काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ ।
बुधबार (कात्तिक १९) काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक समारोहमा विभिन्न १० दल/समूहले एकताको घोषणा गरेका हुन् । एकता घोषणासँगै २३ बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ ।
उक्त प्रतिबद्धताको पहिलो बुँदामा “नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न दृढतापूर्वक लागिरहने“ उल्लेख छ । त्यस्तै राष्ट्र र जनताप्रति इमानदार भएर काम गर्ने, लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहने एवं राज्यका सबै अंगहरूमा आवश्यक सुधार एवम् पुनर्संरचना गर्न अग्रसर हुने पनि प्रतिबद्धता जनाइएको छ । नवगठित पार्टीले उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीहरूलाई कारबाही गराउन प्रभावकारी पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
प्रतिबद्धतामा जेनजी पुस्ताका मुद्दा र आकांक्षा संबोधन गर्न प्रतिबद्ध रहनेदेखि जनताको सुख–दुःखमा जोडिनेसम्मका विषय समेटिएका छन् । त्यस्तै, कम्युनिस्ट आचरण, अनुशासन र नैतिकताको कडाइका साथ पालना गर्ने तथा सादा एवम् सरल जीवनशैली र पारदर्शी कार्यशैली अवलम्बन गर्ने प्रतिबद्धता पनि नवगठित पार्टीले जनाएको छ ।
उक्त पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकढिक्का भएर देशका अघि देखिएका चुनौतीको सामाना गर्न सक्ने विश्वास पैदा भएको बताए । “आजको दिन नेपाली कम्युनिस्ट इतिहासमा कहिल्यै नबिर्सिने दिन हुनेछ । किनकि एकैसाथ १० वटा घटकको एकता भएको सम्भवतः इतिहास नेपालमा छैन । दुईवटा, तीनवटा मिल्ने त भयो होला,” उनले भने । उनले एकता अभूतपूर्व, असाधारण रहेको बताए ।
उनले एकताको पछाडि जेनजी आन्दोलनको भूमिका रहेको पनि बताए । पार्टीका सह–संयोजक माधवकुमार नेपालले जेनजीलाई हातेमालोका लागि आह्वान गरेका छन् । उनले बिहान मात्रै आफूले जेनजीको वार्तामा रहेकालाई पार्टीमा भित्र्याएको सुनाए । अरुलाई पनि पार्टीमा आउन आग्रह गरे, “आउनुस् हामीसँग हातेमालो गर्दै अघि बढ्नुहोस् । सुशासनको पक्षमा होस्, भष्ट्राचारको विरुद्धको अभियानमा होस् । जनताको जीवनमा रुपान्तरणको कुरामा होस् ।” समाजमा रहेका विकृति, विसंगतिविरुद्ध जुध्ने कुरामा हात मिलाएर अघि बढ्न तयार रहेको बताए । सामाजिक अभियन्तालाई हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।
बुधबार १० पार्टी/समूहबीच एकता घोषणा भएको हो । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी) लगायत वाम पार्टीबीच एकता घोषणा भयो । पार्टी एकताका लागि दलहरूबीच ९ बुँदे सहमति भएको छ । पार्टीको केन्द्रीय संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाललाई चयन गरिएको छ । घोषणा सभामा पार्टी एकतामा आएका दलका सबै नेता तथा कार्यकर्ता ’नेपाली कम्युनिस्ट पार्टी’को हुने र पार्टीको चुनाव चिह्न पाँचकुने तारा रहने प्रस्तावलाई सवै दलका नेताहरूले अनुमोदन गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ ।
आगामी ६ महिनाभित्र एकीकृत पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ । एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने बताइएको छ ।
नेता वामदेव गौतमले समाजवाद निर्माणमा प्रवेश नगरेकाले नै जेनजी आन्दोलन भएको बताएका छन् । “समाजवाद निर्माणमा प्रवेश नगरेकाले जेनजी आयो । समाजवादी क्रान्ति मात्रै भनेर हुँदैन । कस्तो किसिमको क्रान्ति स्पष्ट भन्नुपर्छ । तबमात्र कमरेडहरूलाई काँधमा बोकेर हिँड्न सक्छु,” उनले भने । संविधानमा लेखिएको लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवाद लागु गर्नुपर्ने उनको भनाइ छ । गौतमले समाजवाद झोलामा मात्रै बोकेर हिँडेर नहुने बताए । उत्पादनमा आधारित कम्युनिस्ट पार्टी निर्माण हुनुपर्ने बताए । गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए । नेता नारायणकाजी श्रेष्ठले नेपाल समाजवादी क्रान्तिको चरण रहेको बताएका छन् ।
“वैज्ञानिक विशेषतासहितको समाजवादका लागि हामीले पार्टी एकता गरेका हौँ भनेर संकल्प गर्नुपरेको छ, प्रतिबद्धता व्यक्त गर्नुपरेको छ,“ उनले भने, “वैज्ञानिक विशेषतासहितको समाजवादका लागि रणनीति पूरा गर्न मूल कार्यनीति पूरा गर्दै अगाडि बढ्नुपर्नेछ ।” सामाजिक न्यायसहितको समृद्धि, समाजवादउन्मुख समृद्धि नै मूल कार्यनीति रहेको उनको भनाइ छ । नेपालमा ऐतिहासिक युगान्तकारी राजनीतिक परिवर्तन भएको भन्दै श्रेष्ठले अहिलेको अपेक्षा सामाजिक, आर्थिक रुपान्तरण भएको बताए ।
उनले भने, “विकास र समृद्धि तीव्र रूपमा अगाडि बढोस्, फड्को मारोस्, जनताको जीवनस्तरले नयाँ जीवन प्राप्त गरोस् यस प्रकारले सामाजिक, आर्थिक रुपान्तरण, विकास र समृद्धि हाम्रो अलिहेको मूल कार्यनीति हो । त्यसरी मात्रै समाजवादको आधार तयार हुन्छ ।” उनले अहिलेको पार्टीको कार्यनीति घोषित मितिमा निर्वाचन सम्पन्न होस् भन्ने रहुनुपर्ने बताए । घोषित मितिमा निर्वाचन सम्पन्न हुन नसके देशमा अझ संकट निम्तिने उनको भनाइ छ । यसका लागि सरकारले दृढता प्रकट गर्नुपर्ने उनको भनाइ छ । उनले ’जेनजी आन्दोलन’ले उठाएको चेतना ग्रहण गर्दै रुपान्तरणसहितको एकीकृत पार्टी आवश्यक रहेको बताए ।
प्रक्षेपण दैनिकदेखि साभार।




































