काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको तालिका सार्वजनिक गर्ने–नगर्ने विषयले संस्थापन समूहमै गम्भीर विभाजन सिर्जना गरेको छ ।
बिहीबार बसेको विस्तारित छलफलमा सभापति शेरबहादुर देउवाको वरिपरि रहेका नेताहरू दुई धारमा छुट्टिएपछि पार्टीभित्रको विवाद अझै लम्बिने देखिएको छ ।
छलफलमा महाधिवेशन कहिले गर्ने भन्ने मूल विषय मात्र होइन, पार्टी चलाउने शैली, नेतृत्वको प्राथमिकता तथा संगठनभित्रको असन्तुष्टि कत्तिको छ भन्ने पनि खुलासा भएको छ । पार्टीका प्रवक्तासमेत रहेका संस्थापन समूहका नेता प्रकाशशरण महतका अनुसार आजको छलफल महाधिवेशन चुनावपछि गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित थियो ।
उनका अनुसार, महाधिवेशन नियमित चक्रमै गर्ने हो भन्नेमा कुनै फरक नरहे पनि यस पटक चुनावअघि तालिका सार्वजनिक गर्ने–नगर्ने विषयमा नेताहरूबीच मतभेद गहिरो रूपमा देखा परेको छ । महतले भने, “पार्टीको महाधिवेशन नियमित नै गर्ने र चुनावपछि गर्ने मै छलफल केन्द्रित भयो,“ तर नेताहरूको तर्क फरक–फरक रहँदा निष्कर्षमा पुग्न कठिन भएको उनको संकेत थियो ।
बैठकको एक विशेष पक्ष भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको व्यवहार रह्यो । खड्का छलफलमा आफ्नो धारणा राख्दै नराखी बीचमै बैठकबाट बाहिरिएका थिए, जसले संस्थापन समूहको भित्री असमञ्जसता अझ प्रष्ट बनायो। नेताहरूले यसलाई देउवा–खड्का समन्वयमा देखिएको असहजता र आन्तरिक सन्तुलनमा बढ्दो चुनौतीको रूपमा पनि व्याख्या गरेका छन्।
छलफलमा सहभागी नेता रमेश लेखकले अहिलेसम्म भएका वार्तालाई बारेमा विस्तृत ब्रिफिङ दिए। उनका अनुसार चुनावअघि महाधिवेशनको तालिका ल्याउनुपर्ने प्रस्तावमा पनि गम्भीर छलफल भएको छ। “चुनावअघि तालिका ल्याउनुपर्छ भन्ने प्रस्तावमा पनि छलफल भयो। मैले पनि यो कुरा राखेँ,“ लेखकले भने। उनले ‘विशेष महाधिवेशन’ माग्दै आएका नेताहरूको असन्तुष्टिलाई समाधान गर्न तालिका सार्वजनिक गर्दै तिनीहरूलाई ’घर पठाउने’ रणनीतिमा सहमति जुटिरहेको बताए। “छलफलहरू सकारात्मक छन्,” उनले दाबी गरे।
लेखकको प्रस्तावलाई सहमहामन्त्री भीष्मराज आङ्देम्बे, मीन विश्वकर्मा लगायतका नेताहरूले खुलेर समर्थन गरे। उनीहरूको तर्क थियो—पार्टीको सम्पूर्ण संरचना अहिले निर्वाचन तयारीमा व्यस्त हुँदा महाधिवेशनका प्रतिनिधिहरूलाई स्थानीय स्तरमै खटाउन आवश्यक छ, जसको पूर्वसर्त महाधिवेशन प्रक्रियाबारे स्पष्ट योजना हुनु हो। “चुनाव सरे महाधिवेशन हुन्छ तर हामीले पार्टी महाधिवेशन र चुनावको तयारी एकै साथ गर्न समस्या हुन्छ,” नेता आङ्देम्बेले बैठकमा भनेका थिए। उनका अनुसार, विशेष महाधिवेशन माग्दै आएका समूहलाई ’सन्तुष्ट पार्न’ तालिका अनिवार्य देखिएको छ।
तर केही नेताहरूले तालिका ल्याउने विचारलाई ’नक्कली काम’ र ’अन्तर्यामी रणनीति’ भन्दै आलोचना गरे। उनीहरूले पार्टीभित्र वास्तविक रूपमा महाधिवेशनको तयारी नभइरहेको अवस्थामा तालिका ल्याउनु बेइमानी हुने तर्क राखे। “पार्टी अहिले कुन प्राथमिकतामा छ—चुनाव कि महाधिवेशन?—पहिले यसमा स्पष्टता हुनुपर्छ,“ एक नेताले टिप्पणी गरेका थिए।
संस्थापन पक्षकै केही वरिष्ठ नेताहरू—जसमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्ण सिटौला प्रमुख छन्—ले लोकप्रियता कमाइका लागि चुनावअघि महाधिवेशन गर्ने जस्तो देखिने तालिका ल्याउनै नहुने कडाइका साथ बताएका छन्। उनीहरूको तर्क थियो कि असल उद्देश्यभन्दा पनि ’देखावटी सुधार’ का लागि तालिका ल्याउन खोज्नु पार्टीभित्रको असन्तोष दीर्घकालीन रूपमा झनै बढाउने काम मात्र हुनेछ।
छलफलमा सहभागी नेताहरूका अनुसार नेपाली कांग्रेस अहिले दुई मुख्य धारमा स्पष्ट रूपमा बाँडिएको छ—एक समूह चुनावअघि नै महाधिवेशन घोषणा गरेर संगठनात्मक असन्तोष न्युनिकरण गर्न चाहन्छ भने अर्को समूह भने चुनावअघि यस्तो संवेदनशील निर्णयले पार्टीलाई थप अस्थिर बनाउने दाबी गर्छ। चुनावी तयारी, नेतृत्वप्रतिको असन्तुष्टि, युवा पुस्ताद्वारा उठाइएका माग, देउवा नेतृत्वको वैधता र संगठनिक पुनःसंरचनाको आवश्यकता—यी सबै पक्षले वर्तमान विवादलाई थप जटिल बनाएका छन्।
नेताहरूले आजको बैठकलाई ’निर्णायक छलफलको प्रारम्भ’ मात्र भएको जनाएका छन्। आगामी बैठकहरूमा देउवा स्वयंले थप स्पष्ट धारणा राख्ने अपेक्षा गरिएको छ। पार्टी स्रोतका अनुसार, तालिका ल्याउनु कि नल्याउनु भन्ने मुद्दा अब संस्थापन समूहभित्र नै ठूलो शक्ति–सन्तुलनको परीक्षण बन्न पुगेको छ, जसको प्रभाव आगामी निर्वाचन तयारीदेखि नेतृत्व परिवर्तनसम्म विस्तारित हुन सक्छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































