रौतहट । गौर नगर क्षेत्रमा शनिबारदेखि जारी कर्फ्यु आइतबार बिहान बसेको सर्वपक्षीय बैठकपछि पनि यथावत् राखिएको छ । स्थानीय प्रशासनले सुरक्षा अवस्थाको संवेदनशील मूल्यांकनका आधारमा तत्काल कर्फ्यु हटाउन नसकिने निष्कर्ष निकालेको हो।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्थिति अझै पूर्ण रूपमा सामान्य नभएकाले कर्फ्यु कायमै राखिएको जानकारी दिए । सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “कर्फ्यु तत्काल हटाउन सकिने अवस्था छैन । दुई समुदायबीच झडप भएको गौर नगरपालिका–६ को सबगढाका १५/२० जना (दुवै समुदायका) स्थानीयलाई बोलायौँ । उहाँहरूबीच सद्भाव कायम गर्ने, कुनै विवाद नगर्ने प्रतिबद्धता र सहमति भयो र त्यसको कार्यान्वयन सुनिश्चित हुने अवस्था देखिएपछि मात्रै कर्फ्यु हटाउने विषयमा विचार गर्छौँ।”
फागुन ७ गते राति करिब ९ः४५ बजे गौर नगरपालिका–६ को सबगढा गाउँमा सुरु भएको विवाद सामान्य रूपमा समाधानतर्फ उन्मुख भए पनि फागुन ८ गतेदेखि पुनः उग्र रूप लिएको प्रशासनको भनाइ छ। परिस्थिति जटिल बन्दै गएपछि सम्भावित जनधनको क्षति रोक्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार फागुन ९ गते दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। आइतबार बिहान जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी भुसालकै अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लामा सौहार्दपूर्ण वातावरण कायम गर्न पाँच बुँदे निर्णय गरेको छ ।
बैठकमा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सुरक्षा निकाय र सरोकारवाला पक्षको सहभागिता रहेको थियो। बैठकले विवादका क्रममा भएका घटनाप्रति खेद प्रकट गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न सबै पक्षले सार्वजनिक अपिल जारी गर्ने निर्णय गरेको छ। यसअघि स्थानीय प्रतिनिधि तथा अगुवाबीच छ बुँदे सहमति भएको जानकारी बैठकलाई गराइएको थियो। यद्यपि त्यसपछि पनि अवस्था जटिल बनेकाले थप पहल आवश्यक ठहरिएको छ।
त्यसैगरी, सबगढा गाउँमा देखिएको विवाद समाधान गर्न दुवै पक्षका स्थानीय भद्रभलादमी व्यक्तिहरूलाई उपस्थित गराई जिल्ला सुरक्षा समितिले औपचारिक तथा अनौपचारिक छलफल अगाडि बढाउने निर्णय गरिएको छ। प्रशासनले समुदायस्तरमै विश्वास पुनःस्थापना गर्ने प्रयासलाई प्राथमिकता दिने जनाएको छ। बैठकले सामाजिक सञ्जालमा भइरहेको भ्रामक प्रचारप्रसारप्रति पनि गम्भीर चासो व्यक्त गरेको छ। अन्तर्राष्ट्रिय रूपमा घटेका घटनालाई रौतहटसँग जोडेर अनर्गल प्रचार गरी शान्तिपूर्ण अवस्थालाई खलल पुर्याउने गतिविधि देखिएमा आवश्यक कारबाही गर्ने निर्णय गरिएको छ।
लागि सुरक्षा निकायलाई सहयोग गर्ने प्रतिबद्धता बैठकले जनाएको छ। सबगढा गाउँलगायत अन्य केही स्थानमा धार्मिक तथा सामाजिक सद्भाव बिथोल्न खोज्ने व्यक्तिहरूमाथि सुरक्षा निकायले निगरानी बढाएको प्रशासनले जनाएको छ। घटनासम्बन्धी पक्राउ परेका व्यक्तिहरूको हकमा अनुसन्धानबाट दोषी देखिए कानुनी दायरामा ल्याई कारबाही गरिनेछ। साथै अनुसन्धानका क्रममा अन्य संलग्नता देखिए थप व्यक्तिलाई पनि कानुनी प्रक्रियामा ल्याइने निर्णय गरिएको छ।
सौहार्द र एकताको सन्देश प्रवाह गर्न बैठकले फागुन ११ गते बिहान ७ः३० बजे नागरिक समाजको अगुवाइमा सबगढामा सद्भाव र्याली आयोजना गर्ने निर्णय पनि गरेको छ। र्यालीमा सबै राजनीतिक दल, समुदायका अगुवा, सामाजिक संघसंस्था र सर्वसाधारणलाई सहभागी गराइनेछ। प्रशासनले यस कार्यक्रमलाई जिल्लामा धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव सुदृढ गर्ने अवसरका रूपमा लिएको जनाएको छ। हाल गौर नगर क्षेत्रको जनजीवन कर्फ्युका कारण प्रभावित बनेको छ। बजार, शैक्षिक संस्था तथा यातायात सेवा बन्द छन् भने सुरक्षा निकायले गस्ती र निगरानी कडा पारेको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, शान्ति कायम राख्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ। स्थानीय प्रशासनका अनुसार समुदायस्तरमा विश्वास पुनःस्थापना र शान्तिपूर्ण वातावरण सुनिश्चित भएपछि मात्र कर्फ्यु हटाउने निर्णय गरिनेछ। त्यसअघिसम्म सुरक्षा सतर्कता उच्च राखिने बताइएको छ।
यस्ता छन् ५ निर्णय
१. गौर नगरपालिका वडा नं. ६ को सबगढा गाउँमा मिति २०८२ फागुन ७ गते राति ९ः४५ बजे सुरु भएको विवाद सामान्य रूपले नै समाधान भइसके तापनि पुनः मिति २०८२ फागुन ८ गतेदेखि उग्र रूप लिएको हुँदा स्थानीयवासी प्रतिनिधि तथा अगुवा बसेर छबुँदे सहमति भएको बेहोरा अवगत भयो। तथापि मिति २०८२ फागुन ९ गते बिहानैदेखि परिस्थिति जटिल भएको अवस्था सिर्जना भई जिल्लाभित्र हुनसक्ने जनधनको क्षति रोक्न जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०८२।११।०९ दिउँसो १ः०० बजेदेखि सुरु भएको कर्फ्युको अवस्था यथावत् रहेको अवस्थामा जिल्लामा सौहार्दपूर्ण वातावरण कायम गर्न बोलाइएको यस सर्वपक्षीय बैठकबाट सो विवादको क्रममा भएका घटनाहरूप्रति खेद प्रकट गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न सरोकारवाला सबै पक्षले सार्वजनिक अपिल जारी गर्ने निर्णय गरियो।
२. सबगढा गाउँमा भएको विवाद समाधान गर्न सहयोगी हुने दुवै पक्षका स्थानीय भद्रभलादमी व्यक्तिहरूको उपस्थित गराई जिल्ला सुरक्षा समितिले औपचारिक/अनौपचारिक छलफल वा बैठक गरी समस्या समाधानका लागि पहल गर्ने निर्णय गरियो।
३. अन्तर्राष्ट्रिय रूपमा घटेका घटनाहरूलाई यस जिल्लाभित्रको घटना भएको भनी विभिन्न व्यक्तिहरूले सामाजि सञ्जालहरूमा अनर्गल रूपमा प्रचारप्रसार गरी शान्तिपूर्ण अवस्थामा खलल पुग्ने अवस्था देखिएमा आवश्यक कारबाही गर्ने कार्यमा सुरक्षा निकायलाई सहयोग गर्ने निर्णय गरियो।
४. सबगढा गाउँलगायत फाटफुट रूपमा कतिपय अन्य स्थानहरूमा धार्मिक सामाजिक सद्भाव बिथोल्न खोज्ने व्यक्तिहरूको सुरक्षा निकायबाट निगरानी भई नै रहेको अवस्था छ। उक्त घटनामा पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा सुरक्षा निकायको अनुसन्धानबाट दोषी देखिएमा र अनुसन्धान हुँदै जाँदा दोषी अन्य व्यक्तिहरू समेतलाई कानुनी दायरामा ल्याई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गर्ने निर्णय गरियो।
५. रौतहट जिल्लाभर धार्मिक, सामाजिक–सांस्कृतिक सद्भाव कायम गर्न तथा सार्वजनिक शान्ति कायम गर्न र रौतहट जिल्लाबाट धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिने उद्देश्यले भोलि मिति २०८२।११।११ गते बिहान ७ः३० बजे नागरिक समाजको अगुवाइमा सरोकारवाला सबैलाई सहभागी गराई सबगढामा सद्भाव र्याली गर्ने निर्णय गरियो।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































