सामाजिक सद्भाव र सहिष्णुताको खाँचो

मधेशको गौर नगरपालिकामा सामान्य विवादबाट सुरु भएको घटनाले आगजनी र तोडफोडको रूप लियो । आगजनी र अन्य स्थानमा सवारीसाधनहरू जलाइएका घटनाले सर्वसाधारणमा ठूलो त्रास फैलाएको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गर्नुपर्ने अवस्था सिर्जना भयो ।

गौर बजार र आसपासका क्षेत्र सुनसान देखिए पनि भित्री बस्तीहरूमा अझै तनाव मत्थर नहुनुले सुरक्षा चुनौती अझै बाँकी रहेको संकेत गर्छ । तराई–मधेशमा प्रायः सांस्कृतिक कार्यक्रम, चाडपर्व वा शोभायात्राका बेला यस्ता साम्प्रदायिक हिंसाहरू हुने गरेको देखिन्छ । एउटा समुदायले अर्को समुदायको आस्था वा भावनामा ठेस पुग्ने गरी गतिविधि गर्दा वा सानो कुरालाई प्रतिष्ठाको विषय बनाउँदा त्यसले ठूलो हिंसाको रूप लिने गरेको छ ।

गौरको वर्तमान स्थिति पनि यसैको एउटा कडी हो, जहाँ सानो विवादलाई भड्काएर ६ वटा मोटरसाइकल र २ वटा जीप जलाउने तहसम्म पुर्‍याइयो । यस्ता हिंसात्मक गतिविधिले कसैको पनि हित गर्दैन, बरु यसले समाजमा पुस्तौँदेखि कायम रहेको विश्वास र एकतालाई भत्काउने काम मात्र गर्छ ।

साम्प्रदायिक तनाव फैलाउनुमा पछिल्लो समय सामाजिक सञ्जालको भूमिका निकै नकारात्मक देखिएको छ । गौरको घटनामा पनि भ्रामक सूचना र भड्काऊ सामग्रीले आगोमा घिउ थप्ने काम गरेको सुरक्षा अधिकारीहरूको विश्लेषण छ । प्रविधिको दुरुपयोग गरी समाजमा घृणा फैलाउनेहरूलाई पहिचान गरी कडा कानूनी कारबाहीको दायरामा ल्याउनु अहिलेको मुख्य आवश्यकता हो । प्रशासनले अफवाहमा विश्वास नगर्न र सामाजिक सञ्जालमा संयमता अपनाउन गरेको आग्रहलाई सबै नागरिकले गम्भीरतापूर्वक लिनुपर्छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले स्थिति नियन्त्रणमा लिन सबै सुरक्षा संयन्त्र परिचालन गरिएको र स्थानीय अगुवाहरूसँग छलफल भइरहेको जनाएका छन् । कर्फ्युका कारण विद्यालय, वित्तीय संस्था र बजार ठप्प हुँदा दैनिक ज्यालादारी गर्ने मजदुर र साना व्यवसायीहरू सबैभन्दा बढी प्रभावित भएका छन् । शान्ति र अमनचयन नहुँदासम्म विकास र समृद्धि सम्भव छैन । सुरक्षा निकायले बल प्रयोग गरेर मात्र होइन, बरु दुवै समुदायका अगुवाहरूलाई एकै ठाउँमा राखेर दीर्घकालीन मेलमिलापको वातावरण बनाउनुपर्छ ।

तराई–मधेशको सुन्दरता भनेकै यहाँको मिश्रित संस्कृति र साझा सद्भाव हो । कुनै पनि बहानामा हुने साम्प्रदायिक हिंसाले अन्ततः आफ्नै छिमेकी र समाजलाई कमजोर बनाउँछ । गौरमा देखिएको संकटलाई छिटोभन्दा छिटो समाधान गरी सामान्य अवस्थामा फर्काउन स्थानीय नागरिक, राजनीतिक दल र नागरिक समाजको अहम् भूमिका खेल्नुपर्छ । आपसी घृणा र द्वन्द्व त्यागेर सद्भाव र एकताको बाटो रोज्नु नै आजको उत्तम विकल्प हो । प्रशासनको सतर्कता र नागरिकको संयमताले मात्र गौर र समग्र मधेशमा शान्ति पुनःस्थापना हुन सक्छ ।

मिति २०८२ फागुन ११ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।