प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच दुई घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा बिहीबार महत्वपूर्ण छलफल भएको छ ।

बिहान १० बजे अध्यक्ष ओली नेता विष्णु रिमालसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बालुवाटारमा भएको करिब ४५ मिनेट लामो भेटवार्तामा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी थिए । छलफलमा आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक तयारी, सुरक्षा व्यवस्था र व्यवस्थापनका विषयमा गहन कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार अध्यक्ष ओलीले सुरुमा नै हिमाली जिल्लामा निर्वाचन दोस्रो चरणमा गर्न सकिने प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति चासो व्यक्त गरेका थिए । उनले देशभर एकै चरणमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै कुनै कारणले मतदान स्थगित वा दोहोरिनुपर्ने अवस्था आएमा चरणहरूबीच धेरै अन्तर नपरोस् भन्ने धारणा राखेका थिए ।

यसैगरी, अध्यक्ष ओलीले मतदान सम्पन्न भएपछि ढिलाइ नगरी तुरुन्तै मतगणना सुरु गर्न सरकारलाई आग्रह गरेका थिए। समयमै मतगणना नभए अनावश्यक आशंका, विवाद र अविश्वास बढ्न सक्ने भन्दै उनले स्पष्ट र पारदर्शी प्रक्रिया आवश्यक रहेको बताएका थिए । साथै, मतदानस्थलको सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्नेमा पनि उनले जोड दिएका थिए । छलफलका क्रममा ओलीले समग्र चुनावी सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै सम्भावित धाँधलीप्रति आशंका रहेको बताएका थिए । विशेषगरी नेपाली सेनाको परिचालनका विषयमा उनले सन्तुलित भूमिका हुनुपर्ने धारणा राखेका थिए । एमाले निकट स्रोतका अनुसार ओलीले नागरिक र मतदान केन्द्रको सुरक्षामा कुनै कमजोरी नहुने व्यवस्था गर्न आग्रह गर्दै सेनालाई अग्रपंक्तिभन्दा पछाडि ‘ब्याक फोर्स’का रूपमा राख्नुपर्ने सुझाव दिएका थिए ।

‘नागरिक र मतदान केन्द्र दुवै सुरक्षित हुनुपर्छ । तर सेनाको भूमिका सन्तुलित र जिम्मेवार हुनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ । जवाफमा प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सबै तयारी गरिरहेको बताएकी थिइन्। उनले शान्तिपूर्ण निर्वाचन सफल बनाउन सरकार, राजनीतिक दल र नागरिक सबैको साझा दायित्व रहेको उल्लेख गरिन्। ‘अहिलेसम्म सबै पक्ष जिम्मेवार रूपमा प्रस्तुत भएका छन्। हामी शान्ति र स्थायित्व कायम गर्न निरन्तर काम गरिरहेका छौँ,’ प्रधानमन्त्रीले भनिन्। प्रधानमन्त्रीले फागुन २१ गते देशभर एकै चरणमा निर्वाचन गराउने सरकारको लक्ष्य रहेको स्पष्ट पारेकी थिइन् । चुनावको क्रममा मौसम, चाडपर्व वा अन्य चुनौती आए पनि संयमता र सहकार्यका साथ सामना गर्न दुवै पक्ष सहमत भएको सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्रीले वर्तमान परिस्थितिलाई चुनौतीपूर्ण जिम्मेवारीको रूपमा व्याख्या गर्दै सबै पक्ष मिलेर लोकतान्त्रिक प्रक्रिया सफल बनाउनुपर्नेमा जोड दिएकी थिइन् । ‘यो असामान्य अवस्थामा आएको जिम्मेवारी हो। सबै मिलेर पूरा गर्नुपर्छ,’ उनको भनाइ थियो ।

छलफलका क्रममा अध्यक्ष ओलीले माघ २३ गते झापा जाने कार्यक्रम रहेको जानकारी गराउँदै शान्ति सुरक्षा र आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले एमाले हिंसा र अव्यवस्थामा विश्वास नगर्ने पार्टी भएको उल्लेख गर्दै बुथ कब्जा, धम्की र अवाञ्छित गतिविधिमा आफ्नो पक्षबाट कुनै संलग्नता नहुने स्पष्ट पारेका थिए । ‘एमाले सधैँ शान्ति र लोकतान्त्रिक मूल्यमा विश्वास गर्छ । मेरो क्षेत्र झापा–५ मा अहिलेसम्म बुथ कब्जाको कुनै इतिहास छैन,’ ओलीको भनाइ थियो । भेटवार्ताका क्रममा दुवै नेताबीच विगतका राजनीतिक अनुभव, आपसी सम्बन्ध र समसामयिक विषयमा पनि अनौपचारिक छलफल भएको स्रोतले जनाएको छ । समग्रमा भेट सकारात्मक वातावरणमा सम्पन्न भएको र आगामी निर्वाचनलाई शान्तिपूर्ण तथा विश्वसनीय बनाउन साझा प्रतिबद्धता दोहोर्‍याइएको बताइएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।