झापा–५ मा ओलीसँग भिड्दै बालेन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा पुगेका छन्। स्रोतका अनुसार बालेनको झापा–५ बाट उम्मेदवारी लगभग टुंगो लागेको छ। यसका लागि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका प्रमुख नेताहरूलाई काठमाडौँ बोलाएर प्रत्यक्ष छलफल गरेका थिए।

रास्वपा झापाका सचिव शम्भु सुस्केरा ढकालका अनुसार, उक्त भेटमा बालेनले झापा–५ को समग्र राजनीतिक अवस्था, संगठनको शक्ति–कमजोरी, सम्भावित प्रतिस्पर्धी र चुनावी रणनीतिबारे विस्तृत जानकारी लिएका थिए। झापा–५ हालसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको क्षेत्र हो। यही कारण बालेन र रास्वपाले उक्त क्षेत्रलाई रणनीतिक रूपमा हेरेका छन्। छलफलमा विपक्षीको संगठन कमजोर बनाउने उपाय, मतदातासम्म पुग्ने अभियान र स्थानीय स्तरमा पार्टीको संरचना सुदृढ गर्ने विषयमा केन्द्रित बहस भएको रास्वपा झापाले जनाएको छ।

आइतबार काठमाडौँमा भएको यो बैठक करिब डेढ घण्टा चलेको थियो। झापाबाट गएका पदाधिकारीहरू पार्टी केन्द्रीय कार्यालय नगई सिधै बालेनसँगको छलफलमा सहभागी भएका थिए। बैठकमा झापाको संगठनात्मक अवस्था, चुनावी परिचालन र अभियानको खाका तय गर्ने विषयमा गहिरो संवाद भएको स्रोतको भनाइ छ। स्रोतका अनुसार, बालेनले आफ्नो सचिवालयमार्फत झापाको राजनीतिक अवस्थाबारे पहिलेदेखि नै अध्ययन गरिरहेका थिए।

अध्ययनलाई थप स्पष्ट बनाउन रास्वपा झापाका पदाधिकारीहरूलाई बोलाइएको थियो। सचिवालयको रिपोर्ट र स्थानीय नेताहरूबाट प्राप्त जानकारीका आधारमा बालेन झापा–५ बाटै चुनाव लड्ने निष्कर्षमा पुगेको बताइएको छ। बैठकले माघ ६ गते झापामा र्‍यालीसहित उम्मेदवारी दर्ता गर्ने तयारी गर्ने निर्णयसमेत गरेको छ। त्यसअघि माघ ४ गते बालेनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने र सोही दिन रास्वपाको केन्द्रीय पार्टी कार्यालय जाने कार्यक्रम तय भएको छ। माघ ५ गते जनकपुरमा रास्वपाका सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा सार्वजनिक हुने तथा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

जनकपुर धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ। यस क्षेत्रबाट रास्वपाका प्रवक्ता मनिष झा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको रूपमा सिफारिसमा परेका छन्। उनी पार्टीको प्राइमरी निर्वाचनबाट पनि उम्मेदवार सिफारिस भएका हुन्। झापा–५ बाट उम्मेदवारी निश्चित भएपछि बालेनको टिमले निर्वाचन क्षेत्रभित्र कार्यालय तथा बसोबासका लागि घर खोज्न थालेको छ। दमकको क्याम्पस मोड आसपास र गोर्खा किचन क्षेत्र नजिक केही घरहरू निःशुल्क उपलब्ध गराउने प्रस्तावसमेत आएको रास्वपाले जनाएको छ।

रास्वपा झापाका अध्यक्ष प्रकाश पाठकले दमक क्षेत्रमा निर्वाचन गतिविधिका लागि उपयुक्त घर खोज्ने काम भइरहेको पुष्टि गरे। उनका अनुसार बालेनको टिम र स्थानीय नेताहरूले निरीक्षण गरेका दुई घरमध्ये एउटालाई कार्यालयका रूपमा प्रयोग गर्ने विषयमा छिट्टै निर्णय लिइनेछ।

उनले भने, “काठमाडौँमा भएको छलफलपछि केही स्थान हेर्न निर्देशन आएको थियो। अहिले हाम्रा साथीहरूले घरहरू हेरिसक्नुभएको छ। तीमध्ये कुन प्रयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।” बालेन झापा–५ बाट उम्मेदवार भए पनि उनको राजनीतिक गतिविधि झापामा मात्र सीमित नराख्ने तयारी गरिएको छ। रास्वपाले बालेनको उपस्थितिलाई कोसी प्रदेशभर प्रयोग गर्ने रणनीति बनाइरहेको छ। झापा, मोरङ, सुनसरी र इलामलगायत जिल्लामा सक्रिय कार्यक्रम, सभा र जनसम्पर्क अभियान सञ्चालन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

हालै रास्वपाको वरिष्ठ नेतामा मनोनीत भएका बालेनले अहिलेसम्म दलको नेताको रूपमा शपथ नलिएका कारण, शपथ ग्रहण गरेलगत्तै उनी चुनावी अभियानमा होमिने रास्वपा नेताहरूको दाबी छ। माघ ४ गते पदबाट राजीनामा दिएपछि दलको शपथ लिने र माघ ६ गते झापामा उम्मेदवारी दर्ता गर्न आउने सन्देश स्थानीय नेताहरूले पाइसकेका छन्। बालेन उम्मेदवार भएर झापा आउने निश्चित भएपछि रास्वपा झापामा उत्साह थपिएको देखिन्छ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।