अख्तियार प्रमुखलाई ज्यानमार्ने धम्की दिनेलाई फिलिपिन्सबाट झिकाइयो

काठमाडौं । आफूलाई ‘एक्स्ट्रिमिस्ट ग्रुप’ वा ‘नेपाल इजिएन’को अध्यक्ष बताउँदै आफ्नो इमेल आइडी प्रयोग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्तिमाथि छ वटा मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार धम्की दिने व्यक्ति काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–१ घर भई हाल फिलिपिन्समा बस्दै आएका ३४ वर्षीय प्रकाश पाठक हुन्। उनलाई इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याइएको हो। प्रहरीका अनुसार पाठकलाई फिलिपिन्सबाट आजै काठमाडौँ ल्याएर काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले प्रारम्भिक अनुसन्धानका लागि तीन दिनको म्याद थप गरी उनलाई प्रहरीको जिम्मा लगाएको भट्टराईले जानकारी दिए।

प्रहरीले पाठकविरुद्ध केही सार्वजनिक अपराध, ठगीसम्बन्धी कसूर, आपराधिक लाभ लिन नहुने, आपराधिक षड्यन्त्र गर्न नहुनेलगायत विभिन्न कसूरमा छ वटा मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनले योजनाबद्ध रूपमा धम्कीपूर्ण सन्देश पठाएको, झुटो पहिचान प्रयोग गरेको र विभिन्न माध्यमबाट भ्रम सिर्जना गर्न खोजेको देखिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार पाठकले सन् २०२५ अक्टोबर २२ मा आफूले प्रयोग गर्ने इमेल आइडीमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्तसहित अन्य १० जनालाई लक्षित गरी ज्यान मार्ने धम्की दिएका थिए। उक्त इमेलमा गम्भीर प्रकृतिका धम्कीपूर्ण भाषा प्रयोग गरिएको र सार्वजनिक सुरक्षामा प्रत्यक्ष असर पार्ने आशय देखिएको थियो। धम्की प्राप्त भएपछि सम्बन्धित निकायले तत्काल प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गर्दै पाठकलाई खोजीको सूचीमा राखेको थियो। उनी नेपालबाहिर बस्दै आएको खुलेपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत फिलिपिन्सस्थित इन्टरपोलसँग समन्वय गरी पक्राउ प्रक्रिया अघि बढाइएको थियो।

लामो समयको समन्वयपछि फिलिपिन्स प्रहरीले उनलाई नियन्त्रणमा लिई नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो। त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई नेपाल ल्याइएको हो। प्रहरीका अनुसार हाल पाठकको डिजिटल गतिविधि, इमेल प्रयोग, सम्भावित नेटवर्क, आर्थिक कारोबार र अन्य आपराधिक संलग्नताबारे पनि विस्तृत रूपमा अनुसन्धान भइरहेको छ। धम्की दिने पछाडि कुनै संगठित समूहको संलग्नता छ वा छैन भन्ने विषयमा समेत छानबिन भइरहेको प्रहरीले जनाएको छ। यस घटनालाई गम्भीर प्रकृतिको अपराधका रूपमा लिँदै सुरक्षा निकायले संवेदनशील निकायमाथि हुने यस्ता धम्कीलाई नियन्त्रण गर्न कडाइका साथ अनुसन्धान अघि बढाइने बताएका छन्। अनुसन्धान पूरा भएपछि अभियोजनका लागि सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।