कांग्रेस विशेष पक्षले महाधिवेशन तालिका कार्यान्वयनमै गर्‍यो आशंका

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग फेरि तातिएको छ । १५औं महाधिवेशनको प्रक्रिया अघि बढ्न नसकेको र कार्यतालिका उल्झिन सक्ने आशंकाबीच विशेष महाधिवेशन पक्षधर समूहले बिहीबार काठमाडौंमा भेला बसेर स्पष्ट चेतावनी दिएको छ।

यदि पार्टी नेतृत्वले नियमित महाधिवेशनको कार्यतालिका कार्यान्वयनमा हेलचर्क्याइँ गर्यो भने विशेष महाधिवेशन आह्वान गर्न बाध्य हुनेछन्। २०७९ सालको महाधिवेशनपछि संगठन विस्तार र आन्तरिक विवाद समाधानमा कांग्रेसले कदम चाल्न नसकेको आलोचना भइरहेकै बेला १५औं महाधिवेशन आयोजनामा पनि ढिलासुस्ती देखिँदा पार्टीभित्रको असन्तुष्टि खुलेर अभिव्यक्त हुन थालेको छ। बिहीबारको भेला विशेष महाधिवेशन माग गर्दै साढे दुई हजारभन्दा बढी प्रतिनिधिले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको हस्ताक्षर अभियानको निरन्तरता थियो ।

भेलाका अगुवा तथा हस्ताक्षर अभियान समन्वयकर्ता नारायण भट्टराईले नियमित महाधिवेशन रोक्ने कुनै पनि प्रयास सहन न सकिने चेतावनी दिए । “१५औं महाधिवेशन रोक्ने प्रपञ्च भयो भने, कार्यतालिकालाई कागजी बनाउने नियत देखियो भने हामी विशेष महाधिवेशनको बाटोबाट पछि हट्दैनौँ,” भट्टराईले भने। उनका अनुसार नेतृत्वले पारित कार्यतालिका अनुसार अधिवेशन नचलाए पार्टीको लोकतान्त्रिक मूल्य–मान्यतामै प्रहार हुने भएकाले आफूहरू सक्रिय भएर निगरानीमा बस्नेछन् । पार्टी केन्द्रीय समितिले २६–२८ पुसमा १५औं महाधिवेशन गर्ने निर्णय सर्वसम्मतले पारित गरिसकेको छ। १६ पुसमा वडा अधिवेशन सुरु गरेर क्रमैसँग सबै तहका अधिवेशन सम्पन्न गरी केन्द्रीय महाधिवेशनमा पुग्ने कार्यतालिका बनाइएको छ ।

तर अधिवेशन अघि क्रियाशील सदस्यताको टुंगो लाग्नुपर्नेअनुसार सो प्रक्रियामा ढिलासुस्ती हुने हो कि भन्ने चिन्ता विशेष महाधिवेशन पक्षधरहरूको मुख्य विषय बनेको छ। भट्टराईले भेलामा बोल्दै कार्यतालिका कार्यान्वयनका लागि आफूमाथि परेको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्ने र आ–आफ्नो क्षेत्रमा फर्किएर सदस्यता, अधिवेशन र संगठनसुधारलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय भएको बताए। “हामी नियमित महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि जुट्छौँ।

तर नेतृत्वले यदि ढिलासुस्ती गरेर महाधिवेशनको मिति पछाडि सार्ने वा प्रक्रियालाई अवरुद्ध गर्ने संकेत देखायो भने, त्यसो हुन दिइने छैन,” उनले भने । विशेष महाधिवेशनको माग उठाउनेहरूका अनुसार कांग्रेस नेतृत्वले संगठनमा देखिएका कमजोरी, आन्तरिक मनोमालिन्य र गुटगत प्रतिस्पर्धा समाधान गर्न ठोस कदम नचालेको कारण पार्टी कमजोर बन्दै गएको छ । त्यसैले नियमित महाधिवेशन नै कांग्रेसलाई पुनःसबलीकरण गर्ने अवसर हुने उनीहरूको तर्क छ। तर नेतृत्वले पुनः ढिलाइ गरे विशेष महाधिवेशनमार्फत सम्पूर्ण नेतृत्व संरचना पुनर्गठन गर्नेतर्फ आफूहरू जुट्ने चेतावनी पनि समूहले दोहोर्‍याएको छ । भेलाले अन्त्यमा सबै पक्षधरहरूलाई आ–आफ्नो क्षेत्रमा फर्केर महाधिवेशन प्रक्रियालाई गतिशील बनाउन आव्हान गर्दै नेतृत्वको निगरानी सुदृढ बनाउने निर्णय गरेको छ । कांग्रेसभित्र देखिएको यो नयाँ सक्रियताले आगामी साताहरूलाई पार्टी राजनीतिमा निकै संवेदनशील र निर्णायक बनाइदिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।