फस्टाउँदो एआई युगमा डाटा सेन्टरको सम्भावना

विश्वव्यापी रूपमा कृत्रिम बौद्धिकता (एआई) तीव्र विकास र विस्तार भएसँगै अहिले विश्व अर्थतन्त्र तथा प्रविधिको स्वरूपमा रूपान्तरण आइरहेको छ । नवीन प्राविधिक क्रान्तिको मेरुदण्डका रूपमा ठूला क्षमताका ‘डाटा सेन्टर’ र तिनलाई सञ्चालन गर्न आवश्यक पर्ने हरित ऊर्जाको माग आकाशिएको छ ।

यस्तो विश्वव्यापी परिदृश्यमा भूपरिवेष्ठित र विकासोन्मुख मुलुक नेपालका लागि प्रविधि पूर्वाधार विकासमार्फत आर्थिक फड्को मार्ने अवसर सिर्जना भएको छ । हालै काठमाडौँमा सम्पन्न तेस्रो राष्ट्रिय एआई सम्मेलनमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले नेपालको प्रचुर जलविद्युत् सम्भावना र प्राकृतिक रूपमै अनुकूल चिसो हावापानीलाई उपयोग गर्दै नेपाललाई ‘एआई डाटा सेन्टर हब’का रूपमा विकास गर्न सकिने रणनीतिक मार्गचित्र प्रस्तुत गरेका छन् ।डाटा सेन्टरहरू सञ्चालनका लागि अत्यधिक मात्रामा विद्युत् ऊर्जाको आवश्यकता पर्छ र ती सर्भरहरूलाई चिसो राख्न ठूलो धनराशि तथा ऊर्जा खर्च हुने गर्छ । नेपालसँग एकातिर स्वच्छ र नवीकरणीय जलविद्युत् उत्पादनको अपार क्षमता छ भने अर्कोतिर उच्च पहाडी तथा हिमाली भेगको प्राकृतिक चिसो हावापानीले डाटा सेन्टरको चिस्यान खर्चलाई उल्लेख्य रूपमा कटौती गर्न सक्छ । विश्वका ठूला प्रविधि कम्पनीहरू अहिले कार्बन उत्सर्जन घटाउन र स्वच्छ ऊर्जामा आधारित डाटा सेन्टर स्थापना गर्न उपयुक्त गन्तव्यको खोजीमा छन् । नेपालले प्राकृतिक र भौगोलिक विशिष्टतालाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्न सके विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन र जलविद्युत्को आन्तरिक खपत बढाउन ठूलो मद्दत पुग्नेछ ।सम्भावनाको ढोका खोल्नका लागि नीतिगत सुधार र पूर्वाधारको विश्वसनीयता अनिवार्य पूर्वसर्त हुन् । सम्मेलनमा विज्ञ प्रा. डा. सुरेश मानन्धरले औँल्याएझैँ टियर–१ वा टियर–२ स्तरको अन्तर्राष्ट्रिय डाटा सेन्टर सञ्चालन गर्न ९९.९९९ प्रतिशतसम्म अविच्छिन्न विद्युत् उपलब्धताको ग्यारेन्टी आवश्यक हुन्छ । नेपालको जलविद्युत् उत्पादन प्रणाली अझै पनि नदी प्रवाही आयोजनामा बढी निर्भर छ, जसले गर्दा वर्षायाममा विद्युत् खेर जाने र हिउँदयाममा उत्पादन घटेर आयात गर्नुपर्ने विडम्बना कायमै छ । वर्षभरि एकनासको र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित नगरी ठूला अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूलाई नेपालमा डाटा सेन्टर स्थापना गर्न आकर्षित गर्न सकिँदैन । यसका लागि जलाशययुक्त आयोजनाहरूको निर्माण, प्रसारण लाइनको स्तरोन्नति र ऊर्जा भण्डारण प्रणालीमा राज्यले तत्काल लगानी केन्द्रित गर्नुपर्छ ।
नेपालले एआई पूर्वाधार विकासलाई केवल व्यापारिक दृष्टिकोणले मात्र नहेरी ज्ञान, अनुसन्धान र मानव पुँजी निर्माणसँग पनि जोड्नुपर्छ । सरकारले विश्वविद्यालय तथा कलेजका विद्यार्थी र अनुसन्धानकर्ताहरूका लागि निःशुल्क पहुँच हुने गरी राष्ट्रियस्तरका एआई डाटा सेन्टरहरू स्थापना गर्न सके त्यसले स्वदेशमै प्रविधि विकास, नवप्रवर्तन र दक्ष जनशक्ति उत्पादनमा कायापलट ल्याउनेछ । एआई एसिया प्यासिफिक इन्स्टिच्युटकी डा. पिटर ब्रिम्बलले सुझाव दिएझैँ विकासशील राष्ट्रले एक्लै ठूलो पुँजी लगानी गर्नुभन्दा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझेदारी र प्रविधि हस्तान्तरणको मोडल अपनाउनु व्यावहारिक र सुरक्षित हुन्छ ।
एआईको फस्टाउँदो युगमा नेपाल दर्शक मात्र बनेर बस्ने कि सक्रिय साझेदार बन्ने भन्ने निर्णय हाम्रो नीतिगत इच्छाशक्तिमा निर्भर गर्छ । साइबर सुरक्षासम्बन्धी स्पष्ट कानुन, डाटा गोपनीयताको प्रत्याभूति, द्रूतगतिको अन्तर्राष्ट्रिय इन्टरनेट कनेक्टिभिटी र झन्झटमुक्त लगानी वातावरण निर्माण गर्न सरकार अब एकछिन पनि अल्मलिनु हुँदैन । जलविद्युत्, चिसो हावापानी र युवा जनशक्तिको त्रिवेणीलाई सही ढंगले संयोजन गर्न सके नेपालले आगामी दशकमा आफूलाई दक्षिण एसियाकै अग्रणी हरित डाटा सेन्टर र डिजिटल अर्थतन्त्रको केन्द्रका रूपमा स्थापित गर्न सक्ने देखिन्छ ।

२०८३ कात्तिक २९ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।