बङ्गलादेशमा आन्दोलनको बेला लुटिएका हतियार चुनावअघि फिर्ता गर्नेलाई पुरस्कार

ढाका । बङ्गलादेशले महत्वपूर्ण चुनावअघि सयौँं हतियार सङ्कलन गर्ने आशामा गत वर्ष विद्रोहको क्रममा लुटिएका मेसिन गन, राइफल र पेस्तोलसहित आत्मसमर्पण गर्न बुधबार आग्रह गरेको छ। यसरी प्रशासनलाई हतियार बुझाउनेलाई नगद पुरस्कारको घोषणासमेत सरकारले गरेको छ ।

सन् २०२४ को अगस्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको कट्टरपन्थी शासनलाई अपदस्थ गर्ने घातक अशान्तिका क्रममा प्रहरी शस्त्रागारबाट अनुमानित छ हजार बन्दुक चोरी भएको थियो ।

प्रहरी प्रवक्ता एएचएम शहादत हुसेनले अझै एक हजार ३०० भन्दा बढी हतियार हराइरहेको जानकारी दिए । सरकारले निर्वाचनमा लुटिएका हतियारको गलत प्रयोग नहोस भनी यो कदम अघि सारेको हो ।

प्रहरीले हराइरहेका हतियारमध्ये एउटा हलका मेसिन गन फिर्ता गर्नेलाई चार हजार डलर, असॉल्ट राइफलको लागि ८०० डलर र शटगन वा पेस्तोलका लागि ४०० सम्म पुरस्कारको व्यवस्था गरेको छ भने गोला बारुदको लागि पनि उचित नगद भुक्तानी गरिन जनाएको छ। “बङ्गलादेश प्रहरीले हतियार लिएर आत्मसमर्पण गर्नेका लागि पूर्ण गोपनीयताको सुनिश्चितता गरेको छ,” हुसेनले भने ।

गत वर्ष हसिना निर्वासनमा गएपछि बङ्गलादेशमा राजनीतिक उथलपुथल चलिरहेको छ र सन् २०२६ को फेब्रुअरीमा हुने निर्वाचनअघि राजनीतिक दलहरू सत्ताका लागि होडबाजी गरिरहेका छन् ।

ढाकास्थित अधिकारवादी समूह ओधिकरका अनुसार विद्रोहपछि राजनीतिक हिंसामा करिब ३०० जनाको मृत्यु भएको र विभिन्न प्रदर्शन र झडपजन्य हिंसामा १५० भन्दा बढीको मृत्यु भएको छ। यसैबीच, अन्वेषकहरूले अक्टोबर १८ मा देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवन परिसरमा भएको विनाशकारी आगलागीको अनुसन्धान जारी रहेको छ ।

बिमान बङ्गलादेश एयरलाइन्सका एक वरिष्ठ अधिकारी बुशरा इस्लामले एएफपीलाई बताएअनुसार एक टोलीले आगजनीपछि कार्गो भवनको हतियारसाथै सुन र हिराजस्ता बहुमूल्य वस्तुहरू भण्डारण गर्न प्रयोग गरिने सुरक्षित कोठाकोे भल्टको भाँचिएको ताला फेला पारेको छ ।

इस्लामले भने , “कति हतियार हराएको छ कि छैन भन्ने अझै लेखाजोखा सङ्कलन गर्ने काम जारी छ।” नाम नबताउने शर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले आगलागी भएपछि एक टोलीले भल्टको खोजी गरेको र केही दिनपछि भल्ट खुला अवस्थामा भेटिएको बताए ।

सरकारले विदेशी विज्ञहरूलाई आगलागीको कारण पत्ता लगाउन सहयोग गर्न आग्रह गरेको छ ।