चीन–रुसको साझा अडान : बाह्य हस्तक्षेपविरुद्ध एकअर्काको सुरक्षा र सार्वभौमसत्तामा समर्थनचीन–रुसको साझा अडान : बाह्य हस्तक्षेपविरुद्ध एकअर्काको सुरक्षा र सार्वभौमसत्तामा समर्थन

बेइजिङ । चीन र रुसले युरेसिया क्षेत्रमा शान्ति तथा स्थिरता कायम राख्न बाह्य हस्तक्षेपको विरोध गर्दै एकअर्काको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् ।

रुस भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्री ली छ्याङले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेपछि दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार संयुक्त वक्तव्यमा दुवै देशले युरेसिया महाद्वीपको स्थिरता कमजोर पार्ने गतिविधिमा बाह्य हस्तक्षेपलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरेका छन् । युरेसियाली एकताको प्रक्रियामा अवरोध पुर्‍याउने उद्देश्यले बल प्रयोग गर्ने वा बाह्य दबाब सिर्जना गर्ने कार्यको दुवै पक्षले कडा विरोध गर्ने जनाएका छन् ।

वक्तव्यमा चीन र रुसले एकअर्काका मुख्य हित तथा महत्त्वपूर्ण सरोकारसँग सम्बन्धित विषयमा निरन्तर समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

चीनले रुसको राष्ट्रिय सुरक्षा, स्थिरता, राष्ट्रिय एकता, विकास, समृद्धि, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने प्रयासलाई समर्थन गर्ने जनाएको छ । साथै, रुसको आन्तरिक मामिलामा बाह्य शक्तिबाट हुने हस्तक्षेपप्रति पनि चीनले असहमति जनाएको छ ।

यसैबीच, संयुक्त वक्तव्यमा रुसी राष्ट्रपति पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन सक्ने सम्भावित त्रिपक्षीय भेटवार्ताबारे भने कुनै उल्लेख गरिएको छैन ।

क्रेमलिनका सहयोगी युरी उशाकोभले बुधबार पत्रकारहरूसँग चीन, रुस र अमेरिकाका नेताहरूबीच सम्भावित पहिलो बैठकको तयारी भइरहेको बताएका थिए । उनका अनुसार आगामी महिना चीनको सेन्जेनमा आयोजना हुने एसिया–प्रशान्त शिखर सम्मेलनका अवसरमा उक्त बैठक गराउने उद्देश्य राखिएको छ ।

चीन र रुसको पछिल्लो संयुक्त वक्तव्यले क्षेत्रीय स्थिरता, राष्ट्रिय सार्वभौमसत्ता र बाह्य हस्तक्षेपसम्बन्धी विषयमा दुवै देशबीचको साझा धारणा पुनः उजागर गरेको छ ।