कांग्रेसले १०० स्थानीय तहको प्रमुखमा महिलालाई उमेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने महत्वाकांक्षी योजना अघि सारेको छ । पार्टीले देशभरका ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० स्थानीय तहको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउने लक्ष्य सार्वजनिक गरेको हो ।

शनिबार ललितपुरको सानेपामा आयोजित नेपाल थारु संघको अधिवेशनमा बोल्दै कांग्रेसका सभापति गगन थापाले उक्त घोषणा गरेका हुन् । उनले पार्टीभित्र महिलाको सहभागिता अझ प्रभावकारी बनाउन अब नीतिगत तथा संरचनात्मक पहल आवश्यक रहेको औंल्याए । थापाले अबको निर्वाचनमा महिलालाई नेतृत्व तहमा स्थापित गर्न ठोस तयारी थाल्नुपर्नेमा जोड दिए । उनले भने, “अर्को वर्ष स्थानीय तहको निर्वाचन हुँदैछ, त्यसपछि प्रदेशको चुनाव पनि आउँछ । यो पटक कम्तीमा पनि ७५३ स्थानीय तहमध्ये १०० पालिकामा कांग्रेसको तर्फबाट मेयर वा अध्यक्ष पदमा महिला उम्मेदवार उठाउने गरी अहिलेदेखि नै काम गर्नुपर्छ । त्यसका लागि सबै मिलेर प्रयास गर्नुपर्छ ।”

थापाको भनाइ अनुसार, महिलालाई उम्मेदवार बनाउने निर्णय केवल घोषणा मात्र नभई त्यसलाई कार्यान्वयनमा लैजान पार्टीले आवश्यक तयारी अघि बढाइसकेको छ । उनले उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन पार्टीभित्र ‘निर्वाचन ब्युरो’ गठन गरिएको जानकारी दिए । उक्त ब्युरोले योग्य, सक्षम र प्रतिस्पर्धी उम्मेदवार छनोट गर्ने काम गर्नेछ । यससँगै पार्टीले दीर्घकालीन रूपमा सक्षम नेतृत्व उत्पादन गर्ने उद्देश्यसहित ‘लीडरशिप एकेडेमी’ स्थापना गरेको पनि उनले बताए ।

यस एकेडेमीमार्फत नयाँ पुस्ताका नेता–नेतृलाई प्रशिक्षण, क्षमता विकास र नेतृत्व अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ । थापाका अनुसार छिट्टै यसका लागि खुला आह्वान गरिनेछ, जसमा इच्छुक व्यक्तिहरू सहभागी हुन सक्नेछन् । कांग्रेसको यो पहललाई महिला सशक्तीकरणतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । हालसम्म स्थानीय तहमा महिलाको उपस्थिति भए पनि प्रमुख पदमा उनीहरूको संख्या न्यून रहेको छ । यस्तो अवस्थामा प्रमुख पदमै महिलालाई अघि सार्ने निर्णयले राजनीतिक क्षेत्रमा लैंगिक समानता प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यदि यो योजना प्रभावकारी रूपमा कार्यान्वयन भयो भने यसले अन्य राजनीतिक दलहरूलाई पनि समान नीति अपनाउन दबाब सिर्जना गर्न सक्छ । साथै, महिलाहरूको नेतृत्व विकास, निर्णय प्रक्रियामा सहभागिता र स्थानीय शासनमा उनीहरूको प्रभाव बढाउन यसले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको छ ।

कांग्रेस नेतृत्वले अब घोषणालाई व्यवहारमा उतार्न संगठनात्मक एकता, स्पष्ट मापदण्ड र प्रभावकारी तयारी अपरिहार्य हुने जनाएको छ । समयमै तयारी पूरा गर्न सकेमा आगामी निर्वाचनमा महिला नेतृत्वको उपस्थिति उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।