काठमाडौँ । काठमाडौँ उपत्यकाको यातायात सुधारसँग जोडिएको चक्रपथ विस्तारको दोस्रो चरण अन्ततः कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।
नेपाल र चीन सरकारबीच बुधबार औपचारिक सहायता सम्झौता सम्पन्न भएसँगै लामो समयदेखि प्रतिक्षा गरिएको कलंकी–बसुन्धारा खण्डको विस्तार कार्य अघि बढ्ने भएको हो।
सम्झौतापत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ ले हस्ताक्षर गरेका हुन्। यससँगै उपत्यकाको सबैभन्दा व्यस्त सडक खण्डमध्ये एकको स्तरोन्नति प्रक्रिया औपचारिक रूपमा सुरु हुने निश्चित भएको छ। परियोजनाअन्तर्गत करिब ८.२ किलोमिटर सडकलाई आधुनिक मापदण्डअनुसार विस्तार गरिनेछ। सडकसँगै आवश्यक स्थानमा पुल निर्माणसमेत गरिने योजना छ। चीन सरकारले यस परियोजनाका लागि करिब ११ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा आउने प्रशासनिक तथा कानुनी समस्यालाई छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। “कामका क्रममा देखिने कुनै पनि समस्या २४ घण्टाभित्र समाधान गर्ने गरी सरकार सक्रिय रहनेछ,” उनले बताए। उनले नेपालको उत्तर–दक्षिण सडक सञ्जाल विस्तार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी दिनमा पूर्वाधार विकासका अन्य क्षेत्रमा समेत चीनसँग सहकार्य विस्तार गर्ने संकेत गरे।
यसअघि पहिलो चरणअन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको चक्रपथ विस्तार सन् २०१९ मा सम्पन्न भइसकेको थियो। दोस्रो चरणको यो परियोजनाले त्यसलाई निरन्तरता दिँदै उपत्यकाको यातायात व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। चिनियाँ राजदूत झाङ माओमिङले नेपालको पूर्वाधार विकासमा चीनको निरन्तर साथ रहने विश्वास व्यक्त गरे। उनले लगानीका लागि अनुकूल वातावरण सुनिश्चित भएमा चिनियाँ लगानीकर्ताहरू नेपालका पूर्वाधार र उत्पादनशील क्षेत्रमा थप सक्रिय हुने बताएका छन्।
हस्ताक्षर कार्यक्रममा चिनियाँ राजदूत झाङ माओमिङले नेपालको विकास निर्माणमा चीन सधैं साथमा रहने विश्वास दिलाएका छन्। उनले नेपालमा लगानीका लागि उपयुक्त र सुरक्षित वातावरण सुनिश्चित भएमा चिनियाँ लगानीकर्ताहरू पूर्वाधार र अन्य उत्पादनशील क्षेत्रमा ठूलो लगानी भित्र्याउन इच्छुक रहेको जानकारी दिए। सम्झौताअनुसार अब कलङ्कीदेखि वसुन्धरासम्म चक्रपथ विस्तार गरिने छ । पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्म विस्तार भएको हो ।
त्यसअवसरमा मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा कुनै किसिमका समस्या हुन नदिने बताउँदै त्यसो भएमा तिनको समाधानका निम्ति तत्काल सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै मुलुकको पूर्वाधार विकासमा चीन सरकारबाट अझ लगानी अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
यो परियोजनाले काठमाडौँको ट्राफिक जाम कम गर्न र सहरी आवागमनलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास दुवै पक्षले लिएका छन्। चिनियाँ अनुदानमा बन्ने यो सडक खण्डले नेपाल र चीनबीचको बढ्दो कूटनीतिक र आर्थिक सम्बन्धलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। नेपाल–चीन सहकार्यमा अघि बढ्न लागेको यो परियोजना केवल सडक विस्तारमा सीमित नभई दुवै देशबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा समेत हेरिएको छ।



































