काठमाडौं । ‘उज्यालो नेपाल पार्टी’ नामको नयाँ राजनीतिक दलको औपचारिक घोषणा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमार्फत गरियो ।
देशका चर्चित ऊर्जा प्राविधिक एवं पूर्व नेपाल विद्युत प्राधिकरण (नेविप्रा) का कार्यकारी प्रमुख कुलमान घिसिङ मुख्य आकर्षण रहेको सो समारोहमा पार्टीले आफ्नो विस्तृत घोषणापत्र, राजनीतिक दृष्टिकोण र भविष्यका योजनासहित नयाँ दलको सांगठनिक यात्राको आरम्भ गरेको छ ।
घोषणा सभामा प्रस्तुत ‘सुशासन, समृद्धि र सामाजिक न्याय’ शीर्षकको घोषणापत्रले उज्यालो नेपाल पार्टीको मूल मूल्य, राजनीतिक विचार, आदर्श, उद्देश्य र रणनीतिक मार्गचित्रलाई स्पष्ट पाएको छ । नयाँ युगको प्रारम्भ गर्ने संकल्पसहित दल जन्मिएको उल्लेख गर्दै घोषणापत्रमा भनिएको छ,“परिणाममुखी राजनीतिक अभ्यास, पारदर्शिता, इमानदारी र उत्तरदायित्व नै पार्टीको पहिचान हुनेछ ।”
घोषणापत्रमा पार्टीले आफ्नो मूल राजनीतिक आदर्शका रूपमा नेपालको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र नागरिक सर्वोच्चतालाई स्थापित गरेको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र भएकाले नेपाली समाजको बहुलतामाथि आधारित समावेशी, सहभागितामूलक र लोककल्याणकारी राज्य प्रणाली नै पार्टीको लक्ष्य रहने उल्लेख गरिएको छ । सामाजिक न्यायमा आधारित विविधताको संरक्षण र संवद्र्धनलाई पार्टीले प्राथमिकता दिने बताएको छ । पार्टीले नागरिक स्वतन्त्रता, विधिको शासन, आवधिक निर्वाचन, बालिग मताधिकार, स्वतन्त्र न्यायपालिका, मानवअधिकार र प्रेस स्वतन्त्रता जस्ता विश्वव्यापी लोकतान्त्रिक मूल्यहरूलाई पूर्ण रूपमा आत्मसात् गर्ने प्रतिबद्धता जनाएको छ । पारदर्शिता र जवाफदेहिताका आधारमा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने प्रणालीगत संस्कार राजनीतिक अभ्यासमा स्थापित गर्ने पार्टीको प्रतिवद्धता घोषणापत्रले स्पष्ट गरेको छ । संविधानप्रतिको निष्ठा दोहोर्याउँदै घोषणापत्रमा पार्टीले लोककल्याणकारी राज्य र उदारवादी आर्थिक व्यवस्थाको संयोजनलाई आफ्नो मूल मार्गदर्शक मान्ने उल्लेख छ । राष्ट्रिय हितको सर्वोच्च संरक्षण, सुशासनमा आधारित राज्य सञ्चालन र सामाजिक न्यायसँगै प्रत्येक नागरिकको जीवनस्तर उकास्नु पार्टीको दीर्घकालीन लक्ष्य हुनेछ ।
आर्थिक दृष्टिकोणका विषयमा, उज्यालो नेपाल पार्टीले राज्य, निजी क्षेत्र, सहकारी र समुदायबीच गतिशील तथा सन्तुलित साझेदारीमा आधारित समाजवादमुखी अर्थतन्त्र निर्माण गर्ने प्रतिवद्धता जनाएको छ । स्वदेशी पुँजीको अधिकतम उपयोग र राष्ट्रिय प्राथमिकताअनुसार विदेशी लगानी आकर्षित गर्ने नीतिलाई पार्टीले अवलम्बन गर्ने बताएको छ । परराष्ट्रनीति सम्बन्धमा पनि घोषणापत्र स्पष्ट छ । नेपालको भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र सामरिक स्वायत्तता सुरक्षित राख्दै राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति निर्माण र कार्यान्वयन गर्ने उल्लेख छ । छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आपसी विश्वास, संवेदनशीलता र सहयोगमा आधारित राखेर व्यवस्थित पारस्परिक लाभको सम्बन्ध विकास गर्ने पार्टीको धारणा छ । घोषणासभामा सहभागी कुलमान घिसिङले प्रत्यक्ष राजनीतिक भूमिकाबारे केही नबताए पनि पार्टीका अधिकांश संरचना र दिशा–निर्देशनमा उहाँको प्रभाव स्पष्ट देखिएको थियो । घिसिङले विद्युत क्षेत्रको सुधार, लोडसेडिङ अन्त्य र ऊर्जा व्यापारमा देखाएको नेतृत्व नै नयाँ राजनीतिक दल निर्माणको प्रेरक शक्ति भएको चर्चा सभाभर चल्यो । घोषणापत्रले समेत सक्षम, इमानदार र परिणाममुखी व्यक्तित्वको नेतृत्वमा मात्रै देशको दीर्घकालीन रूपान्तरण सम्भव रहेको उल्लेख गर्दै ‘उत्कृष्टता नै पार्टीको कार्यसंस्कृति’ भन्ने नारा अघि सारेको छ ।
घोषणापत्रले नेपालमा लामो समयदेखि देखिएको कुशासन, भ्रष्टाचार, राजनीतिक दलहरूको आन्तरिक विघटन, वैचारिक अस्पष्टता र शासकीय अक्षमतामाथि प्रत्यक्ष प्रहार गर्दै अब वैकल्पिक, आधुनिक, पारदर्शी र तथ्याधारित राजनीतिक संरचना निर्माणको आवश्यकता अत्यावश्यक बनेको निष्कर्ष निकाल्छ । युवा पुस्ताको चेतना, ऊर्जा र नेतृत्व क्षमतामा आधारित ‘नयाँ राजनीतिक युगको सुरुआत’ गर्ने दाबी घोषणापत्रको मूल आत्मा रहेको देखिन्छ । संगठन विस्तारका विषयमा पनि घोषणापत्र पर्याप्त विस्तृत छ— पार्टीले संघदेखि वडा तहसम्म भौगोलिक, गैर–भौगोलिक र समावेशी संरचना निर्माण गर्ने बताइएको छ । योग्य, इमानदार र मूल्यप्रेरित कार्यकर्तालाई जिम्मेवारी दिने, दलीय हस्तक्षेपविहीन न्याय प्रणालीको पक्षमा उभिने, प्रशासन सुधार, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिक राजनीतिक एजेन्डा बनाउने उल्लेख छ । ‘उज्यालो नेपाल—उज्यालो भविष्य’ भन्ने मूल नारासहित पार्टीले स्वदेश–विदेशमा रहेका सबै नेपालीलाई नयाँ राजनीतिक विकल्प निर्माणमा सहभागी हुन आह्वान गरेको छ । घोषणापत्रले समृद्ध, न्यायपूर्ण र मर्यादित राज्य निर्माणका लागि राष्ट्रिय पात्रहरूको एकताको आवश्यकता औंल्याउँदै वैकल्पिक नेतृत्वका रूपमा उज्यालो नेपाल पार्टीले आफ्नो यात्रा सुरु गरेको घोषणा गर्दछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।



































