बालेनलाई प्रधानमन्त्री बनाउन विधान संशोधन गर्दैछ रास्वपा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठनको बहस तीव्र हुँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक छलफल पनि झन् सक्रिय भएको छ । निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’लाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा उत्रिएको रास्वपाले प्रतिनिधिसभामा दुई तिहाइ नजिकको सिट हासिल गरेपछि पार्टीभित्र सरकार गठनको तयारीलाई प्राथमिकता दिइएको छ ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै रास्वपाको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टीघर’मा नेता–कार्यकर्ता तथा समर्थकहरूको भीड बढ्न थालेको छ । पार्टीका नवनिर्वाचित सांसद, स्थानीय नेता तथा कार्यकर्ताहरू कार्यालय पुगेर भेटघाट र छलफल गरिरहेका छन् । तर, पार्टीका शीर्ष नेता रवि लामिछाने र बालेन्द्र शाह भने निर्वाचन परिणामपछि पनि औपचारिक रूपमा पार्टी कार्यालय पुगेका छैनन् ।

पार्टी कार्यालयमा पुग्ने अधिकांश नेता–कार्यकर्ताहरू उपसभापति डीपी अर्यालसँग भेटघाट गरी फर्किने गरेका छन् । कार्यालयमा हुने नियमित भेटघाट तथा आन्तरिक संवादको व्यवस्थापन अर्यालले नै सम्हालिरहेका छन् । लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार, निर्वाचन अभियानका क्रममा अत्यधिक दौडधुप भएपछि सभापति लामिछाने केही दिनदेखि स्वास्थ्य समस्याका कारण आराम गरिरहेका छन् । उनका अनुसार लामिछाने भाइरल ज्वरोका कारण बूढानीलकण्ठस्थित आफ्नै निवासमा विश्राममा छन् । निर्वाचन प्रचारका क्रममा अत्यधिक चाप परेका कारण स्वास्थ्यमा असर परेको उनले बताए ।

“सभापति केही दिनयता भाइरल ज्वरोका कारण आराम गरिरहनुभएको छ,” आचार्यले भने, “निर्वाचन अभियानका बेला धेरै दौडधुप भयो । जनकपुरको सभामा जाँदा खुट्टामा लागेको घाउ पनि अझै पूर्ण रूपमा निको भएको छैन । त्यसैले अहिले उहाँले केही समय स्वास्थ्य सुधारमा ध्यान दिनुभएको छ ।”
पार्टीभित्रका एक निर्वाचित नेताका अनुसार, लामिछाने र बालेन शाहबीच भने पार्टी कार्यालयबाहिर निरन्तर छलफल र भेटघाट भइरहेको छ । नयाँ सरकार गठन, संसदीय दलको नेतृत्व, समानुपातिक सांसद चयन तथा क्याबिनेट संरचनासम्बन्धी विषयमा उनीहरूबीच नियमित संवाद भइरहेको ती नेताले बताए । उनका अनुसार अहिले पार्टीभित्र मुख्य रूपमा तीन विषयमा गृहकार्य भइरहेको छ—समानुपातिकतर्फका सांसदहरूको क्लस्टर मिलाउने, पार्टी विधानअनुसार बालेनलाई संसदीय दलको नेता चयन गर्ने प्रक्रिया टुंग्याउने तथा सम्भावित मन्त्रिपरिषद्को प्रारम्भिक खाका बनाउने ।

“शीर्ष नेताहरूबीच निरन्तर गृहकार्य भइरहेको छ,” ती नेताले भने, “समानुपातिक सांसद चयन गर्ने, पार्टीको विधानअनुसार आवश्यक प्रक्रिया पूरा गर्ने र नयाँ सरकार गठनको रणनीति बनाउने विषयमा छलफल चलिरहेको छ ।” यसैबीच पार्टी कार्यालयमा उपसभापति डीपी अर्यालले नवनिर्वाचित सांसदहरूसँग भेटघाट तथा संवादलाई निरन्तरता दिइरहेका छन् । बाहिरी जिल्लाबाट निर्वाचित सांसदहरू काठमाडौं आएपछि कार्यालयमै पुगेर अर्यालसँग भेटघाट गर्ने गरेका छन् । ती नेताका अनुसार अर्यालले अधिकांश समय पार्टी कार्यालयमै बिताइरहेका छन् । उनले सांसदहरूबीच समन्वय गर्दै पार्टीको आगामी रणनीतिबारे छलफल गरिरहेका छन् ।

“डीपीजीले कार्यालयबाटै अधिकांश भेटघाट गरिरहनुभएको छ,” ती नेताले भने, “बाहिरी जिल्लाबाट आएका सांसदहरू कार्यालयमै पुगेर भेटघाट गर्नुहुन्छ । आवश्यक समन्वय पनि उहाँले नै गरिरहनुभएको छ ।” रास्वपाकी सहायक प्रवक्ता प्रतिभा रावलका अनुसार निर्वाचन अभियानपछि धेरै नेताहरू थकित भएकाले केही समय आराममा रहेका छन् । केही नेता अझै पनि आफ्ना निर्वाचन क्षेत्रमै रहेका उनले बताइन् । “निर्वाचनका कारण अधिकांश नेताहरू निकै थकित हुनुहुन्छ,” रावलले भनिन्, “धेरै जना अझै जिल्ला–जिल्लामै हुनुहुन्छ । केही नेताहरू स्वास्थ्य समस्या भएका कारण आराम गरिरहनुभएको छ । सभापतिलाई पनि स्वास्थ्य समस्या देखिएको छ ।” उनका अनुसार लामिछानेको स्वास्थ्य जाँचका लागि उनी हालै त्रिवि शिक्षण अस्पतालमा पनि पुगेका थिए । इन्फेक्सन देखिएपछि उनलाई भेनमार्फत औषधि दिइएको उनले जानकारी दिइन् ।

“हिजो दिनभर उहाँ टिचिङ अस्पतालमै हुनुहुन्थ्यो,” रावलले भनिन्, “इन्फेक्सन देखिएपछि भेनबाट औषधि चलाइएको थियो । अहिले अवस्था सुधारोन्मुख छ ।” यद्यपि भौतिक रूपमा धेरै भेटघाट नभए पनि पार्टीभित्र आन्तरिक संवाद भने निरन्तर भइरहेको उनले बताइन् । विशेषगरी समानुपातिक सांसद चयन गरेर निर्वाचन आयोगमा पठाउने प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ ।रावलका अनुसार बालेन शाहलाई प्रधानमन्त्री बनाउने विषयमा पार्टीभित्र आवश्यक सबै प्रक्रिया टुंग्याउने तयारी भइरहेको छ । “हामीले चुनावअघि नै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेका छौँ,” उनले भनिन्, “त्यसैले उहाँलाई प्रधानमन्त्री बनाउन पार्टीभित्र के–के प्रक्रिया पूरा गर्नुपर्छ भन्ने विषयमा अहिले छलफल भइरहेको छ ।” गत पुस १३ गते रवि लामिछाने र बालेन्द्र शाहबीच भएको द्विपक्षीय सहमतिमा पनि यही व्यवस्था गरिएको थियो । उक्त सहमतिअनुसार पार्टीको केन्द्रीय सभापति लामिछाने रहने र प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने उल्लेख गरिएको छ ।

पार्टी स्रोतका अनुसार समानुपातिक सांसद चयन भएपछि संसदीय दल गठन गर्ने र त्यसपछि संसदीय दलको नेताको चयन प्रक्रिया अघि बढाइनेछ । त्यसपछि मात्र औपचारिक रूपमा प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्ने तयारी गरिएको छ । रास्वपाको विधानको धारा ६६ (८) मा संसदीय दलको नेता चयनसम्बन्धी विशेष व्यवस्था गरिएको छ ।

उक्त व्यवस्थाअनुसार प्रतिनिधिसभा निर्वाचनअघि नै पार्टीका साधारण सदस्यहरूको मतदानबाट संसदीय दलको नेता चयन गर्नुपर्ने उल्लेख गरिएको छ । बालेन शाह भने काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि गत माघ ४ गते पहिलोपटक रास्वपाको केन्द्रीय कार्यालय पुगेका थिए । त्यसपछि उनी पार्टीको जनकपुर सभामा सहभागी भएका थिए र त्यसपछि विभिन्न जिल्लाको चुनावी अभियानमा व्यस्त भएका थिए । निर्वाचन अभियानका क्रममा देशका विभिन्न भागमा पुगेका बालेन निर्वाचन परिणाम सार्वजनिक भएपछि भने काठमाडौंमै रहेका छन् । यद्यपि उनले हालसम्म औपचारिक रूपमा पार्टी कार्यालय पुगेर सार्वजनिक भेटघाट गरेका छैनन् । चुनावअघि भने बालेनले आफ्ना सल्लाहकार कुमार व्यञ्जनकारको ललितपुरस्थित निवासबाट विभिन्न राजनीतिक भेटघाट तथा संवाद गर्दै आएका थिए । अहिले पनि उनी निकट नेताहरूसँग परामर्श गर्दै नयाँ सरकार गठनसम्बन्धी रणनीति तय गर्ने तयारीमा रहेको पार्टी स्रोतको भनाइ छ ।

 प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।