काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गरेको छ ।
आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको गुण्डुमा बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । उक्त कार्यदललाई १ महिनाको समय दिइएको एक पदाधिकारीले बताए । आइतबार साँझ सकिएको बैठकले पार्टी पुनर्गठनबारे सुझाव संकलन गर्ने निर्णय गरेको हो ।
भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनपछि नेकपा एमालेको नेतृत्वमा परिवर्तन र पार्टी पुनर्गठनबारे चर्को बहस सिर्जना हुँदै आएको छ । गुण्डुमा बसेको बैठकमा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग उठेको थियो ।
सचिवालय बैठकमा पार्टीका सचिव शेरधन राईले पार्टी पराजयको गम्भीर समीक्षा गर्नुपर्ने निष्कर्ष सहित तीन प्रस्ताव राखेका थिए ।सचिवालय बैठकमा राईले निर्वाचनको समीक्षा गर्दै पार्टी पुनगर्ठनको प्रस्ताव राखेका हुन् । ‘कर्मीहरूलाई गहिरो रुपमा महसुस गर्दै आगामी दिनमा सच्चिने प्रण गर्नुपर्छ,’ राईले बैठकमा भने, ‘निर्वाचनको समीक्षा निर्मम ढंगले गर्दै पराजका आन्तरिक र बाह्य कारणहरू किटान गर्नुपर्छ ।’
पुनगर्ठनको प्रक्रियाबारे राईले दोस्रो प्रस्ताव राखेको बैठक स्रोतले बतायो । ‘पार्टी पुनर्गठन प्रक्रिया कार्यदल गठन मार्फत अगाडि बढाउनुपर्छ,’ राईले भने, ‘कार्यदलले दिने सुझाव प्रतिवेदनका आधारमा सचिवालयले निर्णय लिनुपर्छ ।’ राईको तेस्रो प्रस्ताव भने राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाबारे छ । ‘चुनौतीहरुलाई सामना गर्न सक्ने र आगामी कार्यभारहरुलाई पुरा गर्नेगरी कसरी पार्टीलाई प्रस्तुत गर्न सकिन्छ, त्यसबारे सोच्नुपर्छ,’ राईले भनेका छन् ।
सोही सचिवालय बैठकले नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईको वरीयता सच्याएको छ ।
प्रस्तावित वरीयतामा भट्टराई तेस्रो नम्बरको उपमहासचिव थिए । तर सचिवालय बैठकले भट्टराईलाई दोस्रो नम्बरमा राख्ने निर्णय गरेको हो । सचिवालय बैठकले नै नेकपा एमालेका नेताहरूको कार्य विभाजन प्रस्ताव संशोधन गरेर पारित गर्ने निर्णयसमेत गरेको छ।
आवश्यक छलफल गरेर कार्यविभाजन टुंग्याउने जिम्मा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । ‘प्रस्तावित जिम्मेवारीप्रति असन्तुष्टि देखिएको छ । मिलाउनुपर्ने कुराहरू छन्,’ एक पदाधिकारीले भने, ‘महासचिवले थप गृहकार्य गर्ने र सुझावहरू सुनेर कार्यविभाजन प्रस्ताव टुंग्याउने भन्ने भएको छ ।’
एमाले नेताहरूको कार्यविभाजन प्रस्तुत यसअघि सार्वजनिक भइसकेको छ । उपमहासचिव लेखराज भट्टले केन्द्रीय सदस्यहरूलाई आगामी चुनावमा केन्द्रीत गर्नेगरी कार्यविभाजन गरिएको बताएका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































