशासनहीनतालाई परास्त गर्दै सुदृढ रूपमा अघि बढ्नुको अर्को कुनै विकल्प छैन । अनुकुलतामा पद र प्रतिष्ठा खोज्ने मात्र नभई प्रतिकूलतामा त्याग, तपस्या र बलिदानको भावनाका साथ अघि बढेर हामीले इतिहासले सुम्पेको जिम्मेवारी बहन गर्नुपर्छ,” बादलले भनेका छन् । उनले नेतृत्व विकासबिना युवालाई नेतृत्वमा लगेर राखेर मात्रै केही नहुने पनि बताएका छन् । भोलि च्यासलमा बस्ने बैठकमा दुवै प्रतिवेदन प्रस्तुत हुने बताइएको छ । एमालेमा विवाद बढ्दा कार्यदलको संयोजक र सदस्य सचिवको छुट्टाछुट्टै प्रतिवेदन देखिएको हो ।

प्रक्षेपण राष्ट्रयि दैनकिबाट साभार ।