निर्वाचनका लागि १२ समिति बनाउन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारी तीव्र बनाएको छ ।

निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र एकीकृत ढंगले सञ्चालन गर्न कम्तीमा १२ वटा समिति गठन गर्नुपर्ने निर्देशन पार्टीले मातहतका सबै निकायलाई दिएको छ ।

निर्वाचन परिचालन समितिका संयोजक एवं उपसभापति विश्वप्रकाश शर्माले बुधबार परिपत्र जारी गर्दै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति तथा प्रतिनिधिसभा क्षेत्र कार्यसमितिका सभापतिलाई यस्तो निर्देशन दिएका हुन् । परिपत्रमार्फत निर्वाचन अभियानलाई व्यवस्थित रूपमा अगाडि बढाउन आवश्यक संरचना र समिति अविलम्ब गठन गर्न आग्रह गरिएको छ ।

‘विजय अभियान व्यवस्थित बनाउन निम्नानुसारका समिति र संरचना सबै तहमा अविलम्ब गठन गर्नु/गराउनु हुन,’ शीर्षकमा जारी परिपत्रमा आमनिर्वाचनमा पार्टी पंक्तिलाई अनुशासित र योजनाबद्ध रूपमा परिचालन गर्न यी समिति अनिवार्य रहेको उल्लेख छ । परिपत्रमा कतिपय स्थानमा समिति गठन भइसकेको भए पनि जहाँ गठन हुन बाँकी छ, त्यस्ता स्थानमा तत्काल गठन गर्न गराउन आग्रह गरिएको छ । “समिति कैयन ठाउँमा गठन भइसकेका छन् । जहाँ गठन भएको छैन, त्यहाँ निम्नानुसारका समिति अविलम्ब गठन गर्न गराउन आग्रह सहित यो परिपत्र पठाइएको छ,” शर्माले परिपत्रमा उल्लेख गरेका छन् ।परिपत्र अनुसार सबै तहमा निर्वाचन व्यवस्थापन सचिवालय गठन गर्नुपर्नेछ । यसका साथै निर्वाचन परिचालन मूल समिति र निर्वाचन प्रचार–प्रसार मूल समिति गठन गरी सम्पूर्ण अभियानको समन्वय र निर्देशन गर्ने व्यवस्था मिलाउन भनिएको छ । स्थानीय तहसँग समन्वयका लागि स्थानीय तह समन्वय समिति गठन गर्नुपर्ने उल्लेख छ ।

यस्तै, बौद्धिक वर्गसँग पार्टीको नीति, विचार र एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्न बौद्धिक क्षेत्र समन्वय समिति गठन गरिनेछ । सामाजिक, धार्मिक तथा निजी क्षेत्रसँग समन्वय विस्तार गर्न क्रमशः सामाजिक सङ्घ–संस्था समन्वय समिति, धार्मिक सङ्घ–संस्था समन्वय समिति र निजी क्षेत्र समन्वय समिति गठन गर्न निर्देशन दिइएको छ । युवा मतदातालाई लक्षित गर्दै १८/३० विशेष अभियान समिति गठन गर्नुपर्ने परिपत्रमा उल्लेख छ । वैदेशिक रोजगारीबाट फर्किएका तथा पूर्वआप्रवासी मतदातासँग सम्पर्क र समन्वयका लागि पूर्वआप्रवासी समन्वय समिति गठन गर्न भनिएको छ ।

निर्वाचन प्रक्रियामा प्रशासनिक पक्षसँग सहकार्य गर्न स्थानीय प्रशासन समन्वय समिति र सम्पूर्ण अभियानको अनुगमन तथा मूल्यांकनका लागि अनुगमन समिति गठन गर्नुपर्नेछ । यी मुख्य समितिबाहेक निर्वाचन परिचालन समिति र प्रचार–प्रसार समिति अन्तर्गत आवश्यकताअनुसार विभिन्न उपसमिति गठन गर्न सकिने व्यवस्था पनि परिपत्रमा समेटिएको छ । उपसमितिहरूले प्रचार सामग्री, सामाजिक सञ्जाल, जनसम्पर्क, स्वयंसेवक परिचालनलगायतका क्षेत्रगत जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ । नेपाली कांग्रेसले यसपटकको निर्वाचनलाई संगठन सुदृढीकरण र पार्टी एकताका रूपमा पनि लिएको जनाएको छ । परिपत्रमार्फत केन्द्रदेखि तल्लो तहसम्म एकै ढाँचामा समिति गठन गरी चुनावी अभियानलाई व्यवस्थित, अनुशासित र परिणाममुखी बनाउने पार्टीको रणनीति देखिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।