कराचीको गुल प्लाजा आगलागी : मृतक संख्या ५५ पुग्यो, परिवार अझै प्रतीक्षामा

कराची । पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीस्थित एक व्यापारिक मलमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ । कराची दक्षिण जिल्लाका उप–आयुक्त जावेद नबी खोसोले शनिबार राति आगलागी सुरु भएयता हालसम्म ५५ शव फेला परेको जानकारी दिएका छन् ।

तीनतले गुल प्लाजामा अझै पनि उद्धारकर्मीहरूले भग्नावशेषभित्र मानवीय अवशेषको खोजी जारी राखेका छन् । तर उद्धार प्रक्रिया ढिलो भएको भन्दै अझै बेपत्ता आफन्तको खोजीमा रहेका परिवारजनले असन्तुष्टि जनाएका छन् ।

प्रान्तीय स्वास्थ्य अधिकारी सुम्मैया सैयदका अनुसार हालसम्म ५० भन्दा बढी परिवारले डीएनए नमुना दिएका छन् । कराचीको सिभिल अस्पतालस्थित शवगृह बाहिर उनले पत्रकारहरूसँग कुरा गर्दै डीएनए परीक्षण मिलान भएपछि मात्रै अवशेष परिवारलाई हस्तान्तरण गरिने बताइन् ।

आगलागीका कारण आफ्ना प्रियजन गुमाएका परिवारहरू शोक र पीडामा डुबेका छन् । गुल प्लाजाभित्र रहेका आफ्ना पिता र २६ वर्षीय भाइ गुमाएका २८ वर्षीय फराज अलीले भने, “हामीलाई अरू केही चाहिएको छैन । केवल शव फेला परोस् र सही परिवारलाई बुझाइयोस् । कम्तीमा अन्तिमपटक देखेर विदाइ गर्न त पाउनुपर्‍यो ।”

कराचीका बजार र कारखानामा कमजोर पूर्वाधारका कारण आगलागीका घटना बारम्बार हुने गरे पनि यस स्तरको ठूलो आगलागी भने दुर्लभ मानिन्छ । घटनापछि सरकारले छानबिन समिति गठन गरेको छ । तर आगलागीको ठोस कारण भने हालसम्म खुलेको छैन ।

पीडित परिवारहरूका लागि शव फेला पर्नु मात्र कानुनी प्रक्रिया होइन, त्यो उनीहरूको दुःखसँग जुध्ने एक मात्र आधार बनेको छ । जबसम्म आफ्ना प्रियजनको अन्तिम अवशेष भेटिँदैन, कराचीका ती घर–आँगनहरूमा शोकको प्रतिक्षा रहिरहनेछन् ।