काठमाडौं । सरकारले सात दशक पुरानो प्रहरी ऐनलाई विस्थापन गरी नयाँ प्रहरी विधेयक ल्याउने तयारी गरेको छ । गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई व्यावसायिक र आधुनिक बनाउन कानुनी तथा संरचनागत सुधार अघि बढाइएको बताए ।
७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री सुधन गुरुङले प्रहरीको सरुवा–बढुवालाई प्रणालीगत बनाउने, सेवा अवधिसम्बन्धी व्यवस्थामा समयानुकूल परिमार्जन गर्ने र हाकिमलाई रिझाएर अवसर लिने प्रवृत्ति अन्त्य गर्ने बताए ।‘नेपाल प्रहरीलाई आधुनिक, सक्षम र व्यावसायिक बनाउन नयाँ प्रहरी विधेयक, सेवा सुविधामा सुधार, निष्पक्ष सरुवा–बढुवा तथा प्रविधिमा लगानीलाई सरकारले प्राथमिकता दिएको छ,’ उनले भने ।
गृहमन्त्री गुरुङले संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत प्रहरीमा आवश्यक दरबन्दी थप गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिए । अपराध अनुसन्धानलाई वैज्ञानिक बनाउन कृत्रिम बौद्धिकता एआई, डिजिटल फरेन्सिक, साइबर अनुसन्धान र डीएनए प्रोफाइलिङजस्ता प्रविधिमा लगानी बढाउने सरकारको प्राथमिकता रहेको उनले बताए ।‘



































