काठमाडौं । नेपालमा डिजिटल संवादको प्रभावकारी माध्यमका रूपमा स्थापित ‘देश प्रदेश पोडकास्ट’ले आफ्नो दोस्रो सिजनको औपचारिक घोषणा गर्दै राष्ट्रियस्तरको बहुआयामिक मिडिया प्लेटफर्मका रूपमा विस्तार हुने योजना सार्वजनिक गरेको छ ।

पहिलो सिजनका १२ सफल र प्रभावशाली एपिसोड सम्पन्न गरेपछि पोडकास्टले अब आफ्नो यात्रा केवल डिजिटल श्रव्य–दृश्य सामग्रीमा सीमित नराखी टेलिभिजन, पत्रपत्रिका, म्यागजिन तथा विभिन्न डिजिटल माध्यमसम्म विस्तार गर्ने रणनीति अघि सारेको हो ।
वरिष्ठ सञ्चारकर्मी सरीता श्री ज्ञवालीद्वारा सञ्चालित देश प्रदेश पोडकास्टले स्थापना कालदेखि नै नेपाल र नेपाली समाजसँग सम्बन्धित विविध विषयलाई केन्द्रमा राख्दै सार्थक संवादको वातावरण निर्माण गर्ने प्रयास गर्दै आएको छ। समाज, राजनीति, अर्थतन्त्र, उद्यमशीलता, शिक्षा, सञ्चार, नेतृत्व, विकास, नवप्रवर्तन तथा समसामयिक विषयमा केन्द्रित संवादमार्फत कार्यक्रमले छोटो समयमै दर्शक तथा श्रोतामाझ विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ ।
पहिलो सिजनमा देशका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सफल उद्यमी, नीति निर्माता, सञ्चारकर्मी, सामाजिक अभियन्ता, शिक्षाविद् तथा युवा नेतृत्वहरूसँग गरिएका अर्थपूर्ण संवादले कार्यक्रमलाई विश्वसनीय र प्रभावशाली मञ्चका रूपमा स्थापित गरेको आयोजकको दाबी छ। कार्यक्रममार्फत उठाइएका विषयले केवल सूचना प्रवाह गर्ने काम मात्र नगरी समाजमा सकारात्मक बहस र विचार आदानप्रदानको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान दिएको बताइएको छ।
विस्तारसँगै नयाँ सम्भावना
दोस्रो सिजनसँगै देश प्रदेश पोडकास्टले आफ्नो पहुँच र प्रभावलाई थप फराकिलो बनाउने लक्ष्य राखेको छ। यसअन्तर्गत अब कार्यक्रमका सामग्री राष्ट्रिय टेलिभिजन नेटवर्कमार्फत प्रसारण गरिनेछ भने राष्ट्रिय दैनिक पत्रपत्रिका तथा व्यवसायिक एवं आर्थिक म्यागजिनमार्फत पनि सामग्री प्रकाशन गरिनेछ। साथै सामाजिक सञ्जाल, भिडियो प्लेटफर्म र अन्य डिजिटल माध्यमहरूबाट पनि सामग्रीलाई थप व्यापक दर्शकसम्म पुर्याइने योजना रहेको छ।

आयोजकका अनुसार यो विस्तारले कार्यक्रमलाई केवल पोडकास्टको परम्परागत ढाँचाभन्दा माथि उठाउँदै राष्ट्रिय स्तरको सञ्चार तथा विचार मञ्चका रूपमा स्थापित गर्नेछ। यसबाट विभिन्न क्षेत्रका अनुभव, विचार, चुनौती, अवसर र सफलताका कथाहरू अझ ठूलो दर्शक समुदायसम्म पुग्ने अपेक्षा गरिएको छ।
यस सिजनमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रविधि, आर्थिक विकास, महिला नेतृत्व, युवा उद्यमशीलता तथा सामाजिक रूपान्तरणजस्ता विषयमा विशेष शृंखला सञ्चालन गरिने तयारी छ। यसले कार्यक्रमलाई अझ विविध, सन्तुलित र प्रभावकारी बनाउने विश्वास गरिएको छ।
साझेदारी र सहकार्यमा जोड
दोस्रो सिजनको औपचारिक शुभारम्भका अवसरमा आयोजना गरिएको “देश प्रदेश पोडकास्ट सिजन–२ शुभारम्भ तथा मिडिया पार्टनरशिप साँझ” कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी, उद्यमी, साझेदार संस्था, प्रायोजक तथा सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ। कार्यक्रममा पहिलो सिजनको यात्राको समीक्षा, प्रमुख उपलब्धिहरूको प्रस्तुति, प्रायोजक तथा सहयात्रीहरूको सम्मान, नयाँ रणनीतिक साझेदारी घोषणा, सम्झौता हस्ताक्षर समारोह तथा दोस्रो सिजनका विशेष योजनाहरू सार्वजनिक गरिनेछ। यस अवसरलाई देश प्रदेश पोडकास्टको आगामी यात्राको महत्वपूर्ण कोसेढुंगा मानिएको छ।
आयोजकको प्रतिबद्धता
आयोजकका अनुसार देश प्रदेश पोडकास्ट केवल एउटा कार्यक्रम नभई विचार, अनुभव र सम्भावनाहरूलाई जोड्ने साझा मञ्च हो। पहिलो सिजनमा प्राप्त साथ, विश्वास र उत्साहले अझ व्यापक सोचका साथ अगाडि बढ्न प्रेरित गरेको उल्लेख गर्दै दोस्रो सिजनमार्फत राष्ट्र, समाज र भविष्यसँग सम्बन्धित विषयहरूलाई थप गहिराइ र प्रभावका साथ प्रस्तुत गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
“हामी केवल सामग्री उत्पादन गर्ने होइन, समाजमा सकारात्मक संवादको संस्कृति विकास गर्ने अभियानमा छौं। विविध क्षेत्रका अनुभव र दृष्टिकोणलाई एउटै मञ्चमा ल्याएर राष्ट्रिय बहसलाई थप समृद्ध बनाउने हाम्रो प्रयास निरन्तर रहनेछ,” आयोजकको भनाइ छ।

देश प्रदेश पोडकास्टबारे
देश प्रदेश पोडकास्ट नेपाल केन्द्रित संवादमूलक मिडिया प्लेटफर्म हो। यसले नेतृत्व, उद्यमशीलता, समाज, अर्थतन्त्र, विकास, नीति निर्माण, सञ्चार तथा समसामयिक विषयमा अर्थपूर्ण संवादमार्फत जनचेतना अभिवृद्धि, विचार आदानप्रदान र सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्य राख्दै आएको छ। पहिलो सिजनबाट प्राप्त सफलतालाई आधार बनाउँदै दोस्रो सिजनमा कार्यक्रमले अझ व्यापक पहुँच, प्रभाव र सहभागितासहित आफ्नो यात्रा अगाडि बढाउने लक्ष्य लिएको छ।































