काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशन नियमित गर्ने गरी तालिका ल्याउने तयारी गरेको छ । आइतबार सभापति शेरबहादुर देउवाको भाडाको निवास महाराजगञ्जमा बसेको पदाधिकारी र केही नेताको छलफलले पुस २७देखि ३० गतेसम्मको तालिका ल्याउने र तत्काल प्रक्रिया सुरु गर्ने निष्कर्ष निकालेको हो ।
छलफलमा सहभागी नेता रमेश लेखकका अनुसार पुस मसान्तको तालिका ल्याउने विषयमा सहमतिनजिक पुगेको बताए । ’शनिबार मोटामोटी सहमति भइसकेकै हो । केही विषयहरू थिए त्यसमा पनि सहमतिउन्मुख छ,’ उनले भने, ’अब अधिवेशनका लागि पुसमा क्यालेन्डर निकाल्ने, महाधिवेशन तोक्ने, आवश्यक समितिहरू बनाउने, क्रियाशील सदस्यता छानबिन तथा विधान मस्यौदाको विषयमा छलफल भयो ।’ नियमित महाधिवेशन पुस महिनामा गर्दा फागुन २१ मा तय भएको प्रतिनिधि सभा निर्वाचनका कारणले कुनै असर गर्दैन भन्ने प्रश्नमा उनले जहाँ समस्या उत्पन्न हुन्छ त्यहाँ प्रक्रिया रोकेर सहमतिको लागि प्रयास थाल्ने गरी प्रक्रियाअगाडि बढाउन लागिएको बताए । ’काम द्रुतरुपमा गर्दै जाने ।
सर्वसम्मतिले समयमै सबै काम भयो भने महाधिवेशन गर्ने कुरामा समस्या भएन । केही गरी काम सकिएन, सर्वसम्मत भएन भने त्यही बेला सरसल्लाह गर्ने सहमति जुटाउने कुरा भएको छ,’उनले भने । नेपाली कांग्रेसभित्र पार्टीको नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषयले लामो समयदेखि विवाद चर्किँदो छ । खासगरी महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशन अब सम्भव नभएको भन्दै विशेष महाधिवेशनको विकल्प नभएको बताउँदै आएका छन् ।
उनीसहितको सक्रियतामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा हस्ताक्षरसमेत बुझाएका छन् । हस्ताक्षर बुझाएको ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ । विशेषको समयअवधिभित्रै नियमित महाधिवेशन सुरु गरेर विशेषको प्रस्तावलाई थाती राख्ने रणनीतिमा संस्थापन लागेको हो । सभापति शेरबहादुर देउवासहित उनको समूहका नेताहरूले भने विशेष नगरी नियमितमा जोड दिँदै आएका छन् ।
देउवा समूहकै पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलासहित नेताहरू भने वैशाखमा महाधिवेशन गर्नुपर्ने र त्यसअघि निर्वाचनको तयारीमा लाग्नुपर्ने पक्षमा छन् । असोज २८ गतेदेखि यही वरिपरि कांग्रेस केन्द्रीय समिति बैठक रुमल्लिएको छ । असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर उपचारका लागि देशबाहिर गएका देउवा एक महिनापछि फर्किँदासम्म नेताहरूले सहमति जुटाउन नसकेपछि आफैँ सहजीकरणका लागि सक्रिय भएका छन् । पछिल्लो तीन दिन लगातार देउवाले महाधिवेशन केन्द्रित रहेर नेताहरूसँग छलफल गरिरहेका छन् । नेताहरूबीच सहमति नहुँदा केन्द्रीय समिति बैठक कार्यवाहक सभापति खड्काले सार्दै आइरहेका छन् । पछिल्लोपटक सोमबारसम्मलाई बैठक सारिएको छ ।
यता सभापति देउवानिकट एक समूहले सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय समितिमा पेस गरेको महाधिवेशन तालिकालाई कार्यान्वयनमा लैजानुपर्ने निष्कर्ष निकालेको छ । आइतबार काठमाडौँको बानेश्वरस्थित सनराइज बैंक्वेटमा भएको छलफलले यादवले पेस गरेको प्रस्ताव बहुमतले पास गर्ने निर्णय गरेको हो । उता सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, शेखर कोइराला, रमेश लेखकसहितको छलफलले भने पुस मसान्तमा नियमित महाधिवेशनको तालिका ल्याउने निष्कर्ष निकालिसकेको छ । यसमा महामन्त्री थापाले भने असहमति जनाएका छन् । उक्त बैठकले कार्यवाहाक सभापति खड्का र नेता रमेश लेखकले ‘लाइनभन्दा’ बाहिर गएर राजनीति गरेको निष्कर्ष निकालेको छ ।
खड्का र लेखकले सभापति शेरबहादुर देउवालाई समेत झुक्याउन खोजेको उक्त छलफलको निष्कर्ष छ । ‘पहिलेदेखिनै कुरा उठेको थियो । उनिहरूलाई हामीले विश्वासमा लिन खोजे पनि धोका दिए भन्ने हामीले निष्कर्ष निकाल्यौँ‚’ स्रोतले भन्यो । उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनको विकल्प नभएको बताउँदै आएका छन् । तर, कांग्रेस संस्थापनकै एक समूह भने फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि महाधिवेशन गर्न नहुने र वैशाखमा महाधिवेशन गर्नुपर्ने अडानमा छ ।
’छलफलले सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गर्नु भएको प्रस्ताव केन्द्रीय समितिबाट बहुमतले पारित गर्ने निर्णय गर्नुपर्छ,’ बैठकमा सहभागी एक नेताले भने, ’कार्यवाहक सभापतिले वैशाखमा महाधिवेशन गर्ने भन्ने पक्षसँग परामर्श नगरी अर्को प्रस्ताव ल्याए त्यसको विपक्षमा उभिने निष्कर्ष पनि निकालेको छ ।’
आजको छलफलमा नेता विमलेन्द्र निधिले शनिबार सभापतिको निवासमा भएको निष्कर्षको ब्रिफिङ गरेका थिए । आजको छलफलमा निधिसहित, डा प्रकाशशरण महत, गुरु बरालसहित केन्द्रीय सदस्यहरू सहभागी थिए । गत कात्तिक १८ गते केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले पेस गरेको पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकाको काउन्टरमा सहमहामन्त्री यादवले अर्को कार्यतालिका पेस गरेका थिए । महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । थापाले अहिले यो समय घर्कीसकेको भन्दै विशेष महाधिवेशको विकल्प नभएको बताउँदै आएका छन् ।
त्यतिबेला सहमहामन्त्री यादवले थापाको प्रस्तावको काउन्टरमा आगामी वैशाख २७ देखि २९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका बैठकमा पेस गरेका थिए । थापाले पुस ५ र ६ गतेदेखि वडा, पालिका र प्रदेश अधिवेशन सुरु गरेर पुस १६ देखि १९ गतेभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका मौखिक रूपमा पेस गरेका थिए ।सहमहामन्त्री यादवले भने चैतमै वडादेखि केन्द्रसम्मको अधिवेशन सक्ने कार्यतालिका पेस गरेका थिए ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































