काठमाडौं । आउँदो प्रतिनिधिसभाको निर्वाचनलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्ने तयारीका बीच निर्वाचन आयोग ले मतदानको दिन सञ्चालन हुने सवारीसाधनसम्बन्धी विशेष व्यवस्था सार्वजनिक गरेको छ।
आयोगले शनिबार सूचना जारी गर्दै मतदानका दिन केही अत्यावश्यक सेवा तथा विशेष प्रयोजनका सवारीसाधनलाई पासविना नै सञ्चालन गर्न दिने निर्णय गरेको जनाएको हो। निर्वाचनको दिन सामान्यतया सवारी आवागमनमा कडाइ गरिने भए पनि जीवनरक्षक, सेवा–प्रवाह र आपूर्ति प्रणाली अवरुद्ध नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ।
आयोगका अनुसार एम्बुलेन्स, दमकल र शववाहनजस्ता आकस्मिक सेवाका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्नेछ। आकस्मिक स्वास्थ्य समस्या, आगलागी वा अन्य विपद्का घटनामा तुरुन्तै सेवा दिनुपर्ने भएकाले यस्ता सवारीलाई निर्बाध रूपमा सञ्चालन गर्न दिने निर्णय गरिएको हो। यद्यपि, आयोगले ती सवारीसाधनले तोकिएको प्रयोजनबाहेक अन्य असम्बन्धित यात्रु बोक्न नपाउने स्पष्ट पारेको छ। अत्यावश्यक सेवा प्रवाहको नाममा दुरुपयोग हुन नदिन कडाइका साथ अनुगमन गरिने पनि जनाइएको छ।
यसैगरी दैनिक उपभोग्य वस्तुको आपूर्ति अवरुद्ध नहोस् भन्ने उद्देश्यले खानेपानीका ट्यांकर, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई पनि पासविना सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ। निर्वाचनको दिन सार्वजनिक यातायातमा कडाइ हुँदा बजारमा उपभोग्य वस्तुको अभाव सिर्जना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै आयोगले यस्तो सहुलियत दिएको हो। विशेषगरी अस्पताल, होटल, सुरक्षाकर्मी र सर्वसाधारणका लागि आवश्यक आधारभूत सामग्री समयमै उपलब्ध गराउन आपूर्ति श्रृंखला सुचारु राख्नुपर्ने भएकाले यी सवारीलाई छुट दिइएको बताइएको छ।
त्यस्तै, दूरसञ्चार, खानेपानी, विद्युत् तथा ढल मर्मतजस्ता अत्यावश्यक पूर्वाधार सेवामा संलग्न सवारीसाधनलाई पनि पास आवश्यक नपर्ने व्यवस्था गरिएको छ। मतदानको दिन कुनै प्राविधिक समस्या देखिएमा तत्काल मर्मत सम्भार गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। सञ्चार सेवा अवरुद्ध हुँदा निर्वाचन प्रक्रियामै असर पर्न सक्ने भएकाले सम्बन्धित निकायका प्राविधिक टोलीलाई आवतजावतमा सहजता प्रदान गरिएको आयोगले जनाएको छ।
अस्पताल सेवासँग सम्बन्धित सवारीसाधनहरूलाई पनि विशेष छुट दिइएको छ। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न प्रयोग हुने सवारीलाई पास नचाहिने व्यवस्था गरिएको छ। निर्वाचनका दिन पनि अस्पताल सेवा निरन्तर सञ्चालनमा रहने भएकाले स्वास्थ्यकर्मीको उपस्थितिमा बाधा नपुगोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो। आपतकालीन कक्ष, प्रसूति सेवा र सघन उपचार कक्षजस्ता संवेदनशील सेवामा कार्यरत जनशक्तिलाई सहज पहुँच सुनिश्चित गर्न आयोगले सम्बन्धित निकायसँग समन्वय गरेको जनाएको छ।
मानवीय पक्षलाई समेत ध्यानमा राख्दै आयोगले हिडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपांगता भएका व्यक्ति, हिडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता तथा उनीहरूसँग एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि छुट दिएको छ। मतदानमा सहभागी हुन वा अत्यावश्यक पारिवारिक तथा स्वास्थ्य कारणले यात्रा गर्नुपर्ने अवस्थालाई संवेदनशील रूपमा हेर्दै यस्तो व्यवस्था गरिएको हो। लोकतान्त्रिक अधिकार प्रयोग गर्न चाहने सबै मतदातालाई सहज वातावरण उपलब्ध गराउने आयोगको प्रतिबद्धताअनुसार यो निर्णय भएको बताइएको छ।
यसका अतिरिक्त नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधनलाई पनि पास नचाहिने व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र दूतावासको नियमित कामकाजलाई असर नपुगोस् भन्ने उद्देश्यले यस्तो छुट दिइएको हो। त्यस्तै, आयोगबाट जारी गरिएको परिचपत्र भएका निर्वाचन पर्यवेक्षकहरूले प्रयोग गर्ने सवारीसाधन, राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमनका लागि प्रयोग हुने सवारीसाधन तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनलाई पनि पास आवश्यक नपर्ने आयोगले जनाएको छ। निर्वाचनको पारदर्शिता, स्वतन्त्र अनुगमन र समाचार संप्रेषणलाई प्रभावकारी बनाउन यी वर्गलाई सहुलियत दिइएको हो।
आयोगले सबै सरोकारवालालाई तोकिएको प्रयोजनबाहेक सवारीसाधन प्रयोग नगर्न र सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग सहकार्य गर्न आग्रह गरेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षको जिम्मेवार व्यवहार आवश्यक हुने भन्दै आयोगले नियम उल्लंघन गर्नेविरुद्ध कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।



































