काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन निकटिँदै जाँदा पार्टीभित्रको अन्तरद्वन्द्व बाहिरिन थालेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा चुनौती दिने तयारीमा रहेका नेता ईश्वर पोखरेल नेतृत्वको समूह बिहीबार भक्तपुरको गुण्डुस्थित ओली निवासमै पुगेर निर्वाचन प्रक्रियामा देखिएका विवाद र अनियमितताबारे गम्भीर ध्यानाकर्षण गराएको छ । नेता पोखरेलसँग अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराई पनि भेटमा सहभागी थिए ।
नेता शाक्यका अनुसार टोलीले देशभर प्रतिनिधि चयनका नाममा अनेक विवाद, मनोमानी र प्रक्रिया उल्लंघन हुँदै गएको भन्दै ओलीसमक्ष समस्या समाधानका लागि हस्तक्षेप गर्न आग्रह गरेको थियो । प्रतिनिधि चयन प्रक्रिया गत शनिबार एकैसाथ देशभर सम्पन्न गर्ने एमालेको निर्णयले अनेक जिल्लामा चर्को विवाद निम्त्याएको थियो । दाङ, भोजपुर, ओखलढुंगा लगायतका स्थानमा प्रतिनिधि चयन अवैधानिक ढंगले गरिएको, आन्तरिक समूहगत दबाब हाबी भएको र उजुरी नै नदर्ता गरिने जस्ता गुनासा बढेपछि पोखरेल समूह ओलीकहाँ पुगेको हो ।
“अहिले त थुप्रै ठाउँमा विवाद चर्किएको छ। कतै निर्वाचन नै रोकियो, कतै फरक–फरक नाम पठाइयो, कतै उजुरी सुन्ने कोही छैन,” शाक्यले बताइन्, “यस्ता समस्या अब अन्त्य हुनुपर्छ भनेर नै हामी सल्लाह गर्न गएका हौँ ।” उनका अनुसार केन्द्रीय संगठन विभागले केही स्थानमा पुनः निर्वाचन गर्न निर्देशन दिए पनि कतिपय ठाउँमा उजुरी परेपछि पनि कुनै कदम नचलाइएकाले असन्तुष्टि बढ्दै गएको छ ।
भेटमा अध्यक्ष ओलीले “यस्तो हुनु नहुने” प्रतिक्रिया दिएको शाक्यले बताइन् । ओलीले निर्वाचन प्रक्रिया सहजै सकिन सक्ने हुँदा अनावश्यक विवाद हुनु नपर्ने भन्दै नेतृत्व तहमै कमजोरी देखिएको संकेत गर्न खोजेको बताइन्छ । त्यसपछि पोखरेल समूहका नेताहरूले प्रतिप्रश्न गरेका थिए– “हामीले पनि यही त भनेको हो नि। लोकतन्त्रमा विश्वास गर्ने पार्टीमा प्रक्रिया स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुनुपर्छ। फेरि किन जालझेल गर्नुपर्ने ?” शाक्यका अनुसार यसबारे आफूहरूले ओलीलाई स्पष्ट रूपमै ‘यो ठीक छैन’ भनी सचेत गराएका छन् । “अध्यक्षज्यू, अब यस्ता कुरा दोहोरिन दिनुहुँदैन, तपाईंले ध्यान दिनुपर्छ भनेर आग्रह गरेका छौँ,” शाक्यले भनिन्। भेट सकिएपछि पोखरेल, शाक्य, पाण्डे र भट्टराई थापा गाउँतिर गएर आन्तरिक रणनीति बैठकमा बसेको बताइएको छ ।
मंसिर २७ गतेदेखि सुरु हुने ११ औँ महाधिवेशनलाई लक्षित गरेर पोखरेल नेतृत्वको समूहले छुट्टै प्यानल गठनको तयारी तीव्र पारेको छ । यस प्यानलमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्टलगायत प्रभावशाली नेताहरू खुलेर साथमा उभिएका छन्। यसैसँगै पार्टी राजनीतिमा प्रभाव राख्दै आएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले पनि पोखरेल समूहलाई समर्थन जनाइरहेको राजनीतिक वृत्तमा चर्चा छ । महाधिवेशन नजिकिँदै गर्दा एमालेभित्र शक्ति–समीकरण काठमाडौंदेखि जिल्ला तहसम्म तातिन थालेको छ । अध्यक्ष ओलीको नेतृत्व र निर्णय शैलीप्रति असन्तुष्टि बढेको संकेत गर्ने हालको भेटघाट र आन्तरिक छलफलले महाधिवेशनमा ठूलो प्रतिस्पर्धा निम्त्याउने सम्भावना बलियो भएको देखिन्छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































