काठमाडौं । भेनेजुएला सरकारले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ । त्यहाँका विदेशमन्त्री यभान गिलले अमेरिकाले गरेको आक्रमण भेनेजुएलाको सार्वभौमिकतामाथिको प्रहार भएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्न सुरक्षा परिषद्ले तत्काल हस्तक्षेप गर्नुपर्नेमा जोड दिएका छन् ।
अमेरिकी आक्रमणपछि भेनेजुएलामा सत्ता परिवर्तको अनुमान गरिएको छ । खोज पत्रकार लौरा लुमरले वर्तमान उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई चाँडै देशको अन्तरिम राष्ट्रपति घोषणा गरिन सक्ने बताएकी छन् । लुमरले सामाजिक सञ्जाल एक्समा स्रोतलाई जनाउँदै यो निर्णय अमेरिकाले भेनेजुएलामाथि गरेको ठूलो सैन्य आक्रमणपछि लिइएको उल्लेख गरेकी छन् । लुमरका अनुसार, अमेरिकी विशेष बलले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि सरकारविहीनताको अवस्था सिर्जना भएको छ । त्यसैले डेल्सीलाई अन्तरिम नेतृत्व सुम्पने तयारी गरिएको छ । यद्यपि, भेनेजुएला सरकार वा आधिकारिक संस्थाबाट यसबारे पुष्टि गरिएको छैन ।
रुसको विदेश मन्त्रालयले भेनेजुएलामाथि अमेरिकी कारबाहीको कडा शब्दमा निन्दा गरेको छ । रुसले यसलाई सशस्त्र आक्रमण भनेको छ । मन्त्रालयद्वारा शनिबार टेलिग्राममा जारी वक्तव्यमा भेनेजुएलालाई कुनै बाहिरी, विशेष गरी सैन्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने पूर्ण अधिकार रहेको उल्लेख छ ।
वक्तव्यमा कुनै पनि प्रकारको दबाब वा सैन्य कारबाही अन्तर्राष्ट्रिय कानुन र सार्वभौमिकताका सिद्धान्तविपरीत रहेको जनाइएको छ । रुसले यस्ता कदमले क्षेत्रीय र वैश्विक तहमा तनाव थप बढाउन सक्ने चेतावनी दिएको छ । मस्कोले सबै पक्षलाई संयम अपनाई हालको अवस्थालाई बिग्रन नदिन संवादको बाटो अपनाउन अपिल गरेको छ । साथै, रुसले भेनेजुएलाका जनता र सरकारप्रति आफ्नो ऐक्यबद्धता प्रकट गरेको छ । विदेश मन्त्रालयले राष्ट्रसंघ सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउनुपर्ने मागको समर्थन समेत गरेको छ । रुसले भनेको छ, “ल्याटिन अमेरिका शान्तिको क्षेत्र बन्नुपर्छ र कुनै पनि देशको सार्वभौमिकताको उल्लंघन स्वीकार्य छैन ।”
इरानले भेनेजुएलामाथि अमेरिकी सैन्य आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, त्यहाँको विदेश मन्त्रालयले अमेरिकाको यो कारबाही भेनेजुएलाको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको उल्लंघन भएको र संयुक्त राष्ट्र चार्टरविपरीत रहेको जनाएको छ ।
इरानले भेनेजुएलासँग एकता जनाउँदै यस्ता कुनै पनि सैन्य हस्तक्षेप अस्वीकार्य भएको जनाएको छ । अमेरिकी एक रिपब्लिकन सिनेटरले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गरी अमेरिकामा मुद्दा चलाउने प्रक्रिया थालिएको जिकिर गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको कुराकानीबाट आफूले यस्तो जानकारी पाएको उनको भनाइ छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।
































