दैलेखमा पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको सम्भावित उत्पादनतर्फ महत्वपूर्ण कदम अघि बढाइएको छ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौतासम्बन्धी गृहकार्य सुरु गरेको जनाएको छ ।

विभागले व्यावसायिक उत्पादनतर्फ अघि बढ्ने उद्देश्यसहित चीनको सरकारी निकायसँग थप सहकार्य गर्ने तयारी थालेको हो । विभागका अनुसार पहिलो चरणको अन्वेषण कार्य सम्पन्न भइसकेपछि अब व्यावसायिक उत्खननतर्फ जाने गरी नयाँ सम्झौताका लागि आन्तरिक तयारी भइरहेको छ । यसका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सहकार्य विस्तार गर्ने विषयमा छलफल अघि बढाइएको छ । यसअघि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालन गरिएको पेट्रोलियम अन्वेषण परियोजनाले प्रारम्भिक चरणका महत्वपूर्ण कामहरू सम्पन्न गरिसकेको छ ।

अन्वेषण कार्य दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा केन्द्रित रहेको छ । सो क्षेत्रमा गरिएको ‘ड्रिलिङ’ तथा अन्य प्राविधिक अध्ययनहरूले पेट्रोलियम पदार्थको सम्भावना देखाएको परियोजनाले जनाएको छ । पहिलो चरणअन्तर्गत गरिएको ड्रिलिङ कार्यले भू–गर्भमा पेट्रोलियम स्रोतको संकेत दिएको र थप अध्ययनका लागि आधार तयार पारेको बताइएको छ । परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार हालसम्म सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे तथा जियो–केमिकल स्याम्पलिङ जस्ता महत्वपूर्ण प्राविधिक अध्ययनहरू सम्पन्न भइसकेका छन् ।

यी अध्ययनहरूले भू–गर्भभित्र रहेका सम्भावित पेट्रोलियम भण्डारको प्रारम्भिक खाका तयार पार्न सहयोग गरेका छन् । विशेषगरी नमूना परीक्षणबाट पेट्रोल र प्राकृतिक ग्यास दुवैको सम्भावना देखिएको जनाइएको छ । विभागले अब व्यावसायिक उत्पादन सुरु गर्न आवश्यक प्राविधिक, आर्थिक तथा नीतिगत तयारीलाई तीव्रता दिएको छ । यसका लागि सरकारसँग आवश्यक समन्वयसमेत भइरहेको जनाइएको छ । दोस्रो चरणको सम्झौतामार्फत प्राविधिक सहयोग, लगानी तथा आवश्यक उपकरण व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।

यदि परियोजना सफलतापूर्वक कार्यान्वयन हुन सकेमा नेपालले पेट्रोलियम पदार्थको आयातमा खर्च हुने ठूलो रकम बचत गर्न सक्ने अपेक्षा गरिएको छ । हाल नेपालले आफ्नो सम्पूर्ण पेट्रोलियम आवश्यकताका लागि विदेशमा निर्भर रहनुपरेको अवस्था छ, जसले व्यापार घाटा बढाउने प्रमुख कारणमध्ये एक बनेको छ ।लस्वदेशमै पेट्रोलियम उत्पादन सुरु हुन सकेमा आयात प्रतिस्थापनमा ठोस योगदान पुग्नेछ ।

यसले देशको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पार्नुका साथै आर्थिक आत्मनिर्भरता बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । साथै, ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्ने दिशामा समेत नेपाललाई महत्वपूर्ण आधार मिल्ने विश्वास गरिएको छ । सरकार र सम्बन्धित निकायहरूले आवश्यक तयारी समयमै पूरा गर्न सकेमा निकट भविष्यमा नेपालले आफ्नै भूमिबाट पेट्रोलियम उत्पादन गर्ने सम्भावना अझ प्रष्ट हुँदै जाने देखिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।