नेपालमा इरानी नागरिकलाई ’अनराइभल भिसा’ सुविधा बन्द

काठमाडौं । नेपाल सरकारले इरानका नागरिकलाई दिँदै आएको ‘अन अराइभल भिसा’ सुविधा बन्द गर्ने निर्णय गरेको छ। अब इरानका सर्वसाधारण नागरिकले नेपाल प्रवेश गर्नुअघि विदेशस्थित नेपाली कूटनीतिक नियोगबाट भिसा लिएर मात्र यात्रा गर्नुपर्ने भएको छ।

अध्यागमन विभागका अनुसार सरकारी तथा कूटनीतिक राहदानीवाहक बाहेक इरानका अन्य सबै नागरिकका लागि विमानस्थल वा सीमा नाकामा पुगेर भिसा प्राप्त गर्ने सुविधा रोकिएको छ। यससँगै नेपालले अन अराइभल भिसा नदिने देशहरूको सूची थप विस्तार भएको छ। विभागका अधिकारीहरूका अनुसार नयाँ निर्णयअनुसार इरानका नागरिकले अब नेपाल भ्रमण गर्न चाहेमा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावास वा कूटनीतिक नियोगबाट अग्रिम रूपमा भिसा लिनुपर्नेछ। यसअघि भने सामान्य राहदानी भएका इरानी नागरिकले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर ‘अन अराइभल भिसा’ प्राप्त गर्न सक्ने व्यवस्था थियो।

अध्यागमन विभागले सुरक्षासम्बन्धी तथा प्रशासनिक व्यवस्थापनका कारण यस्तो निर्णय गरिएको जनाएको छ। यस निर्णयसँगै नेपालले अन अराइभल भिसा सुविधा बन्द गरेका मुलुकको संख्या १३ पुगेको छ। यसअघि नै नाइजेरिया, घाना, जिम्बाबे, क्यामरुन, स्वाजिल्यान्ड, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकलाई नेपाल प्रवेशका लागि अन अराइभल भिसा नदिने व्यवस्था लागू गरिएको छ।

ती देशका नागरिकले पनि नेपाल आउनुअघि सम्बन्धित देशमा रहेका नेपाली दूतावासबाट भिसा लिनुपर्ने प्रावधान रहेको छ। अध्यागमन विभागका अनुसार यो व्यवस्था लागू भएसँगै नेपालमा प्रवेश गर्ने विदेशी नागरिकहरूको आगमन प्रक्रियामा थप कडाइ गरिने भएको छ। सुरक्षा जोखिम, मानव तस्करी, अवैध बसोबास तथा कागजात दुरुपयोगजस्ता सम्भावित समस्यालाई ध्यानमा राखेर यस्तो नीतिगत निर्णय गरिएको अधिकारीहरूको भनाइ छ।

यस्तै, शरणार्थी हैसियतमा रहेका व्यक्तिहरूले पनि नेपाल प्रवेश गर्नुअघि अनिवार्य रूपमा भिसा लिनुपर्ने व्यवस्था यथावत् राखिएको विभागले जनाएको छ। कुनै पनि शरणार्थी परिचयपत्र वा अस्थायी कागजातका आधारमा अन अराइभल भिसा दिने व्यवस्था नेपालमा छैन।पर्यटन क्षेत्रमा भने यो निर्णयले केही प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। पछिल्ला वर्षहरूमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको संख्या बढ्दै गएको अवस्थामा केही देशका नागरिकका लागि भिसा प्रक्रियामा कडाइ गरिनु प्रशासनिक दृष्टिले आवश्यक ठानिएको अधिकारीहरूले बताएका छन्।

नेपाल सरकारले अधिकांश देशका नागरिकलाई भने अझै पनि अन अराइभल भिसा सुविधा उपलब्ध गराउँदै आएको छ। विशेषगरी पर्यटन प्रवद्र्धनका लागि यो सुविधा उपयोगी मानिन्छ। तर सुरक्षा तथा कूटनीतिक कारणले केही देशका नागरिकका लागि अग्रिम भिसा अनिवार्य गरिएको छ। अध्यागमन विभागले नयाँ व्यवस्था लागू भइसकेकाले इरानबाट नेपाल आउन चाहने नागरिकले यात्रा योजना बनाउँदा सम्बन्धित नेपाली दूतावासबाट भिसा प्राप्त गरेपछि मात्र यात्रा गर्न आग्रह गरेको छ। विभागका अनुसार भिसासम्बन्धी विस्तृत जानकारी विदेशस्थित नेपाली कूटनीतिक नियोग वा आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।

 प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।