निर्वाचन प्रहरीको भर्ना र मापदण्ड तयार

काठमाडौं । गृह मन्त्रालयले आगामी निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना र खटनपटनसम्बन्धी मापदण्ड तयार गरेको छ। शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिसहित बसेको बैठकले भर्ना प्रक्रिया र परिचालनसम्बन्धी मापदण्ड अन्तिम रूप दिएको हो।

शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीले आ–आफ्नो तर्फबाट आवश्यक जनशक्तिको प्रस्ताव गृह मन्त्रालयमा बुझाउने छन्। ती प्रस्ताव गृहसचिवबाट स्वीकृत भएपछि निर्वाचन प्रहरी भर्ना प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ। गृह मन्त्रालयका अनुसार आइतबारसम्म मापदण्ड र प्रस्ताव स्वीकृत गर्ने तयारी गरिएको छ।

गृहका एक अधिकारीका अनुसार भर्नासम्बन्धी सबै विषय लगभग टुंगिसकेका छन्। ‘भोलि र पर्सिसम्म सबै प्रक्रिया मिलाएर प्रहरी संगठनहरूलाई पठाइन्छ। त्यसपछि उनीहरूले तोकिएको कोटाअनुसार भर्ना प्रक्रिया अघि बढाउन सक्छन्,’ ती अधिकारीले बताए। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले पनि गृह मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि भर्ना प्रक्रिया तत्काल सुरु गरिने जानकारी दिए। गृह मन्त्रालयले नेपाल प्रहरीलाई एक लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना गर्न अनुमति दिने तयारी गरेको छ। सशस्त्र प्रहरी बलले १५ हजार निर्वाचन प्रहरी भर्ना गर्न पाउनेछ। नेपाल प्रहरीले एक लाख ३७ हजार ६४४ र सशस्त्र प्रहरीले १६ हजार जनशक्ति माग गरे पनि गृह मन्त्रालयले मागभन्दा केही कम संख्यामा भर्नाको स्वीकृति दिन लागेको हो। निर्वाचन प्रहरी भर्नाका लागि आवश्यक बजेटको स्रोत अर्थ मन्त्रालयले सुनिश्चित गरिसकेको छ। अर्थबाट स्वीकृत बजेटका आधारमा दुवै प्रहरी संगठनले मापदण्ड तयार गरेका हुन्।

तयार मापदण्डअनुसार भर्ना भएका निर्वाचन प्रहरीलाई १० दिनको तालिम दिइनेछ। त्यसपछि उनीहरूलाई एक महिनासम्म निर्वाचन सुरक्षामा खटाइनेछ। नेपाल प्रहरीले भर्ना गरेको जनशक्ति नेपाल प्रहरीकै कमान्डमा र सशस्त्र प्रहरीले भर्ना गरेको जनशक्ति सशस्त्र प्रहरीकै कमान्डमा परिचालित हुनेछन्। निर्वाचन प्रहरीले प्रहरीका जवानसरह सेवा–सुविधा पाउनेछन्। उनीहरूलाई बिमा, पोसाक तथा रासन भत्ता उपलब्ध गराइनेछ। भर्नामा पूर्व सुरक्षाकर्मी र यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेकालाई विशेष प्राथमिकता दिइनेछ। अधिकांश मापदण्ड अघिल्ला निर्वाचनकै जस्तै रहेको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्। २०७९ सालको निर्वाचनमा एक लाख १५ हजार म्यादी प्रहरी माग गरिएको थियो। यसपटक निर्वाचन आयोगले मतदानस्थल संख्या बढाएकाले निर्वाचन प्रहरीको संख्या पनि बढाइएको हो।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल रहने छन्, जुन अघिल्लो निर्वाचनभन्दा १६८ ले बढी हो। तीमध्ये करिब ३ हजार ५ सय मतदान केन्द्रलाई सुरक्षा दृष्टिले अति संवेदनशील मानिएको छ। मतदानस्थल र सुरक्षा संवेदनशीलता दुवै बढेकाले यसपटक करिब ३५ हजार निर्वाचन प्रहरी थप गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ। यसै निर्वाचनबाट पहिलो पटक सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ। हाल स्ट्राइकिङमा १८ जनाको टोली खटाइँदै आएकोमा अब त्यसमा ६ जना निर्वाचन प्रहरी थपिनेछन्। यसअघि मोबाइल गस्तीमा ७ जना सशस्त्र प्रहरी रहने व्यवस्था थियो भने यसपटक १२ जनाको टोली खटाइनेछ, जसमा ७ जना सशस्त्र प्रहरी र ५ जना निर्वाचन प्रहरी रहनेछन्। निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले कार्य विभागका प्रमुख अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीको कमान्डमा छुट्टै सेल गठन गरी तयारीलाई तीव्र बनाएको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।