बैंकले स्थानीय बासिन्दाहरूलाई डिजिटल कारोबार कसरी सुरक्षित हुन्छ र यसले कसरी जुनसुकै बेला सामान किन्न वा पैसा पठाउन मद्दत गर्छ भनेर प्रत्यक्ष सिकाउनुपर्छ ।
देशका ७५३ वटा स्थानीय तहहरूमध्ये अन्तिममा खुलेको बैंक शाखा हो, साईपाल गाउँपालिकामा । जहाँ एभरेस्ट बैंक लिमिटेडको साईपाल शाखा छ । ‘साईपाल’ बझाङ जिल्लाको एकदमै दुर्गम हिमाली गाउँपालिका हो । यस्तो दुर्गम ठाउँमा बैंकका कर्मचारीलाई एकदमै चिन्ता हुने विषयमध्ये एउटा विषय हो ‘नगद व्यवस्थापन’ । यसअघि मैले बझाङकै सुर्मा र तलकोट शाखा तथा हाल साईपाल शाखामा काम गर्दा नगद व्यवस्थापन र सेवाग्राहीको मनोविज्ञानसँग जोडिएको अनौठो कुरा महसूस गरेको छु ।
सुरूमा बुझौँ – नगद भनेको के हो ? नगद भनेको तुरुन्तै प्रयोग गर्न सकिने भौतिक मुद्रा हो, यो आर्थिक कारोबारमा भुक्तानीको सबैभन्दा तरल रूप हो, जसलाई विना कुनै शर्त र विना कुनै ढिलाइ तत्काल स्वीकार गरिन्छ । यसका मुख्य विशेषता हुन् :
१) सर्वस्वीकार्य विनिमयको माध्यम : यो वस्तु वा सेवा खरिद गर्दा वा ऋण चुक्ता गर्दा कानुनी रूपमा स्वतः मान्य हुने माध्यम हो ।
२) शून्य रूपान्तरण र हस्तान्तरण लागत : बैंक जम्मा वा चेकलाई पैसामा बदल्न समय वा शुल्क लाग्न सक्छ । तर नगदलाई कुनै पनि माध्यममा रूपान्तरण गरिरहनु पर्दैन ।
३) तरलताको उच्चतम रूप : वित्तीय प्रणालीमा यसलाई ‘तरलता’को राजा मानिन्छ, किनकि यसको क्रयशक्ति तत्कालै प्रयोग गर्न सकिन्छ ।
दुर्गम बैंक शाखामा नगद व्यवस्थापनका चुनौतीहरू
१) भौगोलिक तथा ढुवानीसँग सम्बन्धित चुनौती : दुर्गम क्षेत्रका अधिकांश सडकहरू कच्ची र जोखिमपूर्ण हुन्छन् । मनसुनको समयमा बाढी, पहिरो वा हिउँदमा हिमपातका कारण हप्ता दिनसम्म सडक अवरुद्ध हुँदा समयमै नगद ढुवानी गर्न असम्भव प्रायः हुन्छ । सुरक्षित गाडी र सुरक्षाकर्मीसहित लामो दूरी पार गरेर नगद लैजाँदा सुरक्षा र बिमा खर्च अत्यधिक उच्च हुन्छ । कतिपय अवस्थामा हेलिकप्टरबाट समेत नगद ढुवानी गर्नुपर्ने हुन्छ, जसले बैंकको सञ्चालन खर्च ह्वात्तै बढाउँछ । एकान्त र जंगलको बाटो हुँदै ठूलो परिमाणमा भौतिक नगद ओसारपसार गर्दा डकैती वा चोरी हुने उच्च जोखिम रहन्छ ।
२) पूर्वाधार र प्राविधिक चुनौती : दूरदराजमा नेटवर्क बारम्बार अवरुद्ध हुने गर्दछ । कोर बैंकिङ प्रणाली केन्द्रीय सर्भरसँग नजोडिँदा ‘रियल–टाइम’ नगदको हिसाब मिलान गर्न कठिन हुन्छ । केन्द्रीय प्रसारण लाइन नपुगेका वा नियमित बत्ती जाने ठाउँमा सोलार वा ब्याकअप प्रणालीले लामो समय धान्न सक्दैन । विद्युत् अभावमा बैंकिङ प्रणाली अवरुद्ध हुने सम्भावना रहन्छ । दुर्गमका कतिपय शाखा भवनहरू कमजोर संरचनामा हुन्छन् । त्यहाँ आधुनिक, अग्निप्रतिरोधी र सुरक्षित ढुकुटी कक्ष निर्माण गर्न भौतिक र प्राविधिक कठिनाइ हुन्छ ।
३) माग र आपूर्तिको पूर्वानुमानमा अनिश्चितता : दुर्गमका शाखाहरूमा नगदको माग सधैँ एकनास हुँदैन । सरकारी बजेट निकासा हुने समय, ज्येष्ठ नागरिक र सामाजिक सुरक्षा भत्ता वितरण हुने दिन, सरकारी कर्मचारीको तलब आउने समय, तथा दसैँतिहार जस्ता ठूला चाडपर्वमा अचानक नगदको माग अत्यधिक बढ्छ । सुगम क्षेत्रमा पैसा जम्मा गर्ने र झिक्ने क्रम सन्तुलित हुन्छ । तर दुर्गममा व्यापारिक गतिविधि कम हुने र विप्रेषण वा भत्ता थाप्ने ग्राहक मात्र बढी हुने भएकाले पैसा झिक्ने मात्र धेरै हुन्छन्, जम्मा गर्ने नगन्य हुन्छन् । यसले गर्दा शाखामा नगदको आगमन कम हुन्छ र बहिर्गमन मात्र बढी हुन्छ । नियामकीय व्यवस्थाअनुसार प्रत्येक शाखाले एउटा निश्चित रकमभन्दा बढी नगद राख्न पाउँदैनन् । माग धेरै हुने तर नियमका कारण धेरै पैसा राख्न नपाउने हुँदा व्यवस्थापन सधैँ चेपुवामा पर्छ ।
४) सीमित जनशक्ति : दुर्गम शाखामा प्रायः थोरै कर्मचारी (कहिलेकाहीँ ३–४ जना मात्र) खटाइएका हुन्छन् । क्यास विभाग हेर्ने कर्मचारी बिरामी पर्दा वा बिदामा बस्दा ब्याकअप जनशक्ति अभाव हुने सम्भावना रहन्छ ।
दुर्गमका बैंकमा अनौठो प्रवृत्ति
दुर्गम शाखाहरूमा सामान्यतया नगद आउनेभन्दा बहिरिने प्रवृत्ति बढी हुन्छ । आधुनिक बैंकिङ जगत् डिजिटल रूपान्तरण र वित्तीय प्रविधिको द्रूत विकासबाट गुज्रिरहेको छ । डिजिटल बैंकिङ र क्युआर कोड भुक्तानीले सहरी क्षेत्रमा भौतिक नगदको प्रयोगलाई निकै घटाएको छ । तथापि नेपालजस्तो भौगोलिक विकटता, सीमित प्राविधिक पूर्वाधार र साक्षरताको कमी भएको मुलुकमा ग्रामीण तथा दूरदराजका शाखाहरूमा वित्तीय कारोबारको मुख्य आधार अझै पनि भौतिक नगद नै हो । दूरदराजका शाखाहरूमा नगद व्यवस्थापन बैंकको दैनिक कार्यसञ्चालनको सबैभन्दा संवेदनशील हिस्सा हो । यी क्षेत्रहरूमा नोटकोषबाट सहजै नगद आपूर्ति गर्न सकिँदैन, त्यसैले नगद बाहिरिने प्रवृत्तिलाई कम कसरी गर्ने भनेर सोच्नुपर्ने हुन्छ ।
तर जब बैंकले सम्भावित नगद संकटबाट बच्नका लागि नगद भुक्तानीमा कडाइ गर्छ वा नगद झिक्न पाउने सीमालाई सानो बनाउन खोज्छ, तब नगद जोगिनुको साटो झनै तीव्र गतिमा सकिन्छ । नगद झिक्न पाउने सीमा घटाउँदा नगद बढी समय टिक्नुपर्ने हो । तर पहिलेभन्दा झनै छिटो सकिन्छ । यो अनौठो प्रवृत्ति कसरी भयो ? यस पछाडिको मनोविज्ञानले कसरी काम गर्छ ? यस्तो अस्वाभाविक व्यवहार र अनौठो प्रवृत्तिको मनन् गर्नुपर्छ ।
यस्तो अस्वाभाविक व्यवहारलाई गणितीय र व्यावहारिक रूपमा बुझ्नका लागि नेपालको एक हिमाली जिल्लाको काल्पनिक तर वास्तविक धरातलमा आधारित उदाहरण हेरौँ । दुर्गम शाखाको कुल ढुकुटी मौज्दात ६० लाख, दैनिक सामान्य नगद माग १५ लाख, दैनिक नगद झिक्ने ग्राहक संख्या औसत ३० जना (प्रतिव्यक्ति औसत भुक्तानी ५० हजार रुपैयाँ), कुल नगद बहिर्गमन १५ लाख, मानौ ५ लाख जति नगद जम्मा पनि हुन्छ । यसरी खुद नगद बहिर्गमन दैनिक १० लाख हुन्छ । नगद आपूर्ति चक्र सामान्यतया ६० लाखले शाखालाई ६ कार्यदिन सहजै पुग्छ । ७औँ दिनमा नयाँ नगद ढुवानी भएर आउँछ ।
समस्याको उत्पत्ति
भारी वर्षाका कारण बाटो अवरुद्ध भयो । शाखालाई जानकारी भयो कि नयाँ नगद आउन अब कम्तीमा १० दिन लाग्नेछ । शाखासँग केवल ६० लाख रुपैयाँ छ । तर चलाउनुपर्नेछ १० दिन । झट्ट हेर्दा नगद बचाउनका लागि नगद झिक्न पाउने सीमालाई घटाउनुपर्नेबाहेक उपाय छैन । नगद कम भएपछि बैंकको स्वाभाविक सूचना ! ‘विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि प्रतिखाता दैनिक अधिकतम ३० हजार रुपैयाँ मात्र नगद भुक्तानी गरिनेछ ।’ सूचनाको उद्देश्य नगद बाहिरिने प्रवृत्तिलाई बचाउनु थियो तर यसको ठीक विपरीत हुन्छ । २ दिनमै नगद समाप्त हुन्छ ।
कसरी ? विरोधाभास परिणाम । यदि शाखाले त्यो सूचना नटाँसेको र भुक्तानीमा कडाइ नगरेको भए दैनिक १० लाखका दरले ६० लाख रुपैयाँले ६ दिनसम्म बजारको माग धान्न सक्थ्यो । यसबिचमा नगद मगाउने विकल्प हुन्थ्यो । तर नगद जोगाउन गरिएको कडाइको प्रयासले गर्दा सोही ६० लाख रुपैयाँ ६ दिनको साटो मात्र २ दिनमा पूर्णरूपमा समाप्त हुन्छ । बैंकले बचतकर्तालाई मागेको बखत तुरुन्तै दिने भनेर नै खातामा पैसा जम्मा गर्न लगाएको हुन्छ । सीमा तोक्ने कुराले कहिलेकाहीँ सेवाग्राहीलाई साँच्चिकै समस्यामा पनि पार्न सक्छ । तर विकल्प दिएर मात्र सीमा तोकेको हुन्छ । जस्तैः सोही बैंकको खातामा ट्रान्सफर गर्ने, अर्को बैंकमा आईपीएस गरिदिने लगायत अरू विकल्प । तर नगद नै हातमा नपर्दा बैंकले आफूले भनेअनुसार नगरिदिएको हो भन्ने लाग्न सक्छ, जसले सेवाग्राहीको सन्तुष्टिको तहलाई कम गर्न सक्छ ।
उदाहरणका लागि बैंकमा नगद घटेर १० लाख पुग्न लागेपछि कुनै सेवाग्राही ४ लाख झिक्न आउनुभयो, यस्तो अवस्थामा बैंकले स्वाभाविक रूपमा ट्रान्सफर गरिदिने (अन्तर बैंक समेत) विकल्प दिएर थोरै नगद झिक्नका लागि अनुरोध गर्छ ।
ग्राहक : ‘मैले अस्ति भर्खर जम्मा गरेको ९ लाख रुपैयाँ कता गयो त ?’
बैंक : ‘त्यो त अरू नै कसैले भुक्तानी लगे नि सर ।’
ग्राहक : ‘मेरो पैसा अरूले लगे ? किन ? अब के हुन्छ मेरो पैसा ?’
बैंक : ‘चिन्ता नगर्नुस्, तपाईंले भनेको खातामा हामी सजिलै ट्रान्सफर गरिदिन्छौँ, तपाईंलाई केही समस्या पर्दैन, ढुक्क हुनुस् ।’
ग्राहक : ‘त्यो कुरा छाड्नुस्, मेरो जम्मा गरेको पैसा कता गयो ? अरूले कसरी लग्यो ?’
बैंक : ‘तपाईंको खातामा पूरै पैसा छ, कतै गएको छैन ।’
ग्राहक : ‘त्यसो भए दिनुस् न त नगदै !’
बैंक : ‘अहिले नगद अलि कम छ, नगदै चाहिने भए केहीबेर पर्खिनुपर्छ वा ट्रान्सफरको विकल्प अहिल्यै गरिदिन्छौँ । तपाईंले आखिर कसैलाई दिनु नै पर्ने त हो, बैंकबाटै सोझै पठाइदिन्छौँ ।’
ग्राहक : ‘हुँदैन, मलाई नगदै चाहिन्छ !’
बैंक : ‘नगद त अहिले कम छ, केहीबेर पर्खिनुपर्ने भयो ।’
ग्राहक : ‘अनि मेरो पैसा कता गयो त ? नगद छैन पनि भन्नुहुन्छ, मेरो पैसा केही भएको छैन सबै ठीक छ पनि भन्नुहुन्छ, के अचम्म हो !’
अब बैंकले कसरी काम गर्छ भनेर पूरै बुझाउनुपर्ने अवस्था आयो । खासमा यसअघि नगद झिक्न पाउने सीमा नघटाएको भए यति चाडो नगद सकिने नै थिएन, नगद बचाउने प्रयास नै नगद सकिने प्रमुख कारण बन्न पुग्छ । अहिलेको जमानामा नगद खासै ठूलो समस्या होइन, यसको विकल्प खोज्न सकिन्छ भनेर बुझाउन सकिएन ।
वास्तममा यस्तो किन हुन्छ ?
क) कोब्रा इफेक्ट (उल्टो परिणामको सिद्धान्त) : ‘कोब्रा इफेक्ट’ व्यवहारवादी अर्थशास्त्र र सार्वजनिक नीति निर्माणमा ‘विकृत प्रोत्साहन’को सबैभन्दा चर्चित उदाहरण हो । यो एउटा यस्तो अवस्था हो, जहाँ कुनै समस्या समाधान गर्नका लागि चालिएको कदम वा बनाइएको नियमले उल्टै समस्यालाई पहिलेभन्दा कैयौँ गुणा बढी विकराल र घातक बनाइदिन्छ । ऐतिहासिक रूपमा यो घटना भारतमा ब्रिटिश शासनकालमा घटेको थियो । दिल्लीमा कोब्रा सर्पको संख्या अत्यधिक बढेपछि बेलायती सरकारले एउटा नीति ल्यायो, ‘जसले मृत कोब्राको छाला लिएर आउँछ, उसलाई नगद पुरस्कार दिइनेछ ।’ सरकारको उद्देश्य थियो कि पुरस्कारको लोभमा मानिसहरूले सर्प मार्नेछन् र कोब्राको संख्या घट्नेछ भन्ने थियो । तर मानिसहरूले एउटा अर्कै जुक्ति निकाले । उनीहरूले पुरस्कार थाप्नका लागि घरघरमै व्यावसायिक रूपमा कोब्रा पाल्न सुरु गरे । जब सरकारले यो चाल पायो, उसले पुरस्कार दिने नीति तुरुन्तै बन्द गरिदियो । नीति बन्द भएपछि मानिसहरूका लागि घरमा पालिएका कोब्राहरू काम नलाग्ने भए र उनीहरूले ती सबै सर्पहरू खुला छोडिदिए । नतिजास्वरूप दिल्लीमा कोब्राको संख्या पहिलेको भन्दा कैयौँ गुणा बढी भयो ।
ख) साइकोलोजिकल रियाक्टेन्स थ्योरी (प्रतिरोधात्मक मनोविज्ञान) : मनोवैज्ञानिक ज्याक ब्रेहमका अनुसार जब मानिसहरूलाई आफ्नो स्वतन्त्रता, अधिकार वा विकल्पहरू खोसिएको वा सीमित गरिएको महसूस हुन्छ, तब उनीहरूको मस्तिष्कमा एउटा तीव्र असन्तुष्टि पैदा हुन्छ । त्यो गुमेको स्वतन्त्रता फिर्ता पाउनका लागि उनीहरूले नियतवश त्यही प्रतिबन्धित कार्य झनै बढी गर्न थाल्छन् । यसलाई बैंकिङ सन्दर्भमा हेर्दा जब आफ्नै खाताको पैसा झिक्न सीमा तोकिनुलाई ग्राहकहरूले आफ्नो वित्तीय स्वतन्त्रतामाथिको प्रहारका रूपमा लिन्छन् । यही मनोविज्ञानका कारण उनीहरूलाई पैसाको आवश्यकता परेर होइन, बल्कि ‘मेरो पैसामा मेरो अधिकार छ’ भन्ने कुरा प्रमाणित गर्नका लागि पनि अधिकतम सीमा बराबरकै रकम झिक्न लाइनमा बस्छन् ।
दुर्गम शाखामा नगद व्यवस्थापनमा परेको असर
माथिका २ सिद्धान्तलाई दूरदराजको बैंकिङमा हुबहुँ लागू गरेर हेर्न सकिन्छ । नगद सकिन लागेको र झिक्न पाउने सीमा घटाउँदा ५० हजार आवश्यक परेको ग्राहकले समेत भोलि झिक्न नमिल्ने पो हो कि भनेर १ लाख झिक्ने सम्भावना रहन्छ । यदि बैंकले ५० हजार सीमा तोकेको रहेछ भने पनि २ वटा खातामा ५० हजार रकमान्तर गरेर झिक्ने उपाय सजिलै भेटिन्छ । त्यसरी नगद बचाउन गरिएको प्रयास नै नगद सकाउने प्रमुख कारण बन्न जान्छ ।
समाधानका उपायहरू
दूरदराजका शाखाहरूमा यस्तो अस्वाभाविक व्यवहार उत्पन्न हुन नदिन र यदि उत्पन्न भइहालेमा त्यसलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्न बैंक व्यवस्थापनले बहुआयामिक रणनीतिहरू अपनाउनुपर्छ :
क) नकारात्मक सूचना प्रणालीमा रोक : कहिल्यै पनि शाखामा ‘नगदको सीमा तोकिएको’ वा ‘नगद अभाव भएको’ प्रत्यक्ष सूचना टाँस्नु हुँदैन । यसले सिधै उपभोक्ताको विश्वासमा प्रहार गर्छ । नगद अभाव रहेको कुरा कसै गरी पनि ग्राहकसँग पुग्न दिनु हुँदैन । जब ग्राहकले ‘बैंकसँग पैसा छ’ भन्ने सन्देश पाउँछ र उसको डर स्वतः शान्त हुन्छ ।
ख) डिजिटल साक्षरता र वैकल्पिक माध्यमको प्रवद्र्धन : दुर्गम क्षेत्रका सर्वसाधारण, स्थानीय व्यापारी, औषधि पसल, विद्यालय र खाद्यान्न डिपोहरूमा डिजिटल भुक्तानीमा जोड दिनुपर्छ । नगद विना पनि भुक्तानी सम्भव छ भनेर बुझाउन प्रयास गर्नुपर्छ ।
निष्कर्ष : साक्षरता र विश्वास अभिवृद्धि
दुर्गम क्षेत्रको नगद व्यवस्थापन केवल गणितीय हिसाब वा सुगम क्षेत्रको जस्तो नियमनबाट सम्भव छैन । जब बैंकले जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगद भुक्तानीमा कडाइ गर्छ, तब ग्राहकको मनोवैज्ञानिक डरले गर्दा नगद झनै छिटो सकिने अस्वाभाविक व्यवहार देखापर्छ । यो समस्याको वास्तविक समाधान भौतिक प्रतिबन्धमा होइन, बल्कि ग्राहकको विश्वास जित्नुमा, प्रविधिको सही सदुपयोग गर्नुमा र अदृश्य तर प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नुमा छ । प्रविधिको प्रयोग बढाउनु पनि विश्वास जित्ने एउटा उत्तम माध्यम हो । दुर्गम क्षेत्रमा अझै पनि हातमा आउने भौतिक नोट (कागजी पैसा) लाई मात्र वास्तविक सम्पत्ति मान्ने ग्राहकको संख्या ठूलो छ । मोबाइल बैंकिङ वा डिजिटल वालेटमा भएको अंकलाई विश्वास गर्ने अवस्था बिस्तारै बढ्दैछ ।
बैंकले स्थानीय बासिन्दाहरूलाई डिजिटल कारोबार कसरी सुरक्षित हुन्छ र यसले कसरी जुनसुकै बेला सामान किन्न वा पैसा पठाउन मद्दत गर्छ भनेर प्रत्यक्ष सिकाउनुपर्छ । जब ग्राहक आफैंले डिजिटल माध्यमबाट ढुक्कसँग कारोबार गर्न सक्छन् र उनीहरूको पैसा गायब हुँदैन भन्ने कुरामा विश्वस्त हुन्छन्, तब उनीहरूको भौतिक नगदमाथिको निर्भरता आफैं घटेर जान्छ । दुर्गम क्षेत्रमा आवश्यक नगद मौज्दात घटाउन विश्वासको मौज्दात बढाउन आवश्यक छ । ग्राहकको मनमा बैंकप्रतिको विश्वास जति प्रगाढ हुन्छ, बजारमा नगदको माग र आपूर्ति त्यति नै सन्तुलित हुन्छ । (लेखक अवस्थी एभरेस्ट बैंक लिमिटेडको साईपाल शाखामा विगत २ वर्षदेखि कार्यरत छन् ।)



































