काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यावहारिक, यथार्थपरक र पाँच वर्षभित्र ठोस उपलब्धि हासिल गर्न सकिने कार्यक्रम समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको बताएका छन् ।
जनताको प्रत्यक्ष जीवनसँग जोडिने विषयलाई प्राथमिकतामा राखेर घोषणापत्र तयार गरिँदै गरेको उनको भनाइ छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सोमबार आयोजित छलफल कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझाव संकलन गर्दै घोषणापत्रको प्रारम्भिक खाका तयार पार्ने काम अघि बढाइएको जानकारी दिए । उनले घोषणापत्र केवल नारा र आश्वासनको दस्तावेज नभई कार्यान्वयनयोग्य र मापन गर्न सकिने लक्ष्यसहितको हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीका अनुसार एमालेले देशलाई पहिलो प्राथमिकतामा राख्दै समृद्धि, सुशासन र दिगो विकासमार्फत नेपाली जनताको सुख र समृद्धिको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ घोषणापत्र तयार गरिरहेको छ । “जनताको व्यावहारिक आवश्यकतालाई केन्द्रमा राखेर, पाँच वर्षभित्र देखिने परिणाम दिने कार्यक्रम घोषणापत्रमा समेटिन्छ,” उनले भने । उनले मुलुकको आर्थिक विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना, सामाजिक न्याय र सुशासनका विषय घोषणापत्रका मुख्य आधार हुने स्पष्ट पारे । साथै, विकासका कामलाई निरन्तरता दिने र विगतमा सुरु गरिएका राष्ट्रिय महत्वका आयोजनालाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा रहने उनले संकेत गरे । अध्यक्ष ओलीले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित रूपमा सम्पन्न हुने वातावरण निर्माण गर्न सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यसतर्फ गम्भीर ध्यान दिन आग्रह गरे । उनले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ निर्वाचन अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
एमाले सुदृढ संगठन, व्यापक जनसमर्थन र मुलुकको सर्वाधिक लोकप्रिय राजनीतिक शक्तिका रूपमा स्थापित रहेको दाबी गर्दै अध्यक्ष ओलीले पार्टीले राष्ट्रियता, लोकतन्त्र र संविधानको संरक्षणमा दृढतापूर्वक नेतृत्व प्रदान गर्ने बताए । उनले गत भदौमा भएको विध्वंसात्मक घटनाले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुगेको क्षतिको पुनःनिर्माण एमालेको प्रमुख दायित्व हुने उल्लेख गरे ।
अध्यक्ष ओलीले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा केवल समर्पण र सम्झौताबाट सम्भव नहुने भन्दै आवश्यक परे प्रतिरोध, प्रतिवाद र प्रतिरक्षाको नीति अपनाइने स्पष्ट पारे । “राष्ट्रिय हितको रक्षा दृढ अडान र स्पष्ट दृष्टिकोणबाट मात्र सम्भव हुन्छ,” उनले भने । छलफल कार्यक्रममा सहभागी विज्ञहरूले पार्टीको घोषणापत्र जनताको दैनिकीसँग प्रत्यक्ष जोडिने, आर्थिक भार कम गर्ने र जीवनस्तर उकास्ने खालको हुनुपर्ने सुझाव दिएका थिए । उनीहरूले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगारी र सुशासनलाई घोषणापत्रको केन्द्रीय विषय बनाउनुपर्नेमा जोड दिएका छन् । एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा सात सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
समितिमा पार्टीका उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल सदस्य छन् भने महासचिव शङ्कर पोखरेलसहित ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्यका रूपमा रहेका छन् । पार्टीका अनुसार मस्यौदा समितिले विज्ञ, सरोकारवाला र जनस्तरबाट प्राप्त सुझावलाई समेट्दै घोषणापत्रलाई अन्तिम रूप दिनेछ । घोषणापत्रमार्फत एमालेले आगामी पाँच वर्षका लागि स्पष्ट नीति, कार्यक्रम र प्राथमिकता सार्वजनिक गर्दै जनतासँग मत माग्ने तयारी गरेको छ ।




































