अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बने विराट कोहली

काठमाडौं । भारतीय क्रिकेटका महान् ब्याट्सम्यान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गर्दै सबै ढाँचामा मिलाएर दोस्रो सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा आफ्नो नाम लेखाएका छन् ।

न्युजिल्यान्डविरुद्ध वडोदराबाट सुरु भएको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजको पहिलो खेलमा उनले खेलेको ९३ रनको निर्णायक इनिङसँगै कोहलीले श्रीलंकाका कुमार संगकारालाई पछि पार्दै यो कीर्तिमान कायम गरेका हुन् ।

सन् २००८ मा श्रीलंकाविरुद्ध ओडीआईमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कोहलीले टेस्ट, ओडीआई र टी–२० क्रिकेट गरी हालसम्म २८,०६८ रन पूरा गरेका छन् । यसअघि कुमार संगकाराको नाममा २८,०१६ रन थियो भने अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान भने अझै पनि उनका हमवतन सचिन तेन्दुलकरकै नाममा छ, जसको संख्या ३४,३५७ रन रहेको छ ।

न्युजिल्यान्डविरुद्धको खेलमा भारतले ३०१ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा कोहलीको इनिङ निर्णायक बन्यो । उनले ९१ बलमा ९३ रन बनाउँदै भारतलाई चार विकेट र छ बल बाँकी रहँदै जित दिलाए । यस जितसँगै भारतले तीन खेलको ओडीआई सिरिजमा १–० को अग्रता लिएको छ । यद्यपि कोहली आफ्नो ५४औँ ओडीआई शतक बनाउन भने चुके, तर उनले लगातार पाँच ओडीआई इनिङमा ५० भन्दा बढी रन बनाउने क्रमलाई निरन्तरता दिएका छन्, जसमा दुई शतक पनि समावेश छन् ।

खेलपछि ‘प्लेयर अफ द म्याच’ घोषित भएका कोहलीले आफ्नो यात्रालाई सम्झँदै यो उपलब्धि सपना पूरा भएको अनुभूति भएको बताए । उनले आफू सधैं आफ्ना क्षमतामा विश्वास राख्दै आएको र यहाँसम्म आइपुग्न अत्यन्तै कडा मिहिनेत गर्नुपरेको उल्लेख गरे । उनले व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जितलाई प्राथमिकता दिने सोच अहिले पनि कायम रहेको बताए ।

१७ वर्षको अन्तर्राष्ट्रिय करिअरमा कोहलीले आफूलाई निरन्तर परिमार्जन गर्दै आएका छन् । उनले हाल इनिङको सुरुआती २० बललाई अधिकतम उपयोग गर्ने रणनीति अपनाएको बताएका छन्। न्युजिल्यान्डविरुद्धको खेलमा ओपनर रोहित शर्मा नवौँ ओभरमै आउट भएपछि पनि कोहली रक्षात्मक बन्नुको सट्टा बलरहरूमाथि दबाब सिर्जना गर्दै आक्रामक खेल देखाउन सफल भए ।

३७ वर्षीय कोहली हाल केवल ओडीआई ढाँचामा मात्र सक्रिय छन्। उनले रोहित शर्मासँगै टेस्ट र टी–२० क्रिकेटबाट संन्यास लिइसकेका छन् । यद्यपि, दुवै अनुभवी खेलाडीको भविष्यलाई लिएर चर्चा चलिरहे पनि उनीहरू २०२७ को ओडीआई विश्वकपलाई लक्ष्य बनाएर अघि बढिरहेको अनुमान गरिएको छ ।

उल्लेखनीय कुरा के छ भने कोहलीले ६२४ इनिङमै २८ हजार अन्तर्राष्ट्रिय रन पूरा गर्दै यो कीर्तिमान सबैभन्दा छिटो हासिल गर्ने खेलाडी बनेका छन् । यसअघि सचिन तेन्दुलकरले ६४४ इनिङमा र कुमार संगकाराले ६६६ इनिङमा यो उपलब्धि हासिल गरेका थिए । निरन्तर कीर्तिमान तोड्दै अघि बढिरहेका ‘किङ कोहली’ले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो विशिष्ट स्थानलाई अझ मजबुत बनाएका छन् ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।