क्यानले सार्वजनिक गर्‍यो सन् २०२६ का लागि वार्षिक क्रिकेट क्यालेन्डर

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता समेटिएको वार्षिक क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत क्यानले पुरुष र महिला टोलीका अन्तर्राष्ट्रिय सहभागितासहित देशभर सञ्चालन हुने घरेलु प्रतियोगिताहरू समेटिएको विस्तृत क्यालेन्डर सार्वजनिक गरेको हो ।

क्यानले सार्वजनिक गरेको क्यालेन्डरअनुसार सन् २०२६ मा नेपालमा २८ वटा घरेलु प्रतियोगिता सञ्चालन हुनेछन् भने नेपाली पुरुष र महिला टोलीले ३२ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता तथा शृङ्खलामा सहभागिता जनाउनेछन् । क्यानले वर्षभरि निरन्तर क्रिकेट गतिविधि हुने गरी तालिका तयार पारेको जनाएको छ ।

घरेलु प्रतियोगिता अन्तर्गत जनवरी महिनाबाट पुरुष प्रधानमन्त्री कपको जिल्ला चरण सुरु हुनेछ । जनवरी ५ देखि २५ तारिखसम्म जिल्ला चरण र जनवरी २५ देखि फेब्रुअरी १० सम्म प्रदेश चरणका खेल आयोजना गरिनेछन् । फेब्रुअरीमा जय ट्रफी तथा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको जिल्ला चरण सञ्चालन हुनेछ । मार्चमा पुरुष प्रधानमन्त्री कपको राष्ट्रिय चरण सञ्चालन हुने छ भने यही अवधिमा महिला प्रधानमन्त्री कपको जिल्ला चरण र विद्यालय क्रिकेटको प्रदेश चरण पनि आयोजना गरिनेछ ।

अप्रिल र मे महिनामा महिला प्रधानमन्त्री कपको प्रदेश तथा राष्ट्रिय चरण, पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता, राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको राष्ट्रिय चरण र क्यान युथ क्याम्प सञ्चालन गरिने क्यालेन्डरमा उल्लेख छ । जुन महिनामा सातै प्रदेशमा क्यान लेभल–१ कोचिङ कोर्स तथा राष्ट्रिय टी–२० च्याम्पियनसिप आयोजना हुनेछ । जुलाई र अगस्टमा कोचिङ, अम्पायरिङ तथा पिच क्युरेटरसम्बन्धी तालिमहरू सञ्चालन गरिनेछन् । अक्टोबरदेखि नोभेम्बरसम्म नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गरिनेछ भने डिसेम्बरमा विभिन्न क्षेत्रीय प्रतियोगिता सञ्चालन हुनेछन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ जनवरी महिनामा आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमै आयोजना हुँदैछ । फेब्रुअरीमा नेपाली पुरुष टोलीले भारतमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकपमा सहभागिता जनाउनेछ, जुन नेपाली टोलीका लागि वर्षकै सबैभन्दा ठूलो प्रतियोगिता हुनेछ ।

मार्च, जुलाई र अक्टोबरमा पुरुष टोलीले आईसीसी लिग–२ का शृङ्खला खेल्नेछ भने विभिन्न महिनामा महिला टोलीका बाइल्याटरल, त्रिदेशीय शृङ्खला तथा महिला एसिया कप आयोजना हुनेछन् । यु–१९ र यु–१६ टोलीका लागि पनि अन्तर्राष्ट्रिय भ्रमण तथा प्रतियोगिताहरू समावेश गरिएको छ ।

क्यानले सन् २०२६ को क्यालेन्डरले नेपाली क्रिकेटको विकास, खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको उपस्थितिलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।