काठमाडौं । चुनावी माहोल बनाउन प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला हप्ताहरूमा राजनीतिक दलहरू तथा विभिन्न सरोकारवाला पक्षसँग लगातार संवाद र छलफललाई तीव्रता दिएकी छन् । ऐतिहासिक जेनजी विद्रोहपछि गठन भएको अन्तरिम सरकारको प्रमुख दायित्वमध्ये प्रतिनिधिसभाको निर्वाचन पनि एक हो । आगामी २१ फागुनमा तोकिएको निर्वाचनका लागि सरकार र निर्वाचन आयोगले कानुनी तथा प्राविधिक तयारी अघि बढाइरहेका भए पनि निर्धारित मितिमा चुनाव हुन सक्ने–नसक्नेबारे धेरैले आशंका व्यक्त गरिरहेका छन् ।
यस्तै प्रश्नहरूमध्ये प्रधानमन्त्री भने चुनावप्रति स्पष्ट देखिएकी छन् । उनका अनुसार तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु सरकारको पहिलो दायित्व हो र त्यसकै तयारीमा उनी केन्द्रित छिन् । प्रेस संयोजक राम रावलका अनुसार प्रधानमन्त्रीले पछिल्लो दुई हप्तामा झन्डै एक दर्जन दल तथा विभिन्न क्षेत्रका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै चुनावी वातावरण बनाउन आग्रह गरिरहेकी छन् । मंसिर महिनाबाट प्रधानमन्त्रीको भेटघाट अधिक तीव्र भएको छ । १ मंसिरमा काठमाडौँ उपत्यका मेयर्स फोरमसँग बालुवाटारमै छलफल गर्दै उनले स्थानीय तहका प्रमुखहरूलाई चुनावमा सहयोग गर्न अनुरोध गरिन् । मेयरहरूले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । उक्त दिन नै उनले नागरिक अगुवाहरूसँग संवाद गर्दै दल, सरकार र जनताबीच सेतुको भूमिका खेलिदिन आग्रह गरिन् ।
प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग छुट्टै भेटवार्ता पनि सक्रिय रूपमा गरिरहेकी छन् । २ मंसिरमा नेपाली कांग्रेसका नेताहरूसँग करिब दुई घण्टासम्म निर्वाचन तयारीबारे व्यापक छलफल भयो । पुलपुल गदैं कांग्रेस नेताहरूले पनि तोकिएको समयमा चुनाव गराउनुपर्नेमा जोड दिए । यसअघि नै उनले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग परामर्श गरिसकेकी थिइन् ।
दोस्रो ठूलो दल एमालेसँग पनि प्रधानमन्त्रीले ११ मंसिरमा अलगै छलफल गरिन् । संसद् पुनःस्थापना हुनुपर्ने मागसहित अदालतमा रिट दायर गरेको भए पनि एमाले नेताहरूले चुनावमा सहभागी हुन सकारात्मक संकेत दिएका थिए । उनीहरूले भयरहित चुनावी वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरे । त्यसै गरी ११ मंसिरमा नै उनले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेट गरिन् । ठाकुरले आफूहरू चुनावी तयारीमा रहेको र सम्भावित गठबन्धनबारे छलफल चलिरहेको बताए । ४ मंसिरमा विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मासँग भएको भेटमा पनि उनले दललाई औपचारिक रूपमा चुनावी प्रक्रियामा सहभागी हुन प्रोत्साहित गरिन् ।
प्रधानमन्त्रीले नयाँ दलहरूसँगको संवाद पनि विस्तार गरेकी छन् । सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको टोलीसँग उनले मुलुक निर्माणको प्रक्रियामा सबै दल सहभागी हुनुपर्ने बताउँदै चुनावमा प्रतिस्पर्धा गर्न आग्रह गरिन् । त्यसको भोलिपल्ट उनले नेपाल परिवार दलसँग भेट गर्दै अनावश्यक खर्च र मतदातालाई अनुचित रूपमा प्रभावित पार्ने प्रवृत्ति रोक्नुपर्ने धारणा राखिन् । संविधान र व्यवस्थाविरुद्ध कडाइका साथ आफ्नो धारणा राख्दै आएको राप्रपासँग १२ मंसिरमा भएको भेटमा प्रधानमन्त्रीले असहमतिको मुद्दाहरू जनतासामु लिएर चुनावमै जाने र जनमतबाट अनुमोदित एजेन्डा अघि बढाउने सन्देश दिइन् ।
राप्रपाले पनि निर्धारित मितिमै चुनाव हुनुपर्ने धारणा राखे पनि देशको समस्याको दीर्घकालीन समाधानका लागि सर्वपक्षीय छलफल आवश्यक पर्ने जनाएको छ । अध्यक्ष राजेन्द्र लिङदेनका अनुसार अन्तरिम सरकार केवल छिटो चुनाव गराउनका लागि होइन, देशका गम्भीर समस्याको समाधानका लागि पनि सक्रिय हुनुपर्छ । अझै बाँकी रहेका दलहरूसँग पनि प्रधानमन्त्रीले चाँडै संवाद गर्ने तयारी गरिरहेको उनको सचिवालयले जनाएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































