मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा तीन दलको चिन्ता

काठमाडौं । मध्यपूर्व क्षेत्रमा पछिल्लो समय विकसित सैन्य तनावका बीच त्यहाँ कार्यरत नेपाली नागरिकको सुरक्षालाई लिएर नेपालका प्रमुख चार राजनीतिक दलले सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र रास्वपाका शीर्ष नेतृत्वले अलग–अलग रूपमा सार्वजनिक अपिल जारी गर्दै मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारलाई अविलम्ब कदम चाल्न आग्रह गरेका हुन्।

अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको सैन्य आक्रमण र त्यसको जवाफस्वरूप इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेपछि क्षेत्रीय अवस्था थप तनावग्रस्त बनेको छ। पछिल्ला घटनाक्रमले जनजीवन प्रभावित हुनुका साथै विभिन्न देशमा रोजगारी र व्यवसायका सिलसिलामा रहेका नेपाली नागरिक पनि असुरक्षित महसुस गरिरहेका छन्। यही सन्दर्भमा प्रमुख दलहरूले सरकारलाई उच्च सतर्कता अपनाउन र आवश्यक कूटनीतिक पहल गर्न आह्वान गरेका हुन्।

गगन थापाले सामाजिक सञ्जालमार्फत मध्यपूर्वको विकसित परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा झन संवेदनशील बनेको बताएका छन्। “मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिले हामीलाई चिन्तित बनाएको छ। विभिन्न देशहरूमा रहनुभएका सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा झन संवेदनशील बनेको छ,” उनले लेखेका छन्। थापाले मध्यपूर्वमा रहेका नेपालीलाई परिस्थितिबारे सुसूचित रहन, सुरक्षा सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै बस्न अनुरोध गरेका छन्।

थापाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासहरूलाई त्यहाँको अवस्थाबारे निरन्तर जानकारी संकलन गर्न र आवश्यक परे तत्काल सहायता तथा सुरक्षित व्यवस्थापनको पहल गर्न आग्रह गरेका छन्। उनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै समन्वयात्मक र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

त्यस्तै, केपी शर्मा ओली ले पनि मध्यपूर्वको पछिल्लो तनावले आफूहरूलाई चिन्तित बनाएको बताएका छन्। “मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ,” उनले उल्लेख गरेका छन्। उनले संयुक्त अरब इमिरेट्स (यूएई), इजरायल, इरान लगायतका देशहरूमा रहेका नेपालीलाई सुरक्षित र सजग रहन आग्रह गर्दै त्यहाँस्थित नेपाली दूतावास र नेपाल सरकारलाई नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गरेका छन्।

ओलीले विशेषगरी उच्च जोखिमयुक्त क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे नियमित अद्यावधिक जानकारी लिन र आवश्यक परे उद्धार तथा सुरक्षित स्थानान्तरणको तयारी अवस्थामा रहन सरकारलाई सुझाएका छन्। मध्यपूर्वका विभिन्न देशमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले कुनै पनि असहज परिस्थिति उत्पन्न भएमा त्यसको प्रत्यक्ष असर नेपाली परिवारमा पर्ने उल्लेख उनले गरेका छन्।

उता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सामाजिक सञ्जालमार्फत इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछिका घटनाक्रमले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सिर्जना गरेको बताएका छन्। “यस परिस्थितिप्रति म गहिरो चिन्ता व्यक्त गर्दछु,” उनले उल्लेख गरेका छन्।

प्रचण्डले मध्यपूर्वमा कार्यरत लाखौं नेपालीको सुरक्षा नेपाल सरकारको प्रमुख प्राथमिकता हुनुपर्ने बताएका छन्। विकसित परिस्थितिको प्रत्यक्ष प्रभाव उनीहरूमा पर्न सक्ने भन्दै उनले उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न तथा कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।

मध्यपूर्वका कतिपय देश नेपाली श्रमिकका प्रमुख गन्तव्य रहेकाले त्यहाँको अस्थिरताले वैदेशिक रोजगारी, रेमिट्यान्स र परिवारको जीवनयापनमा समेत असर पार्न सक्ने विश्लेषण गरिएको छ। प्रमुख तीन दलको साझा चिन्ताले सरकारमाथि मध्यपूर्वस्थित नेपालीको अवस्थाबारे गम्भीर अनुगमन गर्न र सम्भावित संकट व्यवस्थापनका लागि तयारी अवस्थामा रहन दबाब बढाएको छ। अब सरकारको तर्फबाट कस्तो कूटनीतिक र व्यवस्थापकीय कदम चालिन्छ भन्ने चासो बढेको छ।

त्यस्तै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपालीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि सुरु भएको युद्धमा सतर्क भएर सुरक्षित स्थानमा रहन बालेनले अनुरोध गरेका हुन् ।

“राजदूतावासले हालको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कृपया सकेसम्म घरभित्रै सुरक्षित रहनुहुन, स्थानीय सुरक्षा निकायका निर्देशनहरू पूर्णरूपमा पालना गर्नुहुन, अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्नुहुन र नजिकैको सुरक्षित आश्रयस्थलको जानकारी राख्नु हुन अनुरोध गर्दछु,” बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “आधिकारिक सूचना, समाचार र राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहुन समेत अनुरोध छ ।” बालेनले सुरक्षित र सजग रहन भनेका छन् ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।