काठमाडौं । काठमाडौंमा पछिल्लो समय बढ्दै गएको संगठित लुटपाट नियन्त्रणका क्रममा प्रहरीले बुधबार राति गोली चलाएर १० जना लुटेरालाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरीको विशेष टोलीले मूलपानी क्षेत्रमा गरेको अपरेसनमा एक जनालाई गोली हानी पक्राउ गरेसँगै संगठित लुटपाटमा संलग्न समूहमाथि पर्दाफास भएको हो । काठमाडौं प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलनमार्फत पक्राउ परेका लुटेराहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा काभ्रेको भुल्लु गाउँपालिका–२ का २३ वर्षीय विनय तामाङ, सिन्धुलीका २४ वर्षीय आयन माझी, खोटाङका मसिन राई, सिन्धुलीका सविन माझी, काभ्रेका पेमा तामाङ, सलोन तामाङ र राजीव भण्डारी रहेका छन् । त्यस्तै रामेछापका विशाल तामाङ, खोटाङका विदुर विश्वकर्मा र सिन्धुपाल्चोकका फुर्वा तामाङ पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये विनय तामाङलाई नियन्त्रणमा लिने क्रममा गोली चलाउनुपरेको थियो । गोली लागेर घाइते भएका विनयको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले उक्त समूहले पछिल्लो तीन महिनादेखि संगठित रूपमा लुटपाट गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । “उनीहरू समूह बनाएर मुख्यतः मध्यरातको समयमा पैदलयात्रु र व्यवसायीलाई लक्षित गरी लुटपाट गर्दै आएका थिए,” एसएसपी थापाले भने, “लुटपाटका क्रममा उनीहरूले कुटपिटसमेत गर्ने गरेको देखिएको छ ।”
प्रहरीका अनुसार उक्त समूहले तीनवटा मोटरसाइकल प्रयोग गरी विभिन्न स्थानमा पुगेर लुटपाट गर्ने गरेको थियो । उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कम्तीमा २७ जनामाथि कुटपिट तथा लुटपाट गरेको खुलेको छ । लुटपाटका क्रममा प्रयोग भएका छ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । प्रहरी अनुसन्धानका क्रममा लुटपाट गर्दै गरेको सीसीटीभी फुटेजसमेत संकलन गरिएको छ । सोही फुटेज तथा मोटरसाइकलको नम्बरका आधारमा उनीहरूलाई पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट लुटपाटमा प्रयोग गरिएका मोटरसाइकल, सुनचाँदीका गरगहना र नगद रकमसमेत बरामद गरिएको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका पेमा तामाङ र आयन माझी दिउँसोको समयमा ट्याक्सी चलाउने गरेको खुलेको छ । प्रहरीले पेमाले प्रयोग गर्दै आएको वाग्मती प्रदेश–०१–००ज ८७६६ नम्बरको ट्याक्सी र बा१२च ७७०१ नम्बरको कारसमेत नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरूले लुटपाटबाट आर्जित रकम प्रयोग गरेर सवारी साधन खरिद गरेको दाबीसमेत गरेका छन् । प्रहरीले उक्त समूहका मुख्य योजनाकार विनय तामाङ नै भएको जनाएको छ । एसएसपी थापाका अनुसार विनय यसअघि पनि २०७९ सालमा डाँका चोरी तथा लुटपाटका घटनामा पक्राउ परेर छुटेका थिए । उनी हालै पनि यस्तै प्रकृतिको मुद्दामा संलग्न रहेको खुलेको छ ।
विनयबाहेक पक्राउ परेका अधिकांश व्यक्ति पनि यसअघि लुटपाटसम्बन्धी घटनामा पक्राउ परेर छुटेको प्रहरीको भनाइ छ । “उनीहरू पटक–पटक अपराधमा संलग्न हुँदै आएका छन्,” एसएसपी थापाले भने, “यसपटक समयमै नियन्त्रणमा लिन नसकेको भए ज्यान जानेसम्मको अवस्था आउन सक्थ्यो ।” प्रहरीका अनुसार भदौ महिनामा भएको ‘जेनजी प्रदर्शन’ पछिका घटनाक्रमपछि उनीहरू पुनः संगठित भएर लुटपाटमा सक्रिय भएको देखिएको छ । लुटपाटका क्रममा उनीहरूले धारिलो हतियार र आक्रमणकारी शैली प्रयोग गर्ने गरेको पाइएको छ, जसका कारण धेरै पीडित घाइते भएका थिए । हाल पक्राउ परेका सबै व्यक्तिमाथि डाँका चोरी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । आवश्यक प्रमाण संकलन गरी मुद्दा दायर गर्ने तयारी भइरहेको छ । प्रहरीले संगठित अपराध नियन्त्रणका लागि विशेष निगरानी र अपरेसनलाई थप तीव्र बनाइएको जनाएको छ ।




































