मध्यपहाडको साइकल यात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी । ’क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु,’ हाल मध्यपहाडको साइकल यात्रामा रहेकी कविता चित्रकारले भनिन्, ’क्यान्सरसँग जुध्न हिम्मत बटुलेँ, चुनौती र सङ्घर्षलाई रोजेँ ।’

साइकलबाट मध्यपहाडी लोकमार्ग छिचोल्दै गरेकी उनी आज सुदूरपश्चिम प्रदेशको अछाम पुगेकी छन् । साइकल यात्रामा उनी एक्ली भने हैनन् । अर्का क्यान्सर विजेता हर्क लामासहित साइकल यात्रीको टोली मध्यपहाडको लामो यात्रामा निस्केको हो ।

गत पुस १७ गते पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको साइकल यात्रीको टोली गण्डकी प्रदेशको कास्की, पर्वत, बागलुङ हुँदै केही दिनअघि लुम्बिनी प्रदेश प्रवेश गरेको थियो । क्यान्सर सचेतनाका लागि मध्यपहाडको करिब एक हजार ८०० किलोमिटर लामो साइकल यात्रा तय गरिएको चित्रकारले बताइन् ।

’ठाउँठाउँमा क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ । क्यान्सर रोगबाट प्रभावितलाई प्रेरणा र हौसला दिनु पनि हाम्रो यात्राको अर्को उद्देश्य हो,’ उनले भनिन् ।

काठमाडौं निवासी चित्रकारलाई चार वर्षअघि स्तन क्यान्सर भएको थियो । तेस्रो चरणमा पुगेको अवस्थामा क्यान्सर पत्ता लागे पनि नियमित उपचारपछि उनले क्यान्सरलाई जितन् । नेपालमै गरिएको उपचारले आफू निको भएको चित्रकारले सुनाइन् । ’अहिले पनि क्यान्सरको नियमित जाँच र परीक्षण गराइरहनुपर्छ,’ उनले भनिन्, ’क्यान्सर लाग्दैमा नआत्तिन सबैलाई आग्रह गर्छु । जस्तोसुकै कठिन परिस्थितिमा पनि आशावादी भएर बाँच्नुपर्छ भन्ने सन्देश दिन यो यात्रामा हिँडेकी छु ।’

सिन्धुपाल्चोकका हर्क लामालाई पनि केही वर्षअघि पिसाब थैलीको क्यान्सर भएको थियो । क्यान्सर विजेता उनी हाल क्यान्सर सचेतनासँगै क्यान्सरका बिरामीको उपचार र हेरचाहमा तल्लीन छन् । क्यान्सर प्रभावितले अस्पतालमा भोगिरहेका समस्या देखेपछि उपचार कोष बनाउने योजनाअनुसार मध्यपहाडी लोकमार्गको साइकल यात्रामा निस्किएको उनले बताए ।

’समाजमा क्यान्सरलाई जुन खालको भय र त्रासको दृष्टिले हेरिन्छ, त्यसलाई चिर्न पनि यो साइकल यात्राले मद्दत पुर्याउँछ,’ लामाले भने, ’समयमा निदान र उपचार हुन सकेमा क्यान्सर निको हुन्छ र क्यान्सर विजेताले पनि अरू सरह जीवन बाँच्न सक्छन् भन्ने सन्देश प्रवाह हुनेछ ।’

साइकल यात्रामा साइक्लिङ खेलाडी उषा खनाल, धुलिखेल अस्पतालका डा विकास पराजुलीलगायत सहभागी छन् । साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा साइकलयात्रा तय गरिएको धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा सुमन ताम्राकारले बताए । आज अछाम हुँदै डोटी पुग्ने योजना रहेको उनले सुनाए ।

२८ दिनको साइकल यात्राले २४ दिन पार गरिसकेको र बैतडीको झुलाघाट पुगेर यात्रा टुङ्गिने प्राडा ताम्राकारले बताए । ’यस बीचमा ११ जिल्लाका १३ स्थानमा क्यान्सर सेचतनाका कार्यक्रम गरेका छौँ, करिब एक हजार ७०० नागरिक यसबाट लाभान्वित हुनुभएको छ,’ उनले भने, ’सम्बन्धित जिल्लाका स्थानीय तह, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्थासँग समन्वय गरिरहेका छौँ ।’

साइकल यात्राका क्रममा पाठेघर मुखको क्यान्सर, स्तन क्यान्सरलगायत विषयमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको हो । यात्राका माध्यमबाट धुलिखेल अस्पतालमा क्यान्सर उपचार कोष स्थापना गरिने र सङ्कलन भएको रकममा अस्पतालले थप ५० प्रतिशत रकम उपलब्ध गराउने प्राडा ताम्राकारले बताए ।

उनका अनुसार क्राउड फन्डिङ ‘गो फन्ड मी’मार्फत कोषका लागि सहयोग सङ्कलन भइरहेकामा हालसम्म रु ३० लाखभन्दा बढी सङ्कलन भइसकेको छ । धुलिखेल अस्पतालमा क्यान्सरको उपचारका लागि आउने विपन्न परिवारका सदस्यलाई कोषबाट सहयोग प्रदान हुने प्राडा ताम्राकारले बताए ।

साइकल यात्राका क्रममा सङ्कलन भएको रकम आगामी फेबु्रअरी ४ मा हुने विश्व क्यान्सर दिवसका दिन अस्पताललाई हस्तान्तरण गर्ने योजना रहेको जनाइएको छ । नेपालको पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गको साइकलयात्रालाई जोडेर क्यान्सर विजेताको जीवन–कथालाई वृत्तचित्रमा पनि उतारिने प्राडा ताम्राकारले जानकारी दिए ।