काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार पर्साको वीरगञ्जस्थित टिबी साह क्रिकेट मैदानमा भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै तेस्रो जित दर्ता गरेको हो।
कोशीले दिएको १६३ रनको लक्ष्य पुलिसले ३३.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। पुलिसको सुरुवात भने अत्यन्त कमजोर रह्यो—८ ओभरभित्रै ११ रन जोड्दा ४ महत्वपूर्ण विकेट गुमाएको थियो। शंकर राना, अमित श्रेष्ठ र दिलसाद अली शून्यमा आउट हुँदा दिनेश खरेलले २ रन मात्र बनाए।
तर त्यसपछि कप्तान आरिफ शेख र रशिद खानले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए। आरिफले ७९ बलमा ११ चौका र १ छक्कासहित ८१ रन बनाए भने रशिदले ९० बलमा ८ चौका र १ छक्कासहित अविजित ७३ रन जोडे। यी दुईले पाँचौँ विकेटका लागि १५४ रनको कीर्तिमानी साझेदारी गरे, जुन प्रधानमन्त्री कप इतिहासकै पाँचौँ विकेटका लागि सर्वाधिक ठूलो साझेदारी हो।
यसअघि यो कीर्तिमान त्रिभुवन आर्मी क्लबका कुशल मल्ल र विनोद भण्डारीको नाममा थियो, जसले सन् २०२४ मा मधेश प्रदेशविरुद्ध १३२ रनको साझेदारी गरेका थिए। बलिङतर्फ कोशीका विपिन महतोले २ विकेट लिए भने दीपेश कडेलले १ विकेट हात पारे। सुरुवाती दबाब बनाए पनि पछिल्ला २५ ओभरमा विकेट लिन नसक्दा कोशी खेलबाट बाहिरियो।
यसअघि टस जितेर बलिङ रोजेको पुलिसले कोशीलाई ४२.५ ओभरमा १६२ रनमै समेटेको थियो। कोशीका लागि कप्तान सुजन थपलियाले ४८ रन, सुमन श्रेष्ठले ४३ रन र अंकित सुवेदीले २६ रन बनाए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
पुलिसका दिनेश खरेलले उत्कृष्ट बलिङ गर्दै ७.५ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए। ललित राजवंशी र सागर ढकालले समान २–२ विकेट लिए। यस जितसँगै पुलिसले ५ खेलमा ३ जित, १ बराबरी र १ हारसहित ७ अंक जोडेको छ। समान ७ अंक भए पनि रनरेटमा पछि पर्दै मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब दोस्रो र तेस्रो स्थानमा छन्। कोशी प्रदेश भने ५ खेल खेलिसक्दा पनि जितविहीन रहँदै तालिकाको पुछारमा छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहेको छ। खेलहरू काठमाडौंको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा सञ्चालन भइरहेका छन्। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































