कांग्रेसमा बल्झियो विवाद !

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजय भोगेपछि नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद सतहमा आएको छ ।

पार्टी सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच आरोप–प्रत्यारोप सुरु भएसँगै कांग्रेसभित्र नेतृत्वको वैधता र संरचनामाथि नै प्रश्न उठ्न थालेको छ । निर्वाचनमा पराजयपछि पार्टीभित्र असन्तुष्टि चुलिँदै गएको छ । सभापति थापाको नेतृत्वमा चुनाव लडेको देउवा पक्षका नेताहरूले अहिले थापाको सभापतित्व नै अस्वीकार गर्ने अभिव्यक्ति दिन थालेका छन् ।

यसले पार्टीभित्र गुटीय ध्रुवीकरण झन् तीव्र बनेको संकेत गरेको छ । देउवानिकट नेताहरू कृष्णप्रसाद सिटौला, जीतजंग बस्नेत र मीनबहादुर विश्वकर्मा लगायतले विशेष महाधिवेशनलाई आफूहरूले स्वीकार नगरेको सार्वजनिक रूपमा बताइसकेका छन् । उनीहरूले उक्त महाधिवेशनबाट भएको नेतृत्व चयन प्रक्रियामाथि नै प्रश्न उठाउँदै आएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विश्वकर्माले आफूहरूले चुनावमा गगन थापासँग सहकार्य मात्र गरेको तर विशेष महाधिवेशनलाई मान्यता नदिएको दाबी गरे । उनले पार्टीमा अहिले “दुई सभापति” रहेको दाबी गर्दै एक जना १४ औँ महाधिवेशनबाट निर्वाचित र अर्को विशेष महाधिवेशनको नाममा घोषित भएको टिप्पणी गरे । विश्वकर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भएको प्रक्रियालाई असंवैधानिक भन्दै आलोचना गरे । “निर्वाचन नभई घोषणा गरिएको नेतृत्वलाई कसरी वैधानिक मान्ने ?” भन्ने प्रश्न उठाउँदै उनले पार्टीको वैधानिक संरचना नै विवादित बनेको आरोप लगाए । उनले सभापति थापाले “इमर्जेन्सी शैलीमा” निर्णय गरेर नेतृत्व लिएको आरोपसमेत लगाए । यस प्रकारका अभिव्यक्तिले कांग्रेसभित्र नेतृत्व संकट गहिरिँदै गएको देखिन्छ । चुनावी हारपछि आत्मसमीक्षा गर्नुको सट्टा नेतृत्व र प्रक्रियामाथि नै विवाद केन्द्रित हुँदा पार्टीको आन्तरिक एकता कमजोर हुने संकेत देखिएको छ ।

यता, पार्टीका प्रवक्ता देवराज चालिसे ले भने देउवा पक्षका नेताहरूका अभिव्यक्तिप्रति औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । उनले व्यक्तिगत रूपमा दिइएका अभिव्यक्तिलाई पार्टीको धारणा मान्न नसकिने स्पष्ट पारे । उनले भने, “सडकमा कसले के बोल्छ, त्यसको जवाफ दिँदै हिँड्ने कुरा भएन । पार्टी आफ्नै पद्धति र प्रक्रियाबाट चल्छ ।” चालिसेका अनुसार कांग्रेसको निर्णय प्रणाली संस्थागत भएकाले व्यक्तिगत टिप्पणीहरूलाई आधार मानेर प्रतिक्रिया दिनु उचित नहुने उनको तर्क छ । उनले पार्टी अहिले चुनावी समीक्षा प्रक्रियामा केन्द्रित रहेको जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा निर्वाचनको समीक्षा पछि मात्रै आगामी रणनीति तय गरिनेछ । त्यसपछि नियमित महाधिवेशनतर्फ पार्टी अघि बढ्ने तयारीमा रहेको उनले बताए । “नियमित महाधिवेशन गर्ने विषय पहिलेदेखि नै छलफलमा छ । तर कहिले गर्ने भन्ने औपचारिक निर्णय भएको छैन,” चालिसेले भने । उनले केन्द्रीय समितिको बैठकले निर्वाचन समीक्षा, संगठन पुनर्निर्माण र महाधिवेशनको मिति निर्धारण गर्ने बताए ।

कांग्रेसभित्र अहिले देखिएको विवादको केन्द्रमा नेतृत्व चयन प्रक्रिया र भविष्यको मार्गचित्र रहेको देखिन्छ । एकातर्फ विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई संस्थागत गर्ने प्रयास भइरहेको छ भने अर्कोतर्फ त्यसलाई अस्वीकार गर्ने धार पनि बलियो बन्दै गएको छ । सभापति थापाको सम्भावित राजीनामाको विषय पनि पार्टीभित्र चर्चामा रहेको छ । तर यसबारे पनि प्रवक्ता चालिसेले कुनै स्पष्ट टिप्पणी गर्न चाहेनन् । उनले यस्तो विषय केन्द्रीय समितिको बैठकमै औपचारिक रूपमा आउनुपर्ने बताए । “राजीनामा दिने हो भने पनि केन्द्रीय समितिमा नै प्रस्तुत गर्नुपर्छ । बाहिर हल्ला चल्दैमा टिप्पणी गर्न मिल्दैन,” उनले भने । उनका अनुसार औपचारिक प्रस्ताव नआएसम्म राजीनामाको चर्चा केवल अड्कलबाजी मात्र हो ।राजनीतिक विश्लेषकहरूका अनुसार चुनावी पराजयपछि कांग्रेसभित्र देखिएको विवाद केवल गुटीय द्वन्द्व मात्र नभई नेतृत्व परिवर्तन र संगठनात्मक पुनर्संरचनासँग जोडिएको छ । यदि समयमै समाधान खोज्न नसकिए पार्टी थप विभाजनतर्फ जान सक्ने चेतावनी पनि दिइएको छ ।

कांग्रेस नेपाली राजनीतिमा लामो इतिहास बोकेको प्रमुख दल भएकाले यसको आन्तरिक स्थिरता समग्र राजनीतिक स्थिरतासँग पनि जोडिएको मानिन्छ । त्यसैले पार्टीभित्रको विवाद समाधान र एकता कायम गर्नु नेतृत्वका लागि चुनौतीपूर्ण बनेको छ । समग्रमा, प्रतिनिधिसभा निर्वाचनको परिणामले कांग्रेसभित्र लुकेको गुटीय द्वन्द्वलाई सतहमा ल्याएको छ । अब पार्टीले आत्मसमीक्षा गर्दै संगठनात्मक सुधार र नेतृत्व स्पष्टता कायम गर्न सकेन भने आगामी दिनमा यसको राजनीतिक प्रभाव अझ कमजोर हुने आकलन गरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।