महरालाई थुनामुक्त गर्न अदालतले लियो यस्ता आधार

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त हुने भएका छन्। भन्सार चोरी पैठारी तथा संगठित अपराधको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई २० लाख रुपैयाँ नगद धरौटी वा जमानत लिई छाड्न आदेश दिएको हो । आदेशलगत्तै महराकातर्फबाट २० लाख नगदै धरौटी बुझाइएको थियो । धरौटी रकम बुझाएपछि महरालाई केन्द्रीय कारागार सुनधाराबाट जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको थियो ।

जिल्ला अदालत काठमाडौँले उनलाई असोज २९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । असोज २६ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो । महरालाई २०८० चैत ५ गते पनि सीआईबीले कागज गराएर छाडेको थियो । तर त्यतिबेला प्रतिवादी नबनाएको सीआईबीले नै उनलाई प्रतिवादी बनाउँदै पुरक अभियोग दर्ता गरेको थियो ।

यहि अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेश नमिलेको भन्दै उच्च अदालतले बदर गरिदिएको छ । जिल्लाको आदेश बदर गरेर धरौटीमा रिहा गर्ने आदेश गर्दा उच्च अदालतले विभिन्न सात वटा आधारहरु समेत प्रस्तुत गरेको छ । अदालतले थुनामुक्त गर्न कृष्णबहादुर महराको नाम जाहेरीमा उल्लेख नभएको, मूल तथा पुरक अभियोगमा प्रतिवादी बनाइएका सहप्रतिवादीहरुले पोल गरेको नदेखिएको, चोरी पैठारी भएको भनिएको सुन जफत भई दशीको रुपमा पेश हुन सकेको नदेखिएको, मूल अभियोग तथा पुरक अभियोगमा नयाँ तथा थप प्रमाण संकलन भई दाबीमा उल्लेख हुन सकेको अवस्था समेत मिसिलबाट नदेखिएको, मूल अभियोग र पहिलो पुरक अभियोग दावी समेत उपरमा प्रमाण संकलन भइ उक्त प्रमाणहरुको विवेचना भै फैसला समेत भइसकेको, महराले अनुसन्धानका क्रममा र अदालतमा समेत दिएको वयान व्यहोरा समेतका परिप्रेक्ष्यमा तत्काल प्राप्त प्रमाणहरुका आधारमा उनलाई थुनामा नै राखि मुद्दाको पुर्पक्ष गरिरहनु पर्ने सम्मको अवस्था नदेखिएको, महरामाथिको अभियोग दाबी तथा संकलित सबुद प्रमाणहरु, प्रतिवादीको उमेर र स्वास्थ्य अवस्था समेतका परिस्थितिलाई आधार देखाएको छ ।

०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोट (भेप) मा सुन ल्याएको पाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा ल्याएको सुन भन्सारकै कर्मचारीले लगेका थिए । भन्सारले सुरुमा नियन्त्रणमा लिएपछि छुटाउनलाई चिनियाँसँग महरा बाबुछोराको मिलेमतो देखिएको प्रहरीको दाबी छ । तर पछि भन्सारकै कर्मचारीले सुन गायब गरिदिएका थिए ।

सुन गायब बनाउने भन्सारका कर्मचारीविरुद्ध सुरुमा अभियोग दायर भएको थियो । तर त्यतिबेला चिनियाँहरू भने फरार भएका थिए । दोस्रो चरणमा महराका छोरा राहुल महरासहितलाई प्रसतिवादी बनाएर पुरक अभियोग दर्ता गरिएको थियो। चिनियाँ तस्करसँग महरा छोरा राहुलको मिलेमतो देखिएको भए पनि प्रहरी र सरकारी वकिलले पहिलो चरणमा महरालाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेका थिए ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।