सुकुमवासीसँग गृहमन्त्रीले मागे माफी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित विस्थापित सुकुमवासीका लागि निर्माण गरिएका दुई वटा होल्डिङ सेन्टरको स्थलगत अवलोकन गरेका छन् ।

बिहीबार साँझ उक्त स्थानमा पुगेका गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुमवासी परिवारसँग प्रत्यक्ष संवाद गर्नुका साथै उनीहरूसँग माफीसमेत मागेका छन् । अवलोकनका क्रममा गृहमन्त्री गुरुङले आफू मन्त्रालयको जिम्मेवारीमा नरहेका बेला सुकुमवासी बस्तीबाट हटाउने निर्णय गरिएको भए पनि वर्तमान सरकार उक्त समस्याको दिगो समाधानका लागि गम्भीर रहेको बताएका छन् । उनका अनुसार सुकुमवासीको व्यवस्थापन सरकारको प्राथमिकतामा परेको विषय हो र यसलाई छिटोभन्दा छिटो समाधान गर्ने प्रयास भइरहेको छ ।

‘सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ । अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ,’ गृहमन्त्री गुरुङले सुकुमवासीसँग संवाद गर्दै भने । उनले समस्या समाधानमा ढिलाइ भए पनि त्यसप्रति सरकार संवेदनशील रहेको स्पष्ट पारे । सो अवसरमा सुकुमवासी परिवारले आफ्ना विभिन्न पीडा र गुनासाहरू गृहमन्त्रीसमक्ष राखेका थिए । उनीहरूले विशेषगरी बालबालिकाको शिक्षामा परेको असरबारे गुनासो गर्दै विद्यालय जाने वातावरण नहुँदा पढाइमा बाधा पुगेको बताएका थिए । त्यस्तै, स्वास्थ्य सेवामा पहुँच अभावका कारण बिरामी पर्दा उपचारमा समस्या भइरहेको उनीहरूको भनाइ थियो।

दैनिक जीवनयापनका आधारभूत आवश्यकताहरू पूरा गर्न समेत कठिनाइ भएको उनीहरूले गृहमन्त्रीलाई अवगत गराएका थिए । गृहमन्त्री गुरुङले सुकुमवासीहरूको गुनासा ध्यानपूर्वक सुनेपछि सम्बन्धित निकायलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । उनले होल्डिङ सेन्टरमा सुरक्षा व्यवस्था थप सुदृढ गर्न प्रहरी टोली खटाउन निर्देशन दिएका छन् ।

साथै, स्वास्थ्य तथा आकस्मिक सेवामा कुनै कमी हुन नदिन नियमित अनुगमन र अपडेट राख्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइएको उनको सचिवालयले जनाएको छ । उनले सुकुमवासीहरूको समस्या समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालय र निकायबीच समन्वय गरेर अघि बढ्ने बताएका छन् । ‘यो केवल अस्थायी व्यवस्थापन मात्र होइन, दिगो समाधानको दिशामा सरकार अघि बढिरहेको छ,’ उनले भने ।

गृहमन्त्रीको यस अवलोकनलाई सुकुमवासीहरूले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन् । यद्यपि, उनीहरूले आश्वासन मात्रै नभई व्यवहारिक रूपमा समस्या समाधान भएको देख्न चाहेको बताएका छन् । उनीहरूको अपेक्षा छ कि सरकारले छिट्टै नै उचित बसोबास, शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्नेछ । हाल बालाजु नयाँ बसपार्क क्षेत्रमा राखिएका सुकुमवासीहरू अस्थायी होल्डिङ सेन्टरमा बस्दै आएका छन् । उनीहरूको व्यवस्थापन र पुनःस्थापनाको विषय लामो समयदेखि चुनौतीको रूपमा रहँदै आएको छ । सरकारले यसलाई समाधान गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन पक्ष भने अझै प्रभावकारी हुन बाँकी रहेको सरोकारवालाहरूको भनाइ छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।